क्षेत्रीय अस्पतालमा आइसियु सेवा
सुर्खेत, २६ साउन ।
वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा विशेषज्ञ सेवा सुरु भएको छ । स्थापना भएको १२ वर्षपछि अस्पतालमा आइसियु (सघन उपचार कक्ष) र एनआइसियु सेवा सञ्चालनमा आएका हुन् । दक्ष जनशक्ति र विशेषज्ञ सेवाको अभावमा हालसम्म आफै थला परेको यो अस्पताल विस्तारै तंग्रिन थालेको हो ।
आवश्यक उपकरण र दक्ष चिकित्सक नहुँदा सामान्य रोगका बिरामीलाईसमेत जिल्ला बाहिर रिफर गर्दै आएको अस्पतालमा बिहीवारबाट आइसियु सेवा सुरु भएको हो । अस्पतालले एक वर्षअघि नै एनआइसियु सेवा सुरु गरिसकेको छ । अस्पतालमा विशेषज्ञ सेवा सुरु भएसँगै अब यस क्षेत्रका बिरामीलाई उपचारमा सहज हुने भएको हो । विशेषगरी कर्णाली र भेरी अञ्चलका बिरामीले अब सुर्खेतमा विशेषज्ञ सेवा पाउने भएका हुन् । उपचारका लागि नेपालगन्ज र भारतसम्म जानुपर्ने बाध्यताबाट अब यस क्षेत्रका बिरामीले मुक्ति पाउने विश्वास गरिएको छ ।
सानो कटेरोबाट सेवा सुरु गरेको यो अस्पतालले भौतिक संरचना विस्तारसँगै पछिल्लो समय सेवाहरूसमेत बढाएको हो । वीरेन्द्रनगर निवासी थीरकुमारी कार्कीको आर्थिक सहयोगमा अस्पतालमा आइसियु कक्ष स्थापना भएको हो । पति नन्दबहादुर कार्कीको स्मृतिमा थीरकुमारीले ४३ लाख सहयोग गरेपछि अस्पतालले आइसियु सेवा सञ्चालनमा ल्याएको हो । प्रदेश नम्बर ६ मा पहिलोपटक क्षेत्रीय अस्पतालमा आइसियु सेवा उपलब्ध भएको छ । यो प्रदेशमा रहेका अन्य अस्पतालमा अहिले पनि यो सेवा सञ्चालन हुन सकेको छैन । अस्पतालमा स्थापना भएको आइसियु कक्षमा एक पटकमा चार जना बिरामीको उपचार गर्न सकिनेछ । यसअघि क्षेत्रीय अस्पताल भएर पनि बिरामीलाई अञ्चल अस्पतालमा रिफर गर्दै आएको यो अस्पतालले विस्तारै सेवा बढाउन थालेको हो ।
‘अब बिरामीले उपचार नपाएर ज्यान गुमाउने छैनन्, हामीले बिरामीलाई रिफर गर्नुपर्ने अवस्थाको अन्त्य भयो’ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर डम्बर खड्काले भने, ‘वर्षौंपछि डाक्टरको संख्या थपेका छौं, आवश्यक उपकरण र प्रविधि पनि व्यवस्थापन भएको छ । अब सुर्खेतमै विशेषज्ञ सेवा दिन हामी सफल भएका छौं, अस्पतालले सेवा र सुविधा बढाएको छ ।’ बजेट अभावमा सेवा विस्तार गर्न कठिन भइरहेको भन्दै उनले दाताहरूको सहयोगले अस्पतालको विस्तारमा टेवा पुगेको बताए । आइसियु र एनआइसियु सेवा सुरु भएकाले अब यस क्षेत्रका बिरामीले भरपर्दो उपचार पाउने उनको भनाइ छ । यस्तै लामो प्रयासपछि अस्पतालमा भेन्टिलेटर सेवा पनि उपलब्ध भएको छ । अस्पतालले थप सेवा पनि विस्तार गर्ने तयारी भइरहेको जनाएको छ ।
अर्कोतर्फ भौतिक संरचनाको अभाव झेल्दै आएको अस्पतालको नयाँ भवन निर्माण भएको छ । जहाँ अहिले ओपीडी सेवा सञ्चालन गरिएको छ । यस्तै अन्य भवनहरू पनि निर्माणको क्रममा छन् । अस्पताललाई प्रदेश नम्बर ६ को केन्द्रीय अस्पतालको रूपमा विकास गर्ने तयारी भइरहेको अस्पताल विकास समितिले जनाएको छ । त्यसका लागि अस्पतालमा साढे तीन सय शैयाको नयाँ भवन निर्माणको प्रक्रिया सुरु भएको छ । अस्पताल विकास समितिका सदस्य पूर्णप्रसाद पौडेलले भने, ‘अब अस्पताल पहिलाको जस्तै रहँदैन, हामीले विशेषज्ञ सेवा सञ्चालनमा ल्याएका छौं । अब अस्पतालको मुहार नै फेरियो ।’ पछिल्लो समय अस्पतालले काँचुली नै फेरेको भन्दै अस्पताल विकास समितिका सदस्य धनसिंह खड्काले यो अस्पताल प्रदेशकै नमुना र सुविधायुक्त हुने दाबी गरे ।
२०६२ सालमा स्थापना भएको यो अस्पतालले भरपर्दो सेवा नदिँदा आलोचना भोग्दै आएको थियो । तर पछिल्लो समय भने विस्तारै अस्पतालमा सुधारका संकेतहरू देखिएका छन् । आइसियु सेवाको उद्घाटन गर्दै मध्यपश्चिमका क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाईं र सुर्खेतका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले अस्पतालको विकासका लागि सरकारसँगै निजी क्षेत्रको सहयोग पनि आवश्यक रहेको बताए । साथै उनीहरूले यो अस्पताललाई अब प्रादेशिक अस्पतालको रूपमा विस्तार गर्नुपर्ने उल्लेख गरे । वीरेन्द्रनगरका उपप्रमुख मोहनमाया ढकालले अस्पतालमा सेवा विस्तारका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाइन् । अस्पतालमा आइसियु स्थापना गर्न सहयोग गर्ने थीरकुमारीका छोरा कोमल कार्कीले बिरामीले जिल्लामै भरपर्दो उपचार सेवा पाउने विश्वास व्यक्त गरे । साथै यसको निरन्तरतामा ध्यान दिनसमेत उनले अस्पताललाई आग्रह गरेका छन् ।
साझा बिसौनी संवाददाता ।