कालोपट्टी बाँधेर विरोध

सुर्खेत, मध्यपश्चिमाञ्चल विश्व–विद्यालयले निजी कलेजहरूलाई सम्बन्धन दिन लागेको विरोधमा आइतवार विद्यार्थीहरूले कालोपट्टी बाँधेर अध्ययन गरेका छन् । चरणबद्ध आन्दोलन गर्दै आएका विद्यार्थीहरूले आइतवार निधारमा कालोपट्टी बाँधेर विरोध जनाएका छन् ।
यसैगरी आइतवार नै विश्वविद्यालयको केन्द्रीय क्याम्पस र केन्द्रीय कार्यालयमा पनि कालोझण्डा गाडिएको छ । निजी कलेजहरूलाई सम्बन्धन दिने निर्णय खारेज गर्नुपर्ने लगायतका मागहरू राख्दै संयुक्त विद्यार्थीहरू झण्डै दुई महिनादेखि आन्दोलनमा उत्रिएका छन् ।
यता विश्वविद्यालय भने अब्बल कलेजहरू छानेर सम्बन्धन दिने तयारी गरिएको जनाउँदै आएको छ । विश्वविद्यालयको आर्थिक अवस्था र बाहिर चिनाउनका लागि सम्बन्धन दिन लागेको बताउँदै आएको छ । तर विद्यार्थीहरूले भने जसरी पनि उक्त निर्णय फिर्ता गर्नुपर्ने माग राख्दै आएका छन् ।

प्रकाशित मितिः   २३ श्रावण २०७४, सोमबार १५:५६