सहिद परिवारको अपेक्षाः ‘रगतको सम्मान, समृद्ध प्रदेश’
सुर्खेत, २५ साउन ।
मञ्चको अगाडि चार वटा तस्विर राखिएका थिए । उनी तस्विरमा माल्यार्पण गर्न खोज्दै थिइन् । तर हात कामिरहेका थिए । बल्लतल्ल दुवै हात तस्विर नजिक पुगे । मलिन अनुहारसहित तस्विरमा हेर्दै उनले माल्यार्पण गरिन् । केही बोल्न खोजिन्, तर पनि सकिनन् । मञ्चमा पुगेपछि पनि उनी एकहोरो टोलाएरै बसिन् ।
अखण्ड मध्यपश्चिमको माग गर्दै भएको प्रदर्शनमा दुई वर्षअघि साउन २५ गते प्रहरीले गोली चलाउँदा सुर्खेतमा तीन जनाको ज्यान गयो । आन्दोलनमा टीकाराम गौतम, यामबहादुर बिसी र गोपालसिं रजवार मारिए । उनीहरूको दोस्रो स्मृति दिवसको अवसरमा बुधवार वीरेन्द्रनगरमा कार्यक्रम आयोजना गरिएको थियो । सोहीक्रममा माल्यार्पण गर्न पुगेकी दुर्गादेवी गौतमले जब पति टीकाराम गौतमको तस्विर देखिन्, तब उनको अनुहारमा एकाएक पीडाका धर्साहरू देखिए । आन्दोलनमा पति गुमाउँदाको पीडालाई दबाउँदै उनले तस्विरमा माल्यार्पण गरिन् ।
दुर्गादेवी मात्र होइनन्, छैठौं प्रदेश घोषणा हुनुपूर्वको आन्दोलनमा ज्यान गुमाएका बिसी र रजवारका आफन्तहरू पीडामै बाँचिरहेका छन् । सरकारले मृतकलाई सहिद घोषणा गरे पनि आफ्ना आफन्तको रगतले उचित सम्मान पाउन नसकेको परिवारको गुनासो छ । मृतक गौतमका छोरा अमृत गौतमले भने, ‘हामीले अभिभावक गुमाएका छौं, हाम्रा अभिभावकको रगतले नै छैठौं प्रदेशको सीमाना कोरियो । अब मेरो बुबाको रगतलाई अपमान नगरिदिनुस्, यो प्रदेशलाई समृद्ध बनाउनेतर्फ सबैले सोचौं ।’ आफूले आन्दोलनमा अभिभावक गुमाएको पीडा सुनाउँदै उनले थपे, ‘हामीले त अभिभावक गुमायौं, तर स्थानीय तहले भने वर्षौंपछि अभिभावकको रूपमा जनप्रतिनिधि पाएका छन् । अब जनप्रतिनिधिले हाम्रा आफन्तको रगतलाई अवमूल्यन नगरुन्, समृद्ध प्रदेश निर्माणमा जुट्नुहोला ।’
प्रदेश सीमांकनको बेलामा दलहरूले २०७२ साउनमा मध्यपश्चिमका पहाडी जिल्लालाई सुदूरपश्चिममा गाभ्ने निर्णय गरेका थिए । त्यसैको विरोधमा भेरी र कर्णालीमा आन्दोलन चर्किएको थियो । सोहीक्रममा जुम्लामा हरिबहादुर कुँवरको पनि ज्यान गएको थियो । चार जनाको ज्यान जानेगरी १३ दिनसम्म आन्दोलन चलेपछि दलहरूले छैठौं प्रदेश घोषणा गरेर सुदूरपश्चिममा गाभिएका जिल्लाहरू फिर्ता गर्ने निर्णय गरेका थिए । सोही आन्दोलनमा ज्यान गुमाएका यामबहादुर बिसीकी बहिनी भगवती बिसीले भनिन्, ‘हाम्रा आफन्त गुमे, अब आन्दोलनको उपलब्धी नगुमोस् । राजनीतिक दलहरू इमान्दार भएर अगाडि बढुन्, हाम्रा आफन्तको रगतसँग साटिएको यो प्रदेशको विकास र समृद्धिका लागि नेतृत्वले ध्यान देओस् ।’ उनले सहिद घोषणा भए पनि मृतकको शालिक निर्माण र स्मृतिपार्क निर्माणमा आलटाल भएको गुनासो पोखिन् ।
मृतकका आफन्तहरूले समयमा नै प्रदेशको निर्वाचन सम्पन्न गर्न दलहरूलाई आग्रह गरेका छन् । प्रदेशको निर्वाचन सम्पन्न भएर प्रदेशसभा गठन भएमा मात्र आन्दोलनको उपलब्धी संस्थागत हुने उनीहरूको भनाइ छ । ‘मैले इमान्दार र असल छोरो गुमाएको छु, मेरो छाती अहिले पनि भतभती पोलिरहेको छ’ मृतक यामबहादुर बिसीका बाबु शेरबहादुर बुढाले भने, ‘मेरो छोराले बगाएको रगतको सम्मान होस्, यो प्रदेश देशकै नमुना र समृद्ध बनोस् । आन्दोलनको उद्देश्य पनि यही हो, हाम्रा आफन्तको सपना पनि पूरा हुनेछ ।’ दलहरू जिम्मेवार नभए आन्दोलनका उपलब्धीहरू संस्थागत नहुने भन्दै सहिद परिवारले यसतर्फ ध्यान दिन आग्रह गरेका हुन् । प्रदेशको नामाकरण, प्रादेशिक राजधानीको टुङ्गो र प्रदेशसभाको गठन हुन बाँकी रहेको भन्दै उनीहरूले आफ्ना गुमेका आफन्तको रगतलाई साक्षी राखेर एकमत र सहकार्यका साथ अगाडि बढ्न राजनीतिक नेतृत्वलाई सुझाव दिएका छन् ।
प्रस्तावित याम बिसी स्मृति प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा यहाँका राजनीतिक दल, सरकारी निकाय र निजी क्षेत्रले यो प्रदेशको विकास र समृद्धिका लागि सामूहिक रूपमा लाग्ने प्रतिबद्धता जनाए । नेपाली कांग्रेसका सभापति कमलराज रेग्मी, माओवादी केन्द्रका अध्यक्ष कृष्ण जिसी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गोविन्द सुवेदी र राप्रपाका टोपबहादुर वलीले छैठौं प्रदेशको समृद्धिका लागि आफूहरू हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए । यस्तै जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल र वीरेन्द्रनगरका उपप्रमुख मोहनमाया ढकालले विकासका लागि स्थानीय तहबाट कुनै कसर बाँकी नराख्ने वचन दिए । कार्यक्रममा उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइराला र उद्योग वाणिज्य संघ प्रदेश नम्बर ६ का अध्यक्ष पदमबहादुर शाहीले सहिद परिवारको भावना अनुसार भविष्यमा गठन हुने प्रदेश सरकारले विकास र समृद्धिको नीति ल्याउनुपर्ने बताए ।
साझा बिसौनी संवाददाता ।