हिलाम्य सडकले यात्रुलाई सास्ती

सुर्खेत, २८ साउन ।
रत्न राजमार्ग समयमै ममर्त सुधार नहुँदा यात्रुलाई सास्ती भएको छ । वर्षा लागेसँगै हिलाम्मे बनेको सडकका कारण यात्रुहरूले सास्ती खेप्नुपरेको हो । सडक हिलो भएका कारण यात्रुलाई आवाज–जावतमा समस्या भएको छ । आफन्तको घरमा तिजको दरखान हिँडेकी वीरेन्द्रनगर–३ की बिमला सुनारले कपडामा लागेको हिलो देखाउँदै भनिन्, ‘सडक सबै हिलाम्मे छ, हिँड्नसमेत समस्या छ ।’ हिलोको कारण आफन्तको पुग्न समस्या भएको उनले बताइन् । उनी भन्छिन्, ‘एक त बाटो हिलो छ त्यसैमा चालकहरूले स्पीडमा गाडी चलाउँदा हिलो उछ्टिएर कपडा भरी लाग्छ ।’


छोटो समयमा गन्तव्यमा पुग्ने यात्रुहरू सडकमा भएको हिलोको कारण गन्तव्यमा पुग्न घण्टौं लाग्ने गरेको बताउँछन् । बिमला जस्तै वीरेन्द्रनगर–१ की बविता अधिकारीलाई पनि सडक हिलाम्मे भएका कारण बजारसम्म आउन कठिन भयो । सधैं हिँडेरै बजार आउने बविता सडक हिलोका कारण महँगो भाडा तिरेर अटोरिक्सामा आउन बाध्य भइन् । उनले भनिन्, ‘बाटो हिलो छ के
गर्ने जति भने पनि अटोमा नै आउनुपर्छ । यो सडक छिटो बनेको भए हामी यात्रा गर्ने यात्रुलाई हिँड्न सहज हुने थियो ।’
समयमा चारलेन बाटो सम्पन्न हुन नसक्दा यात्रु मात्र होइनन् व्यापारीहरूले समेत सास्ती खेप्नुपरेको छ । यात्रुहरूले समयमा सडक निर्माण कार्य सम्पन्न गर्न आग्रह गरेका छन् । वीरेन्द्रनगर–३ की निर्मला मल्ल झिसमिसे उज्यालो नहुँदै रत्नराजमार्ग यरीचौक ठेलामा पसल थाप्न आइपुग्छिन् । उनले पसल थापेको दुई महिना मात्र भएको छ । सडक हिलाम्मे भएका कारण उनले व्यापार घट्दै गएको बताइन् । पानी नपर्दाको दिनमा दैनिक तीन हजारको फलफूल बिक्री गर्ने निर्मलाले पानी पर्दाको दिनमा
भने एक हजारको पनि बिक्री नहुने बताइन् । शनिवार साँझ भेटिएकी उनले भनिन् ‘आज त झन् बिहानैदेखि पानी परेको छ, पाँच सयको पनि बिक्री भएको छैन ।’ बाटोमा हिँड्ने यात्रुहरू हिलोका कारण अटोमा सवार गर्छन् उनले थपिन्, ‘बाटो निर्माण कार्य सुरु गरेको धेरै भइसक्यो खोइ कहिले सम्पन्न गर्ने हुन् ?’
वीरेन्द्रनगर–३ की उषा शाही पनि सडकको हिलोका कारण समस्यामा छिन् । उनी बिहान घरदेखि पसलमा निस्कदा पानी नपरेको भए हुन्थ्यो भन्ने गर्छिन् । सडक छेउमा ठेलामा तरकारी पसल गरेकी उषाले पहिला दिनमा आठ हजारसम्मको व्यापार गर्ने गर्थिन् । उषाले अहिले दिनमा तीन हजारसम्मको पनि व्यापार नहुने बताइन् । उनी भन्छिन्, ‘के गर्ने हामी व्यापारी भाडा तिरेर बसेका छौं, समयमा सडक निर्माण नहुँदा व्यापार घट्दै गएको छ ।’
सडकमा यात्रा गर्ने यात्रुलाई मात्र नभएर सडक छेउछाउमा व्यापार गर्ने व्यापारीहरूले समेत सास्ती खेप्नु परेको छ । सडक हिलो छ । उषाले भनिन्, ‘पारीका मान्छे हिलोका कारण तरकारी किन्न वारी आउँदैनन्, यात्रुहरू सबै अटोमा सवार गर्छन् व्यापार सबै सुक्दै गयो ।’ आम्दानीको स्रोत नै ठेला बनाएका व्यापारीहरू समयमा चारलेन सडक निर्माण नहुँदा चिन्तित छन् । स्थानीयबासी र यात्रुले जतिसक्दो छिटो सडक मर्मतसुधार गर्न आग्रह गरेका छन् ।
चारलेन सडक निर्माणमा भएको ढिलाइका कारण वर्षातको समयमा यात्रुले सास्ती व्यहोर्नु परेको हो । वीरेन्द्रनगरमा रहेको कर्मचारी सञ्चयकोषादेखि रेडियो नेपाल नजिकै रहेको सिद्धार्थ होटेलसम्मको सडक निर्माण कार्यको ठेक्का श्री स्वच्छन्द श्याम एण्ड शंकर जेभी सुर्खेतले लिएको छ । श्री स्वच्छन्द श्याम एण्ड शंकर जेभी सुर्खेतले २०७३ असार २७ गते सम्झौता गरी २०७५ असार २० गतेसम्म काम पूरा गर्ने गरी क्षेत्रीय सडक निर्देशनालयसँग सम्झौता गरेको छ । सडक निर्माण गर्नुपर्ने म्याद २०७५ सम्म भए पनि अधुरो सडकमा यात्रुहरूले भने दुःख खेपिरहेका छन् । एकातर्फ हिलाम्मे सडक र त्यसमाथि जताततै खाल्डा हुँदा सवारी साधन सञ्चालनमा समेत समस्या हुने गरेको छ ।

प्रकाशित मितिः   २९ श्रावण २०७४, आईतवार १४:१५