सरकारलाई पत्रः विभेदपूर्ण नीति कहिलेसम्म ?
प्रिय सरकार !
तिमीले मलाइ लात हान्न खोजे पनि मेरो तिमीप्रतिको श्रद्धा सम्मानमा कुनै कमी आएको छैन । किनकी मलाइ मेरो आमा हमेसा यसै भन्नुहुन्थ्यो, ‘आवेग—क्रोधमा बाबुआमा आफ्नो सन्तानलाई हात उठाउन सक्छन्, लात उठाउन सक्छन् र पनि सन्तान कहिल्यै उनको विरुद्धमा उभिदैनन् यो नै असल सन्तानको अति नै महŒवपूर्ण र राम्रो पक्ष हो ।’ त्यसैले म कहिल्यै आफ्नो आमाबाबुको विरुद्धमा उभिन सक्दिन । यो मैले मेरी आमाबाट पाएको सबैभन्दा ठूलो ज्ञान हो ।
वास्तवमै भन्दा सरकार भनेको आम जनताहरूको लागि अभिभावक या भनौं आमाबाबुसरह नै हो । जब कुनै व्यक्ति कुनै राज्यको नागरिक हुन्छ तब सरकार उसको एकमात्र अभिभावक हुने गर्छ । उनीहरूका हरेक दुःख पीडा आफ्नै सम्झेर उसले कठिन भन्दा कठिन कार्य गर्न जस्तो सुकै कठिन कदम उठाउन पनि पछि हट्दैन । यो उसको जिम्मेवारी र कर्तव्य पनि हो ।
एउटा आमाबाबुले आफ्नो सन्तान कालो–गोरो, धनी–गरीब, उचो–निचो, विद्वान–मूर्ख, चोर–फटाह जस्तो होस् उसलाई कहिल्यै पराया सम्झिदैन । ऊ आफ्नो सन्तानप्रति सदा कटिबद्ध हुन्छ । उसले कसैलाई पनि एकअर्काप्रति भेद्भाव नराखी समान माया ममता दिने गर्छ । तर विडम्बना भनौं या के ? तिमीले त आफ्नो सन्तानलाई खुलेआम यस्तो व्यवहार गरिरहेछौं । तिमी सिर्फ केही हुने खानेहरू र धनीहरूलाई मात्र आफ्नो सन्तान सम्झिन्छौं तर जोसँग केही छैन त्यस्ता हुँदा खाने गरीब गुरवाहरूलाई त सौतेनी सन्तानको जति पनि व्यवहार गर्न तर्सिदा रहेछौं । अँ साँच्ची ! यसो गर्दा तिम्रो दिलमा कतै पीडाको अनुभूति हुन्न होला त ? पक्कै हुन्छ । तर तिमीलाई ती टाँठाबाठा सन्तानहरूले किनिसकेका छन् । यतिसम्म कि तिमीलाई उनको विरुद्धमा बोल्ने आँटसम्म पनि आउँदैन । जुन दिनदेखि तिमीले ती सन्तानलाई काखी च्यापेका थियौं नि त्यस दिनदेखि तिमी किन यसरी बदलियौं भन्ने कुरो त एउटा जस्तोसुकै अबुझ र अज्ञानीले पनि बुझ्नसक्छ । यो सम्झेर तिमीलाई भित्रभित्रै डर पनि लाग्छ होला कि जब मैले यिनलाई आफ्नो सन्तान सरह मान्दिन त एक दिन यिनीहरू पनि मलाई आफ्नो अभिभावक भन्ने नसम्झी मेरो छाती पैतालाले कुल्चिनेछन् । तर अहँ, हामी त्यसो कदापी गर्न सक्दैनौं । किनकी हामी तिमी जस्तो त्यति निर्दयी कसरि हुन सक्थ्यौं र ?
तिमी त माथी दरबारमा बस्छौं । नियम कानुन बनाउँछौं । अनि मख्ख परेर कानमा तेल हालेर निदाइहाल्छौं । कि मैले त आफ्नो सन्तानको लागि धेरै गरेको छु । जब तिम्रा नीति कार्यक्रम हामीसम्म आइपुग्छन् । तब हाम्रो त त्यहाँसम्मको पहुँच नै देखिन्न । त्यो दिनको घटना बारम्बार चलचित्र झै मेरो आँखामा नाचिरहन्छ कि सम्झिदा भक्कानो छोडेर रुन मन लाउछ । घटना यस्तो थियोः
त्यसदिन म त्यस्तै कामविशेष जिल्ला पशुसेवा कार्यालयमा गएको थिएँ । त्यसै दिन पशुपालन गर्न सरकारबाट दिने अनुदान सहयोग वितरण गर्ने कार्यक्रम रहेछ । धेरैजना किसानहरूले सो प्राप्त गर्न व्यावसायिक योजना पेश गरेका रहेछन् । तीमध्ये कतिले त पशु फार्म दर्ता नै नगरेकोले उनीहरूको पत्र अस्वीकृत भइसकेको रहेछ । बाँकी रहेकामा पनि धेरैले सो अनुदान पाएनन् । सबैले पाउनु पनि असम्भव थियो । जस्को मापदण्ड पुगेन उनीहरू अयोग्य भए । तर एउटा बाख्रा फार्मको लागि एक जना दाइको पीडाले मेरो मनै छियाछिया भयो । उनको अनुसार उनीसँग १५ बाख्रा रहेछन् । फर्म पनि दर्ता रहेछ । फर्म दर्ता भएकोले वार्षिक २÷३ सय कर पनि तिर्दा रहेछन् । चाहना रहेछ कतैबाट एक÷दुई लाख अनुदान वा ऋण पाए केही रकमको बाख्रा थप्ने अनि बाँकीको खोर निर्माण गर्ने । ऋण लिन लालपूर्जा बोकेर थुप्रै बैंकहरू चाहारेछन् । तर गाउँको जग्गा त्यो पनि सडकले नछोएको भनेर बैंक कर्मचारीले अस्वीकृत गरिदिएछन् । त्यसपछि पशुसेवाबाट धेरथोर भए पनि पाइन्थ्यो कि भन्ने आशाले पशुसेवामा व्यावसायिक प्रस्ताव पेश गरेका रहेछन । पछि बाख्रा कम भएको भनेर उनको प्रस्ताप स्वीकृत भएन छ । उनीहरूको अनुसार कम्तीमा ५१ वटा बाख्रा हुनुपर्ने मापदण्ड रहेछ । उनले गहभरी आँसु पार्दै अगाडि भने, ‘सर, यदि मसँग ५१ बाख्रा हुन्थे त मलाइ यसरी हात फैलाएर कसैसँग सहयोगको भिख माग्नु के रहर हुन्थ्यो त ?’ उनको व्यथा सुनेर मन कुडिएर आयो तर मेरो के लाग्यो र त्यहाँ । म एकोहोरो उनलाई हेरिरहेँ हेरिरहेछु । कहिले काहीं सपनामा पनि उनी आउँछ । साथमा उनको कथा पनि । म हेरिरहन्छु । किनकि त्यो भन्दा मसँग अरु अधिकार नै के थियो र ?
अन्तमा, प्रिय सरकार !
हुने खाने र धनीलाई अझै सहयोग गरी धनी बनाउने अनि हुँदा खाने र केही नहुनेलाई वास्ता नै नगरी झन् गरीब बनाउने । के तिम्रो नियम कानुनमा यस्तै लेखिएको छ त ? होइन भने किन यसरी निरीह भएर हेरिरहेछौ । किन बुझ्दैनौ तिमी आफ्ना दुखी सन्तानका दुःख पीडाहरू ? के साँच्चिकै तिम्रो दिल पत्थरमा बदलिसकेकै हो त ? तिमी हमेसा समृद्ध सन्तानकै चिन्ता गरिरहछौं भने यी तिम्रा असाहाय दुखी सन्तानको बारेमा कसले सोचिदिने ? आशा छ अब आगामी दिनमा यसरी विभेदपूर्ण नीतिलाई मात्र काखी नच्यापेर समानताको नीति अवलम्बन गरी आफ्ना सबै सन्तानप्रति समभाव राख्दै पीडित सन्तानको पनि उद्धार गर्नेछौं । यो मेरो मात्र होइन म जस्तै लाखौं सन्तानहरूको माग हो ।
उही तिम्रो दुखी सन्तान
मास्टर जेबी गाउँले
चिङ्गाड–३, मटेला, सुर्खेत
साझा बिसौनी ।