गाउँबाटै सेवा पाउँदा नागरिक खुशी

सुर्खेत, २८ साउन ।
गुर्भाकोट नगरपालिकामा पर्ने मेहेलकुनाकी जसकली विकले शनिवार घरैनजिकको घुम्ती शिविरबाट नागरिकता बनाइन् । १६ वर्ष पुगेपछि बनाउन सकिने नेपाली नागरिकताको प्रमाणपत्र उनले ३८ वर्ष पुगिसक्दासम्म बनाएकी थिइनन् । नागरिकता बनाउनका लागि सदरमुकाम वीरेन्द्रनगर पुग्नुपर्ने बाध्यताका कारण उनले हालसम्म नागरिकता नबनाएकी हुन् । तर मेहेलकुनामै नागरिकता वितरणका लागि घुम्ती शिविर सञ्चालन भएपछि भने उनले शनिवार सोही शिविरबाट आफ्नो नागरिकता बनाइन् ।


गाउँबाटै नागरिकता पाउँदा खुशी भएकी जसकलीले सरकारलाई धन्यवाद दिइन् । ‘दैनिक जीवनयापन गर्न नानगरिकता चाहिएन, बनाउनका लागि वीरेन्द्रनगर जाने मेसो पनि मिलेन’ उनले भनिन्, ‘त्यसैले नागरिकता नबनाइ बसेकी थिएँ, गाउँमै शिविर बसेपछि भने बनाइहालें । शिविर सञ्चालन गरिदिन सरकारलाई धन्यवाद दिन चाहन्छु ।’ सदरमुकाम वीरेन्द्रनगर नै पुग्नुपर्ने बाध्यताका कारण नागरिकता बनाउने कामलाई प्राथमिकतामा नै नराखेका जसकली जस्तै सयौं नागरिकले मेहेलकुनामा सञ्चालित घुम्ती शिविरबाट नागरिकता बनाए ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले हाल जिल्लाका सात वटा स्थानीय तहमा नागरिकता वितरणका लागि घुम्ती शिविर सञ्चालन गरेको छ । वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिका बाहेकका सात वटा स्थानीय तहका केन्द्रबाट घुम्ती शिविरमार्फत् नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए । उनले नागरिकलाई सहज होस् भनेर स्थानीय तहका केन्द्रमा नै शिविर सञ्चालन गरिएको बताए ।
निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलन कार्य सुरु गरेपछि प्रशासनले प्रत्येक स्थानीय तहमा तीन दिने घुम्ती शिविर सञ्चालन गरेको हो । जस अन्तर्गत पाँच वटामा सम्पन्न भइसकेको छ । पाँच वटा स्थानीय तहमा घुम्ती शिविरबाट दुई हजार भन्दा बढी नागरिकले नागरिकता बनाएको पन्थले जानकारी दिए । चौकुने गाउँपालिका र चिङ्गाड गाउँपालिकामा भने शिविर सञ्चालन भइरहेको छ ।
प्रशासन कार्यालयको टोलीले हरेक गाउँपालिका र नगरपालिकाको केन्द्रमै गएर नागरिकता वितरण गरेको थियो । गाउँमै नागरिकता बनाउन पाएपछि आफू हर्षित भएको स्थानीयबासीहरूले बताएका छन् । नागरिकता बनाउन जिल्ला सदरमुकाम वीरेन्द्रनगर नै पुग्नु पर्दथ्यो तर अहिले गाउँमै नागरिकता बनेपछि आफूहरू हर्षित भएको जसकलीले बताइन् । नागरिकता वितरण सँग–सँगै निर्वाचन कार्यालयले यतिबेला जिल्लाका सबै स्थानीय तहका केन्द्रबाट फोटोसहितको मतदाता नामावली संकलनको कार्य पनि गरिरहेको छ ।

प्रकाशित मितिः   २९ श्रावण २०७४, आईतवार १४:१३