विवाहपछि पहिलो नजर

श्रीमान् श्रीमती बीचमा झगडा हुनु भनेको सामान्य नै लाग्ने गर्छ यो जोडीलाई । भनिन्छ, ‘आगो बाल्नलाई पनि दाउरा ठोस्नै पर्छ ।’ कहिले काहींको सामान्य झगडाले पनि श्रीमान् श्रीमतीको सम्बन्धलाई मजबुद बनाउँछ । श्रीमान् श्रीमतीको सम्बन्ध भनेको पनि आगो जस्तै हो नठोसेसम्म नबोल्ने । यस्तै मजबुद सम्बन्ध भएका जोडी हुन् डम्बर ढकाल र लोककुमारी ढकाल । यो जोडीको कहिले काहीं वादविवाद हुने गर्छ । तर, त्यो बादविवादले उनीहरूको सम्बन्धलाई झन् बलियो बनाएको छ । एक आपसमा कुरा नमिल्दा हुने वादविवाद एकै छिनमा मायामा परिणत हुन्छ । उनीहरू भन्छन्, ‘हाम्रो सहयात्रा लामो भइसक्यो, हामी बीचमा झै–झगडा भनेर त्यस्तो ठूलो केही भएको छैन, कहिले काहीं भनाभन हुन्छ त्यो भनाभन मायामा परिणत हुन्छ ।’


पिता विन्दुलाल ढकाल र माता ईन्द्राकुमारी ढकालको कोखबाट २०१५ सालमा सुर्खेतको मेहेलीमा जन्मिएका डम्बर ढकाल बाल्यकालमा सरल र शान्त स्वभावका थिए । बाल्यकाल रमाइलोसँग बिताएका थिए । बाल्यकालमा उनी पढाइ बाहेक बिदाको समयमा घरको काम पनि गर्ने गर्थे । गाउँमा जन्मिएका ढकाल बिदाको समयमा गाइ बाख्रा चराउन जाने गर्थे । कक्षा ८ सम्म मेहेलीमा पढेका ढकालले कक्षा नौदेखि एसएलसी पास भने जन माविबाट पास गरे । त्यस समयमा सुर्खेतमा क्यापसहरू थिएनन् । पढ्न नेपालगन्ज नै जानुपथ्र्यो । उनी पनि उच्च शिक्षा हासिल गर्न नेपालगन्ज गए । कक्षा १२ पास नेपालगन्जबाट पास गरेका ढकालले पछि सुर्खेत शिक्षा क्यापसबाट बीएड र एमएड पास गरे । बहुमुखी क्यापसबाट बीए पास गरेका ढकालले मेहेलीबाट अस्थायी रूपमा शिक्षक पेसा सुरु गरे ।
२०३६ सालदेखि शिक्षण पेसामा आवद्ध भएका ढकालले २०३७ सालमा शिक्षक सेवाबाट नाम निकालेर सात वर्ष मेहेलीमा पढाए । १७ वर्ष मावि चौरासेमा पढाएका ढकालले २०६० सालदेखि अहिले पनि अमरज्योति माविमा आवद्ध छन् । उनी अमरदीप क्याम्पसमा क्याम्पस प्रमुखको रूपमा पनि काम गरे । क्याम्पसमा पनि पढाउँछन् ।
लोककुमारीले भर्खर एसएलसी दिएर बसेकी थिइन् । उनको हात माग्न केटा आएको खबर उनले सनिन् । तर, केटा को हो भन्ने चिनिन् । त्यति बेला छोरीले केटा मन पराउनुभन्दा पनि केटीको घरपरिवारले मन पराएपछि बिहेको कुरा टुङ्गिन्थ्यो । लोककुमारीको बिहेको कुरा पनि घरपरिवारकै सहमतिमा टुङ्गियो । उनले केटा कस्तो छ भनेर एक पटक देखिनन् । ढकाल भने लोककुमारीलाई हेर्नको लागि पीताम्बर ढकालको साथमा गएका थिए । ढकालले त लोककुमारीलाई टाढैबाट भए पनि देखेका थिए । तर लोककुमारीले ढकाललाई देखेकी थिइनन् ।
ढकाल र लोककुमारीको घरपरिवारको सहमतिमा उनीहरूको २०४३ सालमा मागी विवाह भयो । लोककुमारी दुलही बनेर माइतीबाट बिदा भएर घर आएपछि मात्र ढकालको अनुहार देखेकी थिइन् । विवाहपछि लोककुमारीलाई छोरी र बुहारी हुनुमा धेरै फरक अनुभव भयो । एक त नदेखेको घर नचिनेको केटासँग विवाह गरेर आएकी लोककुमारीलाई सुरु–सुरुमा त गाह्रो नै भयो । घरपरिवारको ख्याल राख्नु अरुको कुरा मान्नुपर्ने र माइतीमा जस्तो स्वतन्त्र घरमा पाइदैन । लोककुमारीलाई पनि सुरु–सुरुमा यिनै कुराले गाह्रो भयो । लोककुमारीलाई मात्र होइन हरेक छोरीलाई विवाह गरे पछि घरपरिवारको सम्माल्नुपर्ने, अरुको कुरामा हिँड्नुपर्नेदेखि नातासमेत परिवर्तन गर्नुपर्ने हुन्छ । लोककुमारीलाई घरपरिवारसँग घुलमिल हुन खासै समय भने लागेन । उनले विवाहपछि नै उच्च शिक्षा हासिल गरेकी हुन् ।
पिता द्रोणप्रसाद पाण्डे र माता बसुन्धरा पाण्डेको कोखबाट २०२४ सालमा लेखर्फसामा जन्मिएकी लोककुमारीको बाल्यकाल रमाइलोसँग बित्यो । बाल्यकालमा उनी अलि चञ्चले स्वभावकी थिइन् । उनले कक्षा दुईसम्म लेखर्फसामा पढिन् । कक्षा तीनदेखि भने नेपालगन्जमा बसेर पढिन् । लेखर्फसाबाट स्कुल जान टाढा र भेरी तर्नुपर्ने भएकाले उनी नेपालगन्ज आफन्तकोमा बसेर पढिन् । उनले कक्षा सातसम्म नेपालगन्जमा पढेकी लोककुमारीले कक्षा आठदेखि एसएलसी पास भने आनन्द मावि गुमीबाट गरिन् । उनको बालयकालदेखि नै पढ्ने उनको ठूलो इच्छा थियो । त्यस समयमा छोरीलाई पढाउनु हुँदैन भन्ने समाजको मान्यता पनि थियो । तर, पनि लोककुमारीको घरपरिवारले उनलाई पढाउने आँट गरे । लोककुमारीले विवाहपछि नै सुर्खेत शिक्षा क्यापसबाट बीएड पास गरिन् ।
पहिलो पटकमा नै शिक्षक सेवामा नाम निकालेर उनले साटाखानी पोखरे भन्ज्याङबाट पढाउन सुरु गरिन् । २०५१ सालदेखि हस्तवीर प्राविमा पढाउन सुरु गरेकी उनले अहिले पनि हस्तवीरमा नै पढाउँछिन् ।
यो जोडी विवाह अघि एकअर्काेलाई राम्रोसँग बुझ्न पाएका थिएनन् । विवाहपछि नै एकअर्काेको बानी व्यवहार बुझेका यो जोडीले एकअर्काेको प्रशंसा भने खुलेरै गर्छन् । ढकाललाई लोककुमारीको घरमा कोही पाहुना आउँदा स्वागत संस्कार र सम्मान गर्ने बानी मनपर्ने गर्छ । त्यस्तै लोककुमारीलाई पनि ढकालको नरिसाउने बानी मनपर्ने गर्छ । कहिले काहीं बाहिरबाट घर आउँदा ढिलो आउने बानी भने लोककुमारीलाई अलि मन पर्दैन ।
दुवै जना शिक्षक भएका कारण दुवै जना आ–आफ्नो काममा व्यस्त हुन्छन् । घरको काम भने जो पहिला फुर्सदमा हुन्छ उसैले गर्ने गर्छन् । ढकाल फुर्सदमा छन् भने उनी घरको खाना पकाउने, सफा गर्ने, कपडा धुने समेतको काम गर्छन् । दुवै जना एकअर्काेलाई सहयोग पनि गर्छन् । एकअर्काेलाई कामको भागवण्डा नगरेर जसले जे काम देख्यो उसले त्यो काम गर्ने गर्छन् । उनीहरू भन्छन्, ‘हामी एकअर्काेलाई कामको जिम्मा दिदैनौं, जसले जे काम देख्यो त्यो काम गर्छौ ।’
यो जोडी समय भएसम्म घुम्न पनि जाने गर्छन् । धार्मिक स्थलहरूमा अलि बढी सँगसँगै घुम्न जाने गर्छन् । एकअर्काेको जन्मदिन र विवाह वर्ष आउँदा एकले अर्कोलाई शुभकामना दिने गर्छन् । तर गिफ्ट भने आदान–प्रदान गर्दैनन् । उनीहरू भन्छन्, ‘हाम्रो पालामा यसरी जन्मदिन मनाउने चलन थिएन, अहिले मनाउँछन् हामीले शुभकामना मात्र दिन्छौं गिफ्ट आदान–प्रदान हुँदैन ।’ यो जोडी एकले अर्काेलाई शंकाको घेराभित्र कहिल्यै राखेनन् । श्रीमान्–श्रीमती बीचमा शंका हुनु स्वभाविकै पनि हो । तर, चाहिने भन्दा बढी शंका भयो भने त्यो शंकाले सम्बन्धलाई टुक्राइ दिन पनि सक्छ । शंकालाई राम्रो तरिकाले बुझ्यो भने परिवार पनि राम्रो हुन्छ । शंका शंकैमा त यस्तो, त उस्तो भन्न थाल्यो भने घरपरिवार नै बिग्रन्छ त्यसैले शंकालाई माया सँगसँगै लैजानुपर्छ । माया र शंका सँगसँगै भयो भने त्यति असर पर्दैन ।
यो जोडीका लागि जीवन प्राकृतिक कुरा हो । मानछे जन्मने, हुर्कने र मर्ने प्रक्रिया हो । तर जीवनमा केही गर्नका लागि संघर्ष भने गर्नैपर्छ । उनीहरूका अनुसार जीवनसाथी भनेका एकअर्काेको सुख–दुःखमा साथ दिने साथी हुन् । सँगै हास्ने सँगै रुने साथी भनेकै जीवनसाथी हुन् । जीवनको अन्तिम घडीसम्म साथ जीवनसाथीले मात्र दिनसक्छ । कसैसँग शेयर गर्न नसकेको कुरा जीवनसाथीसँग शेयर गर्न सकिने त्यो साथी नै जीवनसाथी हन् ।
उनीहरूका अनुसार दाम्पत्य सम्बन्धलाई दिगो बनाउनको लागि एकअर्काेमा समझदारी, एकअर्काेको भावनाको कदर गर्नुपर्छ । जबसम्म एकअर्कोप्रतिको विश्वास बलियो हुँदैन तबसम्म सम्बन्ध बलियो हुँदैन । यो जोडी भन्छन्, ‘प्रेम र विवाह फरक पाटा हुन् ।’ प्रेम सबैसँग हुन्छ विवाह एक जनासँग मात्र हुन्छ । विवाह परिवार–परिवार बीचको मेल पनि हो । विवाहले नयाँ नता जोडिएको हुन्छ । दुई परिवार, फरक संस्कार, रितीरिवाज जोडिएको हुन्छ । तर प्रेम व्यक्तिसँग, वस्तुसँग पनि हुन्छ । प्रेमको सीमा हुँदैन तर, विवाह निश्चित दायराभित्र रहेर गर्नुपर्छ ।
यो जोडी समाजमा एउटा शिक्षित समझदार जोडीको रूपमा स्थापित भएको छ । उनीहरू भन्छन्, ‘हतारमा विवाह गरेर फुर्सदमा पछुताउनु भन्दा विवाह गर्दा पहिला नै एकअर्काेको भावना बुझेर विवाह गर्नुपर्छ ।’ श्रीमान् श्रीमतीको सम्बन्धलाई राम्रो बनाउनको लागि श्रीमान् श्रीमती दुवैको सफलताका लागि एकले अर्कालाई राम्रो भूमिका निभाउनैपर्छ । राम्रो काममा दुवैले हौसला दिनुपर्छ । विश्वास सबै भन्दा ठूलो कुरा हो । एकले अर्काको कुरा सुन्नुपर्छ । बुझ्नुपर्छ । तब मात्र सम्बन्ध दिगो हुन्छ ।

प्रकाशित मितिः   २८ श्रावण २०७४, शनिबार १३:४१