गाउँमा बस आउँदा लगामवासीमा खुसीयाली
सुर्खेत, २६ चैत । जिल्लाको पश्चिममा पर्ने लगाममा बस पुग्दा स्थानीयवासीले अविरजात्रा गरेका छन् । जिल्ला सदरमुकामबाट करिब १ सय किलोमिटर पश्चिमी क्षेत्रमा पर्ने लगाम गाविसमा पहिलो पटक सार्वजनिक यात्रुबहाक बस पुगेको छ । बस पुग्दा लगाम र बेतान गाविसका नागरिकले अविरजात्रासहित स्वागत गरेका छन् ।
काक्रेविहार यातायात व्यवसायी समितिको ना ६ ख ९१० नम्बरको बस पहिलो पटक लगाम बजार पुगेको स्थानीयबासी लालबहादुर थापा र अर्जुन जनालाले जानकारी दिएका छन् । बस लगाम पुगेपछि स्थानीयबासीले बस चालक पूर्ण खत्रीलाइ अविर र माला लगाएका थिए । विजौराबाट पैदल यात्रा गर्न बाँध्य लगाम र बेतानबासीलाई बसपुग्दा राहत पुगेको खत्रीको भनाई छ ।
स्थानीयबासीले पैदल हिड्नुपर्ने बाध्यताको अन्त्य भएको भन्दै खुशीयाली मनाएका छन् । काम विशेषले सदरमुकाम वीरेन्द्रनगर आउन दुई दिन लाग्ने यहाँका बासिन्दालाई बस पुगेपछि सहज हुने बताएको छन् ।
लगामका लागि दैनिक विहान ७ बजे वीरेन्द्रनगर बाट र लगामबाट बिहान ८ बजे बस छुट्ने काक्रेबिहार यातायात समितिले जनाएको छ ।
-तस्बिर : बिर्ख बडुवाल
साझा बिसौनी संवाददाता ।