बाजे र नातीको एउटै चिता
सुर्खेत, ३१ साउन ।
उनीहरू एउटै थालमा भात खान्थे । फुर्सदमा तीनै जना बाजे नाती मिलेर आपसमा रमाइलो पनि गर्थे । बाजे नाती प्रायः घरमा एउटै ओछ्यानमा सुत्थे । बाजे नाती भए पनि उनीहरू दौतरी जस्तै थिए । बाँचुञ्जेल तीनै जनासँगै रमाए । एउटै ओछ्यानमा नै सुते । अन्ततः मृत्युपछि पनि उनीहरूको एउटै चिता बन्यो ।
मध्यरातमा पहिरोले घर बगाएपछि ज्यान गुमाएका सुर्खेत गुर्भाकोट नगरपालिकाका तीन बाजे नातीको एउटै चितामा दाहसंस्कार गरिएको छ । स्थानीय सिन्दुरेखोला गाउँमा पहिरोमा पुरिएर ज्यान गुमाएका ८३ वर्षीय गुमानसिं बुढा र उनका नातीहरू १४ वर्षीय विक्रम र १२ वर्षका शरण बुढाको एउटै चितामा दाहसंस्कार गरिएको हो । स्थानीय खैरेनीघाटमा आफन्तले एउटै चिता बनाएर उनीहरूको सामूहिक रूपमा दाहसंस्कार गरेका हुन् ।
लगातारको वर्षापछि आएको पहिरोले घर बगाउँदा शनिवार राती उनीहरूको मृत्यु भएको थियो । घरमा रहेका तीन जनाको मृत्यु भएपछि आफन्तले सोमवार दाहसंस्कार गरिदिएका हुन् । मृतक बच्चाका बाबु ओपीलाल बुढा मजदुरीका लागि भारतमा छन् भने ५५ वर्षीया आमा द्रुपदा बुढा गम्भीर घाइते भएकी छन् । मृतक गुमानसिंका माइला र कान्छा छोराहरू कर्णबहादुर बुढा र धनबहादुर बुढाले दागबत्ती दिएका हुन् । तीन जना बाजे नातीको एउटै चितामा दाहसंस्कार भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ । बाँचुञ्जेलसँगै रमाएका बाजे नातीको सँगै दाहसंस्कार भएको घटनाले गाउँलेहरू नै भक्कानिएका थिए ।
पहिरोले घर बगाउन थालेपछि विक्रम र शरण आमासँगै घरबाहिर भागेका थिए । तर ८३ वर्षका बाजे गुमानसिं घरभित्रै थिए । त्यहाँबाट भागेको भए सायद विक्रम र शरण बाँच्ने थिए । तर उनीहरूले बाजेलाई एक्लै छोडेर भाग्न सकेनन् । पहिरोले घर नै बगाउन लाग्दासमेत बाजेलाई बचाउन भन्दै दुवै भाइ घरभित्र पसे । बाजेलाई बाहिर निकाल्न गएका उनीहरू बाहिर निस्कन पाएनन् । पहिरोले पुरेपछि तीनै जना बाजे नाती घरभित्रै पुरिए ।
बाजेको मायाले तानेपछि घरभित्र पसेका उनीहरूले पनि बाजेसँगै प्राण त्याग्नुप¥यो । जीवित हुँदा निकै मिल्ने र दौतरी जस्तै आपसमा रमाइलो गर्ने बाजे नातीको एउटै चितामा दाहसंस्कार गर्नुपर्ने अवस्था आएपछि स्थानीय शोकाकुल बनेका छन् ।
काखबाट दुई भाइ छोरा गुमेपछि द्रुपदाको आँखामा आँशु ओभाउन सकेको छैन । पहिरो आएपछि छोरासहित उनी घरबाहिर निस्किएकी थिइन् । तर छोरोहरू बाजेलाई बचाउन भन्दै बल गरेर घरभित्र पसे । उनले छोराहरूलाई रोक्न सकिनन् । हेर्दाहेर्दै घर पहिरोले लग्यो । बल्लतल्ल आफ्नो ज्यान जोगाउन भने उनी सफल भइन् । तर छोराहरू गुमाउँदाको पीडाले उनलाई भतभती पोलिरहेको छ । यसैबीच मलामी गएका छिमेकीले मृतक परिवारलाई राहत उपलब्ध गराएका छन् । उनीहरूले पीडित परिवारलाई राहत स्वरूप १४ हजार एक सय ४६ रूपैयाँ प्रदान गरेका हुन् ।
यस्तै गुर्भाकोट नगरपालिकाले पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई किरिया खर्चवापत जनही २५ हजार रूपैयाँ दिने भएको छ । नगरपालिकाको मंगलवार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
अविरल वर्षासँगै आएको बाढी र पहिरोले पु¥याएको क्षतिका बारेमा छलफल गर्न बसेको बैठकले उक्त निर्णय गरेको हो । नगरपालिकाका प्रमुख हस्तबहादुर पुनको अध्यक्षतामा बसेको आकस्मिक बैठकले जनही २० हजारको दरले राहत दिने निर्णय गरेको हो ।
नगरपालिकाभित्र बाढी र पहिरोले पु¥याएको क्षतिको निरीक्षण र अनुगमन गर्न समिति पनि गठन गरिएको छ । साथै पीडितहरूले एक हप्ताभित्र नगरपालिकामा निवेदन दिनसमेत आग्रह गरिएको छ ।
यसैबीच नेपाल रेडक्रस सोसाइटी सुर्खेतले गुर्भाकोटका बाढी र पहिरो पीडितहरूलाई सहयोग प्रदान गरेको छ । बाढीले घरबारविहीन भएका गुर्भाकोट नगरपालिका–६ सिन्दुरखोला गाउँका नागरिकलाई लत्तापडा र भाँडाकुँडा सहयोग गरिएको हो ।
साझा बिसौनी संवाददाता ।