न्यायको प्रतिक्षामा द्वन्द्वपीडित
उजुरी दिने म्याद भोलिसम्म, प्रदेश नम्बर ६ मा ३५ वटा उजुरी दर्ता
सुर्खेत, सत्य निरूपण तथा मेलमिलाप आयोगले पुनः उजुरी दिन थपेको म्याद भोलि मंगलवार सकिदैंछ । यसअघि उजुरी दिन छुटेका द्वन्द्वपीडितको गुनासोका आधारमा आयोगले पुनः उजुरी संकलन गरेको हो । एक महिनाको समय दिएर आयोगले पीडितबाट पुनः उजुरी मागेको थियो ।
सशस्त्रद्वन्द्वका क्रममा तत्कालीन विद्रोही र राज्य पक्षबाट भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाहरूको छानविन गर्न गठित आयोगले अघिल्लो वर्ष पीडितबाट उजुरी संकलन गरेको थियो । यसअघि संकलन भएका उजुरीमाथि अहिले छानविन भइरहेको छ । तर अधिकांश द्वन्द्वपीडितले आफूहरू उजुरी दिन छुटेको गुनासो गरेपछि आयोगले पुनः उजुरी संकलन गरेको हो । आयोगका अनुसार यो अवधिमा प्रदेश नम्बर ६ बाट ३५ वटा उजुरी संकलन भएका छन् । यद्यपि अरु दुई दिन बाँकी रहेकाले यो संख्या बढ्ने आयोगले जनाएको छ ।
आयोगका सात वटै प्रदेशमा रहेका मुकाम र केन्द्रीय कार्यालयबाट उजुरी संकलन भइरहेको छ । गत असार २५ गतेदेखि उजुरी मागिएको थियो । २०५२ फागुन १ गतेदेखि २०६३ मंसिर ५ गतेसम्म द्वन्द्वका क्रममा पीडित भएकाहरूले भोलिसम्म पनि उजुरी दिनसक्ने छन् । राज्य तथा तत्कालीन विद्रोहीबाट हत्या, अङ्गभङ्ग, कुटपिट, अपहरण, भौतिक क्षति र विस्थापित भएका पीडितहरूलाई उजुरी दिन आयोगले आग्रह गरेको छ । सशस्त्रद्वन्द्वको बेलामा पीडित भएकाहरूले नयाँ निवेदन दर्ता गराउन दुई दिन बाँकी हुँदा आयोगको सुर्खेतमा रहेको मुकाम कार्यालयमा ३५ वटा उजुरी दर्ता भएका छन् ।
यसअघि आयोगले यो प्रदेशमा पुनः थप भएको अवधिमा एक हजार उजुरी पर्ने अनुमान गरेको थियो । तर आइतवारसम्म यो प्रदेशका १० वटा जिल्लाबाट जम्मा ३५ वटा मात्र उजुरी आएका छन् । आयोगले नयाँ उजुरी दर्ता प्रक्रिया सुरु गरेपछि छुटेका द्वन्द्वपीडितहरूले न्याय र राहतका लागि निवेदन दर्ता गराएका छन् । दैलेख, कालिकोट, जुम्ला र सुर्खेत जिल्लाबाट आयोगमा पीडतका ३५ वटा उजुरी दर्ता भएको अनुसन्धान अधिकारी अधिवक्ता कौशीला योगीले बताइन् । यी जिल्लाहरू मध्ये धेरै उजुरी सुर्खेतबाट परेका छन् । योगीका अनुसार अन्य जिल्लाबाट सुर्खेत बसाइँसराइँ गरेर आएकाहरू धेरै भएकाले उजुरी दिनेको संख्या सुर्खेतमा धेरै भएको हो । अन्य जिल्लाबाट आउन टाढा भएकोले सबै जिल्लाबाट उजुरी नआएको आयोगले बताएको छ ।
पुनः थप भएको समयमा आयोगमा पीडितले सम्पत्ति क्षति, अपहरण, शारीरिक यातना, विस्थापित, अपाङ्ग, कुटपिट र हत्या सम्बन्धीका उजुरी दिएका हुन् । पीडितले उजुरीमा क्षतिपूर्ति र न्यायको माग गरेका छन् । उजुरी संकलन भएको र पहिला संकलन भएका उजुरीहरूमाथि छानविन पनि जारी रहेका बेला पीडितले भने न्यायको आश गरेका छन् । लामो समयपछि आयोगले काम थालेपछि पीडितहरू यतिबेला न्यायको प्रतिक्षामा बसिररहेका छन् । साथै पीडितहरूले आफूहरूका उजुरीमाथि छानविन गरी तत्काल न्याय दिलाउनसमेत आग्रह गरेका छन् । राजनीतिक हस्तक्षेप र दबाबमा आफूहरूको न्याय खोसिन नहुने उनीहरूको भनाइ छ । यसका लागि आयोगलाई उनीहरूले बारम्बार आग्रह गर्दै आएका छन् ।
यस प्रदेशबाट द्वन्द्वकालका घटना छानविनका लागि परेका उजुरीमध्ये पहिलो चरणमा एक हजार उजुरीमाथि अनुसन्धान चलिरहेको छ । अनुसन्धान अधिकारी योगीले उजुरीको छानविनको प्रक्रिया चलिरहेको बताइन् । आयोगले पीडितका उजुरीमाथि छानविन गरेर उचित न्याय दिइने जनाएको छ । यसअघि देशभरीबाट आयोगमा ५८ हजार ५२ वटा उजुरी दर्ता भएका थिए । द्वन्द्वबाट सबैभन्दा पीडित प्रदेश नम्बर ६ बाट भने यसअघि ११ हजार उजुरी परेका छन् । आयोगले पीडितलाई आफै उपस्थित भएर वा आफ्नो प्रतिनिधिमार्फत् पनि उजुरी दिनसक्ने जनाएको छ । यस्तै हुलाक, इमेल, टेलिफोन वा कार्यालयमा उपस्थित भएर पनि उजुरी दिन आयोगले आग्रह गरेको हो । पीडितले उजुरीका लागि असुरक्षित महसुस गरेमा आयोग समक्ष सुरक्षा माग गर्नसक्ने र सुरक्षाको व्यवस्था गरिने आयोगको भनाइ छ ।
साझा बिसौनी ।