लिफ्ट सिँचाइले कृषक लाभान्वित

गुर्भाकोट, २२ साउन ।
सोलार लिफ्ट सिँचाइ आयोजना सञ्चालनमा आएपछि गुर्भाकोटका कृषक लाभान्वित भएका छन् । गुर्भाकोट नगरपालिका वडा नम्बर १२ भट्टेचौरका कृषकहरू सोलार लिफ्ट सिँचाइ आयोजनाबाट लाभान्वित भएका हुन् ।
सिँचाइ सुविधा नभएका स्थानमा सोलार लिफ्टमार्फत् सिँचाइ
उपलब्ध गराउने गरिएको छ । यसबाट भट्टेचौरका एक दर्जनभन्दा बढी परिवार लाभान्वित भएका छन् । उनीहरूले बेमौसमी तरकारी खेतीमार्फत् मनग्य आम्दानी लिन सफल भएका छन् । उक्त आयोजनाले सोलार सिस्टम जडान गरी सिँचाइ सुविधा उपलब्ध गराउने गरेको छ । यसबाट भट्टेचौरका १७ घर कृषकहरूले सामूहिक रूपमा बेमौसमी तरकारी उत्पादन गरी वार्षिक एक लाख रूपैयाँसम्म आम्दानी लिने
गरेका छन् ।
यसअघि परम्परागत रूपमा गहुँ र मकै मात्रै उत्पादन गर्दै आएका कृषकहरूले सिँचाइ नहुँदा लगानी अनुसारको उत्पादन लिन सकिरहेका थिएनन् । आकाशे पानीको भरमा खेती गर्नुपर्ने यहाँका नागरिकको बाध्यता अहिले भने हटेको छ । सोलार लिफ्ट सिँचाइ आयोजना सञ्चालनमा आएपछि अहिले बेमौसमी तरकारी उत्पादन गरेर आयस्तर वृद्धि गर्न पाउँदा यहाँका कृषकहरू हर्षित
भएका छन् ।
विकासशील ताजा तरकारी उत्पादन कृषक समूह गुर्भाकोट–१२ भट्टेचौर दहचौर सुर्खेतका अध्यक्ष पूर्णबहादुर रोकाले लिफ्ट सिँचाइ आयोजना आफूहरूका लागि वरदान सावित भएको बताए । सिँचाइ नहुँदा सुख्खा डाँडो बन्दै गएको जमिनमा अहिले बेमौसमी तरकारी खेती गरेर आम्दानी लिन सकिएको उनले जनाए । आयोजना विस्तारको क्रममै रहेको जनाइएको छ । उक्त आयोजनाको कूल लागत ३९ लाख ६५ हजार नौ सय ४९ रूपैयाँ हुनेछ । आयोजना सम्पन्न भएपछि यस क्षेत्रमा सिँचाइका लागि सहज हुनेछ ।
यसैबीच सोलार लिफ्ट सिँचाइ एवम् बेमौसमी तरकारी उत्पादन प्रविधि प्रदर्शन उपआयोजना गुर्भाकोट–१२ भट्टेचौरको दोस्रो सार्वजनिक सुनुवाइ कार्यक्रम आइतवार सम्पन्न भएको छ । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना कार्यालय नेपालगन्जको आर्थिक सहयोग, सामुदायिक विकास कार्यक्रम सुर्खेतको सहजीकरण र विकासशील ताजा तरकारी उत्पादन कृषक समूह गुर्भाकोटको आयोजनामा सार्वजनिक सुनुवाइ गरिएको हो । कार्यक्रममा आयोजनाको दोस्रो किस्ता अन्तर्गत सम्पन गरिएका काम तथा क्रियाकलापका जानकारी गराइएको थियो । समूहका सदस्य शेरबहादुर घर्तीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै साना तथा मझौला कृषक आयस्तरवृद्धि आयोजनाले सम्पन गरेका गतिविधिहरूका बारेमा जानकारी गराएका थिए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् नगरपालिकाका उपप्रमुख मैना विकले यसपाली नगरले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट छुट्याएको जानकारी दिइन् । कृषकहरूको हितका लागि आफूले नागरपालिकामा पहल गर्ने प्रतिबद्धता उनले जनाइन् । वडा नम्बर १२ का वडा अध्यक्ष प्रेमप्रकाश वली, नेकपा एमालेका सुशीला विक, नेपाली कांग्रेसका अम्मरलाल शर्मा, लोपोन्मुख समुदायका लालबहादुर राजीले शुभकामना मन्तव्य राख्दै कृषकहरूको जीवनस्तर माथि उठाउन सबैले सहयोग गर्नुपर्ने धारणा राखे । विकासशील ताजा तरकारी कृषक समूह गुर्भाकोट–१२ भट्टेचौरका अध्यक्ष पूर्णबहादुर रोकाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मितिः   २३ श्रावण २०७४, सोमबार १५:५३