सम्पादकलाई प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार

सुर्खेत, ३१ साउन ।
यस दैनिकका सम्पादक ललितबहादुर बुढा प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । शिक्षा विभाग र नेपाल पत्रकार महासंघले हरेक वर्ष प्रदान गर्ने उक्त पुरस्कार अन्तर्गत यसवर्ष प्रदेश नं. ६ बाट बुढाले उक्त पुरस्कार पाउने भएका छन् । उक्त पुरस्कारको राशी ३० हजार रूपैयाँ रहेको छ ।

यसअघि क्षेत्रीय शिक्षा लेखनवृत्ति पाइसकेका बुढा अन्नपूर्णपोष्ट दैनिकका सुर्खेत संवाददाता पनि हुन् । विगत आठ वर्षदेखि पत्रकारितामा क्रियाशील रहेका बुढाले यसअघि बाल पत्रकारिता पुरस्कार र सरसफाइ पुरस्कार प्राप्त गरिसकेका छन् । बुढासँगै कान्तिपुर दैनिकका सुर्खेत संवाददाता प्रकाश अधिकारीलाई पनि प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
यसैगरी राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार बाँकेका पत्रकार सुरेन्द्र काफ्ले र पाल्पाका माधव अर्याललाई प्रदान गर्ने निर्णय गरिएको छ । यस्तै रेडियोलाई प्रदान गरिने संस्थागत शिक्षा पत्रकारिता पुरस्कार प्रदेश नं. ६ बाट दैलेखको ध्रुवतारा एफएमलाई प्रदान गरिने भएको छ ।

प्रकाशित मितिः   ३२ श्रावण २०७४, बुधबार ०९:२३