बिहेको दुई महिनामै श्रीमतीको हत्या

सुर्खेत, ३२ साउन ।
पहिलो भेटमै एकले अर्कोलाई मन पराए । विस्तारै सम्बन्ध पनि गाढा हुँदै गयो । उनीहरू आपसमा छुट्टिएर बाँच्नै नसक्ने भए । सात जुनीसम्म सँगै जिउने–मर्ने कसम खाँदै उनीहरूले दुई महिना अघि मात्र विवाह गरे । तर सात जुनी त के, बिहे भएको सात महिना पनि पुग्न नपाउँदै यो जोडी टुक्रिन पुग्यो ।


वीरेन्द्रनगर–१२ चनौटेका १९ वर्षीय चक्रबहादुर परियारले बराहताल गाउँपालिका पाग्मकी १८ वर्षीया पवित्रा परियारसँग गरेको वाचा पूरा गर्न सकेनन् । बिहेपछिको प्रेम झाँगिन नपाउँदै उनीहरूबीच खटपट सुरु भयो । गत असारमा आफैले रोजेर बिहे गरेका चक्रले बुधवार बिहान पवित्राको निर्मम तरिकाले हत्या गरे । विवाह भएको दुई महिना बित्न नपाउँदै चक्रले सामान्य विवादमा नै श्रीमती पवित्रालाई बञ्चरो प्रहार गरेर हत्या गरेका हुन् ।
पवित्रामाथि बञ्चरो प्रहार गरेपछि चक्रले आफूले श्रीमतीको हत्या गरेको भन्दै गाउँमा हिँडेका थिए । छिमेकीहरू बुधवार बिहान ११ बजे घरमा पुग्दा पवित्रा छट्पटाइरहेकी थिइन् । उपचारका लागि स्थानीय देउती अस्पतालमा पु¥याएपछि उनको मृत्यु भएको थियो । घटनापछि प्रहरीले चक्रलाई पक्राउ गरेको छ । थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पवित्राको टाउकोमा बञ्चरोले प्रहार गरिएको थियो । बिहे भएको दुई महिना बित्न नपाउँदै उनीहरूबीच खटपट सुरु भएको थियो । स्थानीयका अनुसार उनीहरूबीच विवाद भएपछि प्रहरीमासमेत पुगेका थिए ।
सम्बन्धमा चिसोपना आएपछि दुवै जना जिल्ला प्रहरी कार्यालयको शरणमा पुगे । एक सातादेखि उनीहरू प्रहरीकोमा पुगेर समस्या समाधानको उपाय पनि खोजिरहेका थिए । मंगलवार मात्र प्रहरीले उनीहरूको मिलापत्र गराएको थियो । फेरि झगडा नगर्ने र मिलेर बस्ने शर्तमा उनीहरू मंगलवार घरमा फिर्ता भएका थिए । तर प्रहरीको अगाडि भएको मिलापत्र बुधवार बिहानसम्म पनि टिक्न सकेन । विवादले उग्ररूप लिएपछि चक्रले पवित्राको हत्या नै गरे । सुर्खेतका प्रहरी प्रमुख एसपी मोहन आचार्यले भने, ‘एक सातादेखि प्रहरी कार्यालयमै धाइरहेका थिए, हामीले मिलापत्र गराएर पठाएका थियौं । तर घरमा पुगेर श्रीमतीको हत्या नै गरेछ, हामीले चक्रलाई समातेका छौं ।’
सामान्य विवादमा नै बञ्चरो प्रहार गरेर हत्या भएको भन्दै प्रहरीले पवित्राको उपचारको क्रममा ज्यान गएको जनाएको छ । छिमेकीका अनुसार बिहेपछि उनीहरूबीचको सम्बन्ध विस्तारै चिसिएको थियो । घरमा विवाद हुने भएका कारण पवित्राले दुई पटकसम्म घर छोडेकी थिइन् । तर चक्र आफैले फकाउँदै पवित्रालाई घरमा ल्याउने गरेका थिए । पवित्राको शवलाई पोस्टमार्टमका लागि मध्यपश्चिम क्षेत्रीय अस्पतालमा राखिएको आफन्तले बताएका छन् ।

प्रकाशित मितिः   १ भाद्र २०७४, बिहीबार १४:१९