भेरी–बबई डाइभर्सन आयोजना, समयमै सक्न मन्त्रीको निर्देशन
सुर्खेत, २४ साउन ।
सिँचाइ मन्त्री सञ्जय गौतमले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा तोकिएकै मितिमा निर्माण कार्य सक्न निर्देशन दिएका छन् । आयोजनाको सुरुङ निर्माणस्थलमा मंगलवार स्थलगत अवलोकन गरेपछि मन्त्री गौतमले यस्तो निर्देशन दिएका हुन् ।
आयोजनाको प्रगति सन्तोषजनक रहेको भन्दै उनले सरकारले पनि सक्दो सहयोग गर्ने वचन दिए । ‘यो आयोजना राष्ट्रकै गौरव हो, यसमा ढिलासुस्ती हुनुहुँदैन’ मन्त्री गौतमले भने, ‘आजसम्मको अवस्था सन्तोषजनक नै छ, तोकिएकै मितिमा निर्माणको काम सम्पन्न गर्नुस् । नीतिगत अवरोधहरू सरकारले सुल्झाउनेछ, म मन्त्रालयको तर्फबाट सबै सहयोग गर्न तयार नै छु ।’ यो आयोजना देशकै नमुना भएकाले पनि सरकारको प्राथमिकतामा रहेको भन्दै उनले आयोजना सम्पन्न गर्नका लागि सरकारले सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
आयोजना सम्पन्न भएमा यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने मन्त्रीको विश्वास छ । विद्युत उत्पादन हुने र बाँके र बर्दियामा सिँचाइ सुविधा उपलब्ध हुने भएकाले यसलाई समयमा नै सम्पन्न गर्नका लागि सरकारले आवश्यक सहयोग गर्ने मन्त्रीको भनाइ छ । सोही अवसरमा उनले आयोजनाका कर्मचारीसँग निर्माणको प्रगतिबारे जानकारीसमेत लिएका थिए । कुनै पनि हालतमा आयोजनाको काम तोकिएकै मितिमा सक्न मन्त्री गौतमले निर्देशन दिएका हुन् । आयोजनाको निरीक्षणका लागि सिँचाइ मन्त्री गौतम, सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव र सिँचाइ विभागका महानिर्देशक राजेन्द्र अधिकारीसहितको टोली आएको थियो ।
यसैबीच आयोजनामा डेढ सय मिटर सुरुङ तयार भएको छ । आयोजनाको पहिलो र महŒवपूर्ण कामको रूपमा लिइएको सुरुङ निर्माणको कामले गति लिएको हो । हालसम्म मजदुरबाट खनिएको सुरुङको बाँकी भाग अब मेशिनले खन्नेछ । भेरी नदीको पानीलाई सुर्खेत र बर्दियाको सीमानामा रहेको बबई नदीमा खसालेर विद्युत उत्पादन र सिँचाइमा प्रयोग गर्ने उद्देश्यले यो आयोजना सुरु भएको हो । चुरे क्षेत्रको पहाडमा १२ किलोमिटर सुरुङ खनेर भेरी नदीको पानी बबईमा खसाल्ने योजनासहित अहिले धमाधम काम भइरहेको छ । सुरुङ निर्माणका लागि विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टीबीएम) विदेशबाट भिœयाउन लागिएको हो । हाल उक्त मेशिन भारतको कलकत्ता आइपुगेको भन्दै आयोजनाले अबको एक महिनाभित्र आयोजनास्थलमा पुग्ने जानकारी दिएको छ ।
आयोजनाको पहिलो काम नै सुरुङ निर्माण भएकाले सुरुङ निर्माण स्थलमा टीबीएम मेशिन स्थापनाका लागि पूर्वाधार निर्माणको काम सकिएको आयोजना प्रमुख शिवकुमार बस्नेतले बताए । नेपालमै पहिलोपटक यो आयोजनामा टनेल बोरिङ मेशिनमार्फत् सुरुङ निर्माण गर्न लागिएको हो । आयोजना प्रमुख बस्नेतले भने, ‘यो आयोजनाको मुख्य काम नै सुरुङ निर्माण हो, त्यसका लागि सबै पूर्वाधार तयार पारेका छौं । मेशिन राख्नका लागि चाहिने डेढ सय मिटर सुरुङ पनि तयार भएको छ, अबको एक महिनाभित्र मेशिन पुग्नेछ ।’ मेशिन स्थापना तथा जडान गर्न कम्तीमा डेढ महिना लाग्नेछ । आयोजनाका प्रशासन प्रमुख नृपजंग शाहीले आउँदो कार्तिकदेखि मेशिनबाट सुरुङ खन्ने काम सुरु हुने बताए ।
सुर्खेतको भेरीगंगा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत् प्रति सेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य रहेको छ । बबईमा खसालिएको पानीबाट ४८ मेगावाट विद्युत उत्पादन गरेर राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ । यस्तै बबई नदीमा खसालिएको पानीबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य आयोजनाले लिएको छ । स्वदेशी लगानीमा नै निर्माण हुन लागेको यो आयोजनामा करिब १७ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । सुरुङ निर्माणको काम सकिने बित्तिकै ड्याम र विद्युतगृह पनि तयार हुने आयोजनाका सिनियर डिभिजनल इन्जिनियर मीनराज ढकालले जानकारी दिए ।
साझा बिसौनी संवाददाता ।