दुर्घटनामा दुई जनाको मृत्यु

सुर्खेत, जेसीभी (डोजर) दुर्घटना हुँदा कालिकोटमा दुई जनाको ज्यान गएको छ । कर्णाली राजमार्गमा खसेको पहिरो पन्छाएर फिर्ता भएको डोजर आइतवार दिउँसो दुर्घटनामा परेको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।


दुर्घटनामा सुर्खेतको भेरीगंगा नगरपालिकास्थित छिन्चु घर भएका तुलाराम धौलाकोटी र कालिकोटको खाँडाचक्र नगरपालिका–६ का विष्णुबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको हो । धौलाकोटी डोजरका चालक हुन् भने शाही सोही सडकमा काम गर्ने मजदुर हुन् । यस्तै दुर्घटनामा कालिकोटको रास्कोट नगरपालिका निवासी छत्रबहादुर बम गम्भीर घाइते भएका छन् ।
कर्णाली राजमार्ग अन्तर्गत कालिकोट–जुम्ला
सडक खण्डको खाँडाचक्र नगरपालिका–५ बिहानी भन्ने ठाउँमा पहिरो पन्छाएर डोजर कालिकोट सदरमुकाम मान्मतर्फ जाँदै थियो । सोही क्रममा ब्रेक फेल भएर उक्त डोजर सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक विभागको अनटेस्ट जेसीभी दिउँसो २ बजे दुर्घटना भएको प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार डोजरले च्यापिएका उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । गम्भीर घाइते भएका सडक विभागका सुपरभाइजर बमलाई भने नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारको लागि नेपालगन्ज लगिएको छ ।

प्रकाशित मितिः   २३ श्रावण २०७४, सोमबार १५:५५