दैलेखमा डेकेन्द्रको सम्झना
दैलेख, २७ साउन ।
स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको १३ औं स्मृति दिवसको अवसरमा उनको योगदानको चर्चा गरिएको छ । तत्कालीन विद्रोही नेकपा माओवादीबाट हत्या गरिएका पत्रकार थापाको स्मृतिमा नेपाल पत्रकार महासंघ दैलेखले शुक्रवार कार्यक्रमको आयोजना गरेको थियो । उक्त अवसरमा सहभागीहरूले थापाको योगदानको चर्चा गरेका हुन् ।
द्वन्द्वको समयमा दैलेख बजारमा माओवादीले खानेपानीको आपूर्ति बन्द गरेका थिए । सोही विवाद मिलाउने भन्दै पत्रकार थापाले माओवादीसँग पहल गरिरहेका थिए । त्यसैबेला माओवादीले २०६१ साउन २७ गते पत्रकार थापाको हत्या गरेका थिए । उनको हत्या भएको दिनको सम्झनामा शुक्रवार दैलेख बजारमा डेकेन्द्रचौकको स्थापना गरी नाम अनावरण गरिएको हो ।
स्मृतिसभामा बोल्दै दैलेखका सांसद लक्ष्मीप्रसाद पोखरेलले स्वर्गीय पत्रकार थापाले जिल्लामा पु¥याएको योगदानको स्मरण गरे । थापा पत्रकार मात्र नभएर समग्र दैलेखी जनताको अधिकार प्राप्तीका लागि सामाजिक अभियन्तासमेत भएको उनको भनाइ थियो । अर्का सांसद अम्मरबहादुर थापाले दैलेखमा क्रियाशील सञ्चारकर्मीहरूलाई स्वर्गीय पत्रकार थापाले देखाएको बाटोमा लाग्न सुझाव दिए । कार्यक्रममा पत्रकार महासंघ अध्यक्ष चक्र केसीले स्वर्गीय पत्रकार थापाले देखाएको बाटोमा अगाडि बढ्न आग्रह गरे । दैलेखमा व्यावसायिक पत्रकारिताको विकासको लागि पत्रकार महासंघ सधैं लागि पर्ने उनको भनाइ छ ।
स्मृति दिवसका अवसरमा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, विभिन्न राजनीतिक दलका प्रमुख, पत्रकार महासंघका पूर्वअध्यक्षहरू लगायतको उपस्थिति थियो । यसैबीच डेकेन्द्र स्मृति पत्रकारिता पुरस्कार पत्रकार हरिहरसिंह राठौरलाई प्रदान गरिएको छ । द्वन्द्वको बेला दैलेखमा कान्तिपुर दैनिकले जिल्ला संवाददाताका रूपमा पत्रकार राठौरलाई पठाएको थियो । जुनबेला पत्रकार डेकेन्द्रराज थापालाई नेकपा माओवादीले खानेपानीको बहाना बनाएर प्रकाउ गरेको थियो । अपहरणमा गरिसकेपछि खोज तलासको पहल राठौर नेतृत्वमा गरिएको थियो । थापा अपहरण परेको तीन वर्षपछि शव उत्खनन् गरिएको थियो ।
साझा बिसौनी संवाददाता ।