‘अब खेतीयोग्य जमिनको दोहन रोकिनेछ’

स्थानीय तहको निर्वाचन सम्पन्न भएको तीन महिना पुगेको छ । यो अवधिमा स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रम पारित गरिसकेका छन् । यस्तै बजेटसमेत विनियोजन भइसकेको अवस्था छ । करिब २० वर्षपछि निर्वाचित जनप्रतिनिधिहरू यतिबेला विकास योजना निर्माण र त्यसको कार्यान्वयनका लागि कसरत गरिरहेका छन् । सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगरका सबै वडाहरू यतिबेला नयाँ बजेट कार्यान्वयन गर्ने चरणमा छन् । आफ्नो वडाको समग्र विकासका लागि वडाका जनप्रतिनिधिहरूले के–कस्ता काम गरिरहेका छन् ? यसवर्ष कस्ता योजना छनौट गरियो र आगामी योजना के छन् ? यसै विषयमा सहकर्मी गीता थापाले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१० का अध्यक्ष रत्नबहादुर बुढासँग कुराकानी गरेकी छिन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

हिजो आज के काममा व्यस्त हुनहुन्छ ?
हिजो आज सेवा ग्राहीहरूकै सेवामा व्यस्त छु । बिहानदेखि साँझ वडा कार्यालयमा आउने सेवाग्राहीहरूकै सेवामा समय बित्ने गरेको छ ।
वडा अध्यक्षमा निवार्चित भएपछि आजसम्म के–के काम गर्नुभयो ?
म वडा अध्यक्षमा निवार्चित भएपछिको पहिलो काम भनेको ईत्रामखोला वारिपारि तारजाली लगाउने काम सम्पन्न गरेको छु । मैले चुनावअघि पनि जनतासँग गरेको प्रतिबद्धता यही नै थियो । वडा अध्यक्षमा निवार्चित भएपछि पनि मैले पहिलो काम खोलामा दुई सय थान तारजाली लगाउने काम सम्पन्न गरिसकेको छु । अर्काे काम भनेको वडामा प्लाटिक निषेधित क्षेत्र घोषणाका लागि प्रक्रियाहरू पनि भइरहेको छ । मेरो वडामा ३२ वटा टोल विकास समिति रहेका छन् । ती सबै टोल विकास समितिलाई वडाको फोहोर व्यवस्थापनका लागि छलफल र गोष्ठी पनि सम्पन्न गरेका छौं ।
वडालाई आर्थिक रूपमा सक्षम बनाउनका लागि टोल विकास समितिहरूमा बचत गर्नेगरेका छन् । टोल विकास समितिबाट नै टोलहरूको योजना बनाउन लगाइ बजेट छुट्याएका छौं । अहिले वडा कार्यालयले दिने नागरिकताको सिफारिस, नाता प्रमाणित लगायतका सिफारिस दिने काम भइरहेको छ । अहिले निर्वाचनका लागि मतदाता नामावली संकलनका लागि हाम्रो वडामा छुटेकाहरूको नामावली संकलन कार्य भइरहेको छ ।
यहाँको वडामा प्रमुख समस्या के–के छन् ?
हाम्रो वडामा वर्सपाकको ढल निकास हुने ठाउँ नहुनु, अटो ग्यारेज र अन्य वडाहरूको फोहोर हाम्रो वडामा आउने भएकाले मुख्य समस्या रहेको छ । ढल निकास नहुनुले पनि वडाबासीहरूलाई समस्या भइरहेको छ । अर्को समस्या भनेको जग्गा प्लटिङले गर्दा वस्ती अव्यवस्थित बन्दै गएको छ ।
ती समस्यालाई कसरी समाधान गर्नुहुन्छ ?
यी समस्या भनेको वडा कार्यालय र वडा अध्यक्षले मात्र गर्नसक्ने समस्या होइनन् । वीरेन्द्रनगर नगरपालिकाले पहिला ढल निकास कहाँ गर्ने ? फोहोर व्यवस्थापन कसरी गर्ने ? बसपार्क कहाँ राख्ने भन्ने ठाउँ खोज्न जरुरी छ । वडा कार्यालयले गर्नसक्ने समस्याको समाधान त गरेकै छ । वडा बासीहरूसँग छलफल र समन्यव गरिरहेको छ ।
तपाईंको वडामा नगरपरिषद्बाट कति बजेट विनियोजन भएको छ ?
हाम्रो वडाको लागि नगरपरिषद्बाट ८० लाख रकम विनियोजित भएको छ । वडाको छुट्टै योजनाको लागि भनेर ५० लाख विनियोजित भएको छ । यो ५० लाख हामीले भेरीबाट बामेखोला जोड्ने सडकमा खर्च गर्ने योजना बनाएका छौं । यो ५० लाखले भेरीदेखि बामेखोलासम्म गाडी आवात–जावत गर्नसक्ने सडक बन्छ । ८० लाख हामीले शिक्षा, स्वास्थ्य, खानेपानी, लक्षित वर्गदेखि वातावरणका लागि समेत बजेट छुट्याएका छौं ।
यहाँको वडाको विकासका लागि मुख्य योजनाहरू के–के रहेका छन् ?
हाम्रो वडाको मुख्य योजनाहरू भनेको शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण, सडक रहेका छन् । त्यस्तै हामीले दैविक प्रकोपका लागि पनि बजेट छुट्याएका छौं । लक्षित वर्गको बजेट पहिला गोष्ठी र चियापानीमा नै सकिन्थ्यो अब लक्षित वर्गको बजेट व्यवसायमुखी हुनेछ । अव्यवस्थित वस्ती व्यवस्थापन र जथाभावी हुने गरेको जग्गा प्लटिङ्ग नियन्त्रण गर्ने योजना छ ।
अबको पाँच वर्षभित्र कस्तो वडा बनाउने परिकल्पना गर्नुभएको छ ?
अबको पाँच वर्षभित्रमा यो वडालाई सुन्दर, स्वच्छ र हरियाली वडा बनाउने परिकल्पना गरेको छु । वडालाई म एक्लैले मात्र सुन्दर, स्वच्छ र हरियाली बनाउन सक्दैन । वडाबासीहरूको छलफल र सहकार्यमा काम गर्नेछु । यो वडामा धार्मिक स्थल देउती बज्यै मन्दिर, बुलबुले र काँक्रेविहार भएकाले यसमा आन्तरिक तथा बाह्य पर्यटकहरू भिœयाउनको लागि हाम्रो प्रयास रहनेछ ।
अबको तीन महिनाभित्रमा यो वडाबासीले नयाँ के अनुभूति गर्न पाउँछन् ?
अबको तीन महिनाभित्रमा वडाबासीहरूले वडामा फोहोर देख्न पाउने छैनन् । पहिलो काम भनेको फोहोर व्यवस्थापन हो । अर्काे वडा नम्बर १० मा स्वास्थ्यचौकी नभएकाले एउटा स्वास्थ्यचौकी स्थापनको लागि भवन निमार्ण गर्नेछु ।
खेतीयोग्य जमिन प्लटिङ हुँदैछ यसलाई रोक्न के गर्नुहुन्छ ?
खेती योग्य जग्गा प्लटिङ गर्न नपाउने भनी राज्यले नै नीति बनाएको छ । हामी त्यही नीति अनुसार अब खेतीगोग्य जमिनलाई प्लटिङ गर्न रोक लगाउने छौं । ६ मिटर बाटो र नालासहित ८ मिटर बाटो छोडेर पास गर्न आएको जग्गालाई हामीले जग्गा बिक्री गर्ने र किन्ने दुवै व्यक्तिलाई राखेर सोधपुझ गरेर मात्र जग्गा पासको सिफारिस दिने गरेका छौं । यसले पनि केही हदसम्म जग्गा प्लटिङ गर्ने काम कम गर्नेछ ।
अन्त्यमा केही भन्न चाहानुहुन्छ ?
अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर जिताउने सम्पूर्ण वडाबासीहरूलाई धन्यवाद दिन चाहान्छु । जुन विश्वास वडाबासीहरूले मलाई गर्नुभएको छ म त्यो विश्वासलाई घुम्न दिनेछैन । जनताको सेवक बन्नेछु ।

प्रकाशित मितिः   १ भाद्र २०७४, बिहीबार १२:२८