पर्यटनलाई प्राथमिकता दिने प्रतिबद्धता

दैलेख, दैलेखका विभिन्न स्थानीय तहमा निर्वाचित प्रमुखहरूले जिल्लाको पर्यटन विकासमा सघाउने प्रतिबद्धता गरेका छन् । नेपाल पर्यटन पत्रकार संघ दैलेखको पहिलो अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनीहरूले यस्तो प्रतिबद्धता गरेका हुन् ।
कार्यक्रममा बोल्दै महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले जिल्लाभित्र रहेका विविध सांस्कृतिक सम्पदाहरू राज्यको पहुँचसम्म पुग्न नसकेकोले त्यस्ता सम्पदाहरू ओझेलमा परेको बताए । उनले स्थानीय तहको निर्वाचन सम्पन्न भइ निर्वाचित जनप्रतिनिधिमार्फत् भएको गाउँ तथा नगरसभाले दैलेख जिल्लाभित्र रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको विकास तथा पर्यटन विकासमा विशेष जोड दिएको बताए । ‘स्थानीय तहमा भएका सांस्कृतिक तथा धार्मिक सम्पदाहरूको विकास तथा प्रचार–प्रसारमा जोड दिदैं जानेछौं’ उनले भने ‘पर्यटन पत्रकार संघ दैलेखले लिएका उद्देश्यहरूलाई पूरा गर्नको लागि हामी सधैं तयार छौं ।’
नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले नेपाल पर्यटन पत्रकार संघ दैलेखको पहिलो अधिवेशनबाट निर्वाचित कार्यसमितिले जिल्लाको पर्यटन विकासमा कलम चलाउने विश्वास व्यक्त गरे । उनले नारायण नगरपालिका दैलेखले नगरभित्र रहेका सांस्कृतिक तथा धार्मिक सम्पदाहरूको विकास गर्न आफू लागि परेको बताउँदै जिल्लाको ११ वटै तहमा भएको पर्यटकीय सम्भावनाहरूलाई उजागर गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । कार्यक्रममा नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष धनीराम शर्मा (ऋतुविचार) ले पर्यटन विकासका सम्भावनाहरूलाई उजागर गर्दै विकासमा सहयोग पु¥याउने उद्देश्यले संघ विस्तार गरिएको बताए ।
उनले देशमा रहेका सांस्कृतिक तथा धार्मिक सम्पदाहरूको प्रचार–प्रसार गर्नसके पर्यटन विकासमा सघाउ पुग्ने बताए । देशभित्र रहेको पर्यटन विकासको सम्भावनालाई उजागर गर्दै विदेशी पर्यटकहरूलाई भिœयाउन सकेको खण्डमा देशको आर्थिक विकासमा सघाउ पुग्ने धारणा राखे ।
प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले दैलेख विभिन्न सांस्कृतिक तथा धार्मिक सम्पदाहरूले भरिपूर्ण भएकोले त्यस्ता सम्पदाहरूको विकासका लागि दैलेखका क्रियाशील पत्रकारहरूले गरेको योगदानको चर्चा गर्दै स्थानीय तहमा भएका सांस्कृतिक तथा धार्मिक स्थलहरूको विकासमा लाग्न सुझाव दिएका छन् । यस्तै नेपाल पर्यटन पत्रकार संघ दैलेखका अध्यक्ष चक्र केसीले दैलेख पर्यटन क्षेत्रको धेरै सम्भावना रहेको बताउँदै त्यस्ता सांस्कृतिक तथा धार्मिकस्थलहरूको प्रचार–प्रसारमा जोड दिनुपर्ने बताएका थिए । उनले निर्वाचित जनतिनिधिहरूले स्थानीय तहमा भएको सम्भावनाहरूको खोजी गरी त्यसको विकास र प्रबद्र्धनमा जोड दिन सुझावसमेत दिएका छन् । कार्यक्रममा राष्ट्रिय जनमोर्चा दैलेखका उपाध्यक्ष कविराज खत्री, मजदुर किसान पार्टीका जिल्ला सदस्य कुमारविक्रम शाही लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
यसैबीच नेपाल पर्यटन पत्रकार संघ दैलेखको पहिलो अधिवेशनले चक्र केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरिएको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्र पौड्याल, महिला उपाध्यक्षमा पूजा भण्डारी चयन भएका छन् । संघको सचिवमा हिक्मतकुमार परियार, सहसचिव महिला चन्द्रा बोहोरा, सहसचिव नवराज आचार्य र कोषाध्यक्षमा उदयराज अधिकारीलाई चयन गरिएको छ ।
यस्तै सदस्यहरूमा पृथ बयलकोटी, कमला बिसी, खगेन्द्र राना मगर, राजेश शाही, रमेश भट्टराई र रमेश बिसी रहेका छन् । पहिलो अधिवेशनले असोज ४ गते बर्दियाको ठाकुरद्वारमा हुने राष्ट्रिय भेलामा सहभागी प्रतिनिधिसमेत चयन गरेको छ । राष्ट्रिय भेलामा सहभागी हुनका लागि जिल्ला कार्यसमितिका अध्यक्ष चक्र केसी, विष्णु शर्मा र ज्योति कटुवाललाई चयन गरेको हो ।

प्रकाशित मितिः   २३ श्रावण २०७४, सोमबार १५:४९