‘मलाई केटाहरूले बाटोमै कुट्थे’

कालिप्रसाद पाण्डे, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति हुन् । वि.सं. २००८ असोज ६ गते बुबा जयनारायण पाण्डे र आमा देवकुमारी पाण्डेका जेठो छोराको रूपमा वीरेन्द्रनगरको बाँसपानीमा जन्मिएका उनले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेका छन् ः

?

म जन्मिएको गाउँमा अहिले जंगल छ । कटकुवाभन्दा तल बाँसपानी भन्ने ठाउँमा म जन्मिएको हुँ । यो उपत्यकाको बस्ती पहिले गोठीकाँडा, कटकुवा, बाँसपानीतिरबाट नै यहाँ सरेको हो । पहिले यहाँ औलो लाग्ने भएको कारण मान्छेहरू सबै माथि डाँडातिर नै बस्थे । पछि मात्र बस्ती यहाँ सरेको हो । हाम्रो परिवार पनि बासपानीमा बस्दा म जन्मिएको हुँ । हाम्रो परिवारहरू बसेको ठाउँहरू अहिले सबै जंगल मात्र छ । आफन्तहरूको मृत्यु भएपछि सबै अर्को ठाउँमा बसाइ सर्ने चलन हुन्थ्यो । हाम्रो परिवारमा पनि ढाप हुँदै बासपानी आएर बस्नुभएको रहेछ ।
हामी पाँच भाई र दुई बहिनी छौं । बाल्यकाल धेरै समय पढाइमा नै बित्यो । मेरो आमाले लेखपढ गरेको हुनुहुन्थ्यो । आमामा राजनीतिक चेतना पनि थियो । उहाँ महिला नेतृ हुनुहुन्थ्यो । बुबा खेती किसानी गर्नुहुन्थ्यो । बुबाले खेती किसानी गर्ने भएपछि आमाले पनि त्यसै काममा सघाउनु पर्ने हुन्थ्यो । तर उहाँमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने भावना थियो । त्यसकारण हामीलाई पढाइप्रति ध्यान केन्द्रित गर्नुहुन्थ्यो । उहाँले कलम बनाइदिने, लेख्नलाई पार्टी बनाइदिनुहुन्थ्यो । मेरो आमाको बुबा लमजुङबाट आउनुभएको हो । उहाँको मालपोतमा जागिर थियो । छोरीलाई पढाउनुपर्छ भन्ने चेतना उहाँमा भएर होला त्यसबेलाको जमानामा आमाले पढ्न पाउनुभएको ।
हजुरआमाले पनि मलाई धेरै माया गर्नुहुन्थ्यो । पहिले गाउँमा पढ्ने त्यति हुन्थेन । म एक्लै एक घण्टाको उकालो बाटो हिँडेर पढ्न जान्थें । त्यसबेलामा कटकुवामा प्राथमिक विद्यालय थियो । मलाई विद्यालय जान र आउन सारै समस्या हुन्थ्यो । मलाई दुई कुराको डर हुन्थ्यो । एउटा जंगली जनावार भेटिन्छन् की भन्ने र अर्को गाउँका केटाहरूले बाटोमा भेट्टाएर पिट्छन् की भन्ने । म सानोमा सारै सोझो थिएँ । अरु केटाहरूले मलाई बाटोमा भेटाए भने कुटिहाल्थे । म उनीहरूबाट भागेर विद्यालय जाने आउने गर्थें । कक्षा पाँचसम्म कटकुवामा पढें । पछि कक्षा ६ देखि गोठीकाँडामा पढें । घरदेखि विद्यालय अझ टाढा भयो । मलाई अझ अप्ठ्यारो भयो । बाँसपानीबाट डेढ घण्टा हिँडेर विद्यालय जानुपथ्र्यो । थकाई लाग्थ्यो । त्यसबेलामा यो सुर्खेत उपत्यकामा बस्ती थिएन । खेतीपाती हुन्थ्यो । त्यसकारण विद्यालय बिदा पुस–माघमा हुन्थ्यो तर मलाई घरको काम बर्खामा गर्नुपर्ने भएर म बर्खामा विद्यालय बिदा लिएर घरको काम गर्थें । त्यसबेलामा हामीले जति कक्षामा पढ्छौं त्यति रूपैयाँ तिर्नुपथ्र्यो । कक्षा १ मा पढे एक रूपैयाँ दिने, दुईमा पढे दुई रूपैयाँ हुन्थ्यो । पढ्नलाई नेपाली किताबहरू पाइदैन्थ्यो । वर्णमाला पढ्थें । अरु सबै हिन्दी भाषाका किताबहरू पढ्नुपर्ने बाध्यता हुन्थ्यो । तर पनि पढाइमा राम्रो थिएँ । म कक्षा ४ मा पढ्ने बेलामा एक पटक अञ्चल शिक्षा अधिकारी विद्यालयको अनुगमन गर्न आउँदा कक्षामा मैले मात्र गणितको हिसाब मिलाएको थिएँ । उनी मसँग खुशी भए ।
पहिले अहिलेको जस्तो सबैको घरमा टेलिभिजन हुँदैनथ्यो । कहिले काहीं गाउँमा डकुमेन्ट्री देखाउने चलन थियो । २०२३ सालमा मैले ‘आमा’ भन्ने डकुमेन्ट्री हेरें । टेलिभिजनको पर्दा कस्तो हुन्छ भनेर मैले त्यस बेलामामात्र देखेको हुँ । आमा भन्ने डकुमेन्टीमा नेपालको विकास गर्नुपर्छ शिक्षामा जोड दिनुपर्छ भन्ने थियो ।
गाइभैंसीको गोठालो जान्थें । खेतमा धानको कुनियो कुर्नुपथ्र्यो । दिनभरी खेतमा धानका कुनियो कुर्ने र खेल्ने गरिन्थ्यो । खेलहरूमा भलिबल, हाइजम्प, लङजम्प धेरै नै खेलियो । मलाई खेति किसानी गर्न पनि मनपथ्र्यो । खेतमा काम गर्ने मान्छेहरूसँग सँगसँगै काम गर्थे । मैले काम गरेको देखेर सबै दङ्ग पर्नुहुन्थ्यो । मलाई ठूले भाइ आएपछि त उहाँ जति काम गर्न कसैले सक्दैन भन्थे । म ५÷६ कक्षा पढ्दादेखि नै कविताहरू लेख्थें । अझै पनि केही कविताको सम्झना आउँछ । लाखे जात्रा हेर्ने पनि धेरै गइन्थ्यो । मत त्यसबेला कृष्ण बनेर जान्थें । मलाई सानो छ भनेर कृष्ण बनाउँथे ।
म १२ वर्षको हुँदा मेरो विवाह भएको हो । विवाहको लागि हजुरआमाले धेरै नै कर गर्नुभयो । सुरुमा मेरो विवाह हुँदैछ भन्ने पनि थाहा पाइन । त्यसबेलामा सानै उमेरमा मागी विवाह हुन्थ्यो । घरका परिवारले विवाहको कुरा टुङ्गो लगाए पुग्ने । केटाकेटीलाई केही थाहा हुँदैन्थ्यो । एक दिन म मामाको घरमा गएको थिएँ । मलाई मामाको घर जान पनि डर लाग्थ्यो । कारण, त्यहाँ मामाका छोराहरूले म सानो भएकोले कुटिहाल्थे । जबरजस्ती माामको घरमा बसको थिएँ । नुहाउन लागेको थिएँ । एक जनाले पर्सी १९ गतेको दुलाह भनेर जिस्काउनुभयो । अनि मात्र मेरो विवाह हुँदैछ भन्ने थाहा पाएँ । विवाहको दिन बाजा बजाएर रमाइलो गरे । नलखोलाबाट समेत बाजा बजाउने मान्छे बोलाउनुभएको रहेछ । मलाई पनि पछि त बाजा बजाउँदा रमाइलो लाग्यो । वीरेन्द्रनगर–१४ को दर्नाकोट जन्ति गयो । त्यसबेलामा रातीमा विवाह हुन्थ्यो । मैले त दुलहीलाई विवाह गरेर घर ल्याइसकेपछि मात्र बिहान खाना खाने बेलामात्र देखें । त्यसबेलामा पूरै घुम्टो ओडेर देख्नै पाइन ।
विवाहपछि मैले पढाइ भने छोडिन । पढाइलाई निरन्तरता नै दिएँ । दुलही २ वर्ष जति माइत गएर बसिन् । पछि २०२३ सालमा गोठीकाँडामा भएको सम्पूर्ण अड्डा वीरेन्द्रनगरमा सार्न निर्देशन आएपछि अड्डासँगै सबै बस्ती पनि उपत्यकामा नै स¥यो । हामी पनि बालमन्दिर नजिक आएर बस्यौं । पछि कक्षा १० मा मैले वीरेन्द्रनगरमै पढें । त्यसबेलामा सुर्खेतमा नगर योजना बनाउने काम सुरु भएको थियो । अमेरिकाबाट २ जना आएका थिए । उनीहरूले त्यति नेपाली नबुझ्ने र नेपालीहरूले पनि अंग्रेजी बुझ्ने कुरै भएन । विदेशीले समान बोकिदिएबापत पाँच रूपैयाँ दिन्छु भन्ने अनि उनीहरूले चार रूपैयाँ चाहियो भन्ने गरेर संवाद गरिरहेका थिए । मैले उनीहरूको कुरा सुनेर गएर मिलाइ दिएँ । उनीहरूले पाँच रूपैयाँमा नै समान बोक्ने सहमति गरे । पछि म विदेशीहरूसँग नजिक हुन थालें । उनीहरू मलाई सहयोगको लागि खोज्दै आउँथे । अंग्रेजी भाषाप्रति मेरो रुचि बढ्दै गयो । दुर्गाकेशर खनाल गुरु हुनुहुन्थ्यो उहाँले ग्रामर राम्रोसँग पढाउनुहुन्थ्यो । मैले रुचि दिएर पढें र अंग्रेजी भाषामा राम्रो गरें ।
मैले २०२५ सालमा एसएलसी उत्तीर्ण गरें । त्यसबेला मेरो ब्याज टप नै गरेको थिएँ । त्यसबेलामा नौ जना एसएलसी दिने विद्यार्थी थिए । त्यसमध्ये हामी ६ जनामात्र पास भयौं । त्यसबेलामा त यो बन्छु त्यो बन्छु भन्ने लक्ष्य भन्न सकिदैन्थ्यो । तर मलाई एसएलसी फेल भए पनि स्थायी शिक्षक भइहालिन्छ काम गरी खाइहालिन्छ भन्ने लाग्थ्यो तर पछि एसएलसी पास भइसकेपछि केही गर्नुपर्छ भन्ने भावना आयो । बाल्यकाल सम्झदा त अहिले त्यसबेलामा अन्धकारको युगमा थिएँ जस्तो लाग्छ । अहिले शिक्षामा आमूल परिवर्तन भएको छ । पहिलेको जस्तो समाज अहिले छैन ।