रक्तदाताका उत्प्रेरक पुनम

केही महिना पहिले नयाँ नम्बरबाट फोन आयो, ‘हेलो मोहम्मद जी बोल्दै हुनुहुन्छ ?’
‘हजुर बोल्दै छु ।’


‘तपाईंले हाम्रो साइट गो सुर्खेतडटकममा सब्मिट गर्नुभएको रहेछ, कता हुनुहुन्छ ?’
उताबाट रक्तदान गर्नुप¥यो भनेर प्रस्ताव आएपछि, म अलि बाहिर भएको जानकारी गराएँ, त्यसपछि नयाँ नम्बरबाट आएको फोन त्यो अपरिचित व्यक्तिसँग भेट्न मन लाग्यो ।
त्यसको केही दिनपछि हाम्रो भेट भयो ।

घुम्रो लामो लामो कर्ली कपाल, अग्लो जिउँडाल । लगभग ६ फिट नै हुनुपर्छ, २४–२५ वर्षको ठिटो । पातलो शरीर । बायाँ हातमा ट्याटु खोपिएको, माथि–माथिसम्म । झट्ट हेर्दा समाजको त्यो युवा जसलाई समाजले सकारात्मक सोचले हेर्दैन । एउटा फरक स्वरूप, विल्कुलै फरक । पहिलो भेटमै तपाईं किन ऊसँग नजिकिनुहुन्छ र ? किन ऊसँग कुरा गर्नुहुन्छ र ? सायदै तपाईं उसलाई मन पराउनु हुँदैन । सायदै साधारण रूपमा अपरिचित व्यक्ति बोल्न ऊसँग सोच्दैनन् । झट्ट हेर्दा देखिने उसको हुलियाले उसलाई समाजले एउटा ट्यापे तथा मुन्द्रेको रूप अवश्य नै दिन्छ । किनकी हाम्रो समाजमा मानिसहरूको सोचाइ व्यक्तिको पहिलो रूपमै भर पर्ने गर्छ, नकी काम, व्यवहारमा ।
सुर्खेतको वीरेन्द्रनगर–१० जन्म स्थान भएका पुनम बिसी असभ्य केटा नभएर, सौखिन ट्यापेको रूपमा देखिने एक सामाजिक रूपान्तरणको मेरुदण्ड हुन् । उनको बारेमा तपाईंलाई कति थाह छ ? सायदै कमै मानिसले उनको बारेमा सुनेका होलान् । सायदै कमै मानिसले उनको बारेमा देखेका होलान् । सायदै कमै मानिसले उनको बारेमा लेखेका होलान् । तर जसले सुनेका छन्, देखेका छन् र लेखेका छन्, सबैले आफ्नो मनलाई फेरि बुझ्ने मौका पक्कै पाएका छन् । कतै हत्या, कतै हिंसा, कालोबजारी, लुटतन्त्र, भष्ट्राचार तथा मानवअधिकार हनन् जस्ता विविध समाचारहरू आइरहेकै समयमा पुनम समाजमा सकारात्मक सोच वृद्धि अभियानमा जुटेका अभियान्ता हुन् ।
स्वार्थी समाजको संज्ञा पाउनै लागेको समाजमा उनी सहयोगी हातहरूको खोजीमा लागिपरेका छन् । ‘सहयोगी हात र सहयोगी मन कहिल्यै बिलाउनु हुँदैन’, उनको धारणा छ । वर्तमान समयमा समाजमा भइरहेका नकारात्मक घटना तथा पक्षहरूको कारण सफा मन सधैं लुकिरहेको अवस्था छ । मानिसहरू आफैभित्रको सफा मन चिनिरहेका छैनन् । उनी भन्छन्, ‘दिन प्रतिदिन डिप्रेशनको सिकार आफैलाई नचिन्नुको असर हो ।’


उनी सम्झिन्छन्, १७ वर्षको उमेरमा एउटा काम नलाग्ने केटाको संज्ञा । न पहिले पुनम घरको हुनसके न त उनको समाजको नै । उनी सुनाउँछन्, ‘पुनको संगत छोड्दे, नत्र त पनि बिग्रन्छस् ।’ उनका साथीभाइ तथा इष्टमित्र उनकै अगाडि यी कुराहरू साथीभाइलाई अह्राउँदा, यस्ता कुराले मनलाई आघात पुगेको बताउँछन् उनी । मनको पीडा तथा अठोट, अनि केही वाचा तथा आत्मविश्वासका साथ केही बन्ने र केही गर्ने उद्देश्य लिएर सुर्खेतदेखि नेपालको खाल्डो काठमाडांै जसोतसो भागेरै गए उनी एउटा सुनौलो जीवनको खोजीमा । जहाँ इज्जत होस्, जहाँ सपनाहरू पूरा हुन् । खाल्डोमा ६, ७ वर्षसम्म परिवारबाट नै सम्पर्क विच्छेद भएर धेरै संर्घष गरेको उनी बताउँछन् ।
उनी आफूलाई मनमौजी भन्न रुचाउछन् ।
६–७ वर्षको बसाइँपछि सुर्खेत फकिएपछि आफ्नै जन्म भूमिमा केही काम, केही परिवर्तन गर्ने भावना आएपछि बिरामीहरूले रगत अभावका कारण अकालमै ज्यान गुमाउनु परेकोले समय मै रगत उपलब्ध गराउने अभियानलाई अंगाले उनले । उनको एउटा छुट्टै साइट नयकगचपजभत।अयm छ, जसमा रक्तदान गर्न चाहने रक्तदाताहरूले आफ्नो नाम, ठेगाना र सम्पर्क फोनसहितको जानकारी गराइ सब्मिट गर्ने गरेका छन्, यस्तो आधुनिक युगमा आईटी को प्रयोग गरेर काम गर्दा सहयोग भएको उनी बताउँछन् ।
वर्तमान समयमा नेपालमा रक्तदाताको कमी, समय समयमा रगत अभावका कारण मानिसहरूको ज्यान गएको समाचारहरू सुन्न तथा देख्न सकिन्छ तर सुर्खेत चाहीं अब रगतको सम्बन्धमा परिवर्तन हुँदैछ । त्यसको कारण हो, पुनम फाउण्डेसनको रक्तदाता कार्यक्रम । कार्यक्रममा पुनम तथा उनका समूहले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतको मध्यपश्चिम क्षेत्रीय अस्पताल परिसरमा रहेको ब्लड बैंकमा रगत अभाव भएको समयमा या रगत चाहिएको समयमा सुर्खेतमा रक्तदाताको खोजी गरी समयमै रक्तदातालाई सम्पर्क गरी रगत उपलब्ध गराउने गर्दछन् उनी । यो अभियानमा उनी निश्वार्थ भावनाले दिन रात लागिपरेका छन् । उनको एक सशक्त युवासमूह समेत बनाएका छन् । विशेष गरी वोनम्यारो पीडित पक्ष, तथा सुत्केरी महिलाहरूका लागि लाभदायी भएको पुनम बताउँछन् । पीडित पक्षले अस्पतालबाट रगत चाहिएको खण्डमा कसैले फोन मात्र गर्छ भने पुनमले रक्तदातालाई तयारी अवस्थामा राखिदिन्छन् । आखिर किन ? के का लागि यस्तो कार्यक्रम ? के का लागि यस्तो अभियान ? के पाउनुहुन्छ तपाईंले ? मैले अनगिन्ती प्रश्नहरू गर्दा आत्माले सन्तुष्टि पाउने कुरा गर्छन् पुनम ।
पुनमले रक्तदाता कार्यक्रमलाई नेपालको प्रदेश नं. ६ का सबै १० जिल्लाहरूमा सञ्चालन गर्ने तयारी गरिरहेका छन् । समाज सेवाको क्षेत्रमा लागिपरेका अन्य संस्था तथा निकाय भन्दा पुनम समूहको योजना निकै फरक रहेको पाइन्छ, पुनमको लक्ष्यहरू पनि फरक छन्, ‘सपना देख्यो, कसरी गर्ने सोच्यो, लाग्यो र गरेरै देखायो ।’ यो नै हो पुनमको कार्यतालिका हो । उसै पनि पुनम भन्छन्, ‘नियम यति मात्र हो, जे गर्छौ मनदेखि गर । र योजना पूरा गर्न जीउ ज्यान एक गराइदेउँ । मन छैन भने हात पनि नलगाउँ ।’


उनले जाजरकोटको अति दुर्गम स्थानमा निःशुल्क स्वास्थ्य शिविर गरे, जहाँ जाजरकोट, डोल्पा र रुकुम जिल्लाका सीमाक्षेत्रका एक हजार पाँच सयभन्दा बढी नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका थिए । शिविरमा महिलाहरूको डेलिभरी हुँदा रगत अभावका कारण अकालमै ज्यान गुमाउनु परेको समस्याको समाधान कसरी गर्न सकिन्छ ? स्थानीयस्तरमा देखिएका स्वास्थ्य समस्यालाई पहिचान गरी समाधान कसरी गर्न सकिन्छ ? र रक्तदान गर्नको लागी उत्प्रेरणा दिनुको साथै रक्तदान लगायतका विषयहरूमा जानकारी गराएका थिए । वास्तवमा हाल नेपालको सन्दर्भमा रक्तदान कार्यक्रमप्रति जनसहभागितामा उल्लेखनीय वृद्घि गराइ रक्तदान कार्यक्रम र खासगरी रक्तदान उत्पे्ररणालाई अझैं व्यापकता दिनुपर्ने देखिन्छ । पुनम जस्तो स्वरूप, मुन्द्रे र ट्यापे जस्तो भेषलाई समाजले नकारिरहेको अवस्थामा, अहिले महामानवीय कार्यमा अग्रसर पुनमबाट पाठ सिक्नुपर्ने दिन आएको छ । पुनम एक उदाहरण मात्र हुन्, पुनम जस्ता सकारात्मक सोच भएका युवाहरू धेरै छन्, त्यसकारण यी सकारात्मक कार्यहरूलाई सबैले प्रशंसा गर्दै, हौसला प्रदान गर्नु आवश्यक देखिन्छ । यस्ता युवाहरू हाम्रा समाजमा धेरै छन्, तपाई हामीले पहिचान गर्न सकिरहेका छैनौं, यद्यपि पुनम जस्ता युवाहरूलाई सही रूपमा पहिचान गर्नसके हाम्रा समाजमा देखिएका स्वास्थ्य समस्या लगायतका अन्य समस्याहरू अन्त्य भइ हाम्रो देश, हाम्रो समाज एउटा नमुना, स्वस्थ देश स्वस्थ समाज निर्माण हुनेछ ।

[email protected]

प्रकाशित मितिः   २९ श्रावण २०७४, आईतवार १४:२०