जेलबाट सीमाको उद्धार हुँदै

सुर्खेत, १९ साउन ।
कालिकोटमा आमासँगै जेलभित्र सजाय भोग्दै आएकी नाबालिकाको उद्धार हुने भएको छ । दुई वर्षदेखि आमासँगै जेलभित्र रहेकी सीमाको उद्धारका लागि आवश्यक प्रक्रिया सुरु भएको हो । वीरेन्द्रनगरमा रहेको सुरक्षित घर नेपालले संरक्षण दिने भएपछि सीमाको उद्धार प्रक्रिया थालिएको छ ।


कालिकोटको नरहरीनाथ गाउँपालिका वडा नम्बर ६ निवासी मिमसरा विष्टले पतिको हत्या गरेपछि अदालतले उनलाई जेल सजाय सुनाएको थियो । अदालतको आदेशपछि मिमसरा दुई वर्षदेखि जेलमा छन् । बाबुको हत्या भएको र घरमा संरक्षण गर्ने कोही नभएपछि चार वर्षीया बालिका सीमा पनि आमासँगै कारागारभित्र छन् । आमासँगै सीमाले जेलभित्र सजाय भोगिरहेको र उनी शिक्षा पाउनबाट वञ्चित भएको समाचार बिहीवार साझा बिसौनीमा प्रकाशित भएको थियो ।
समाचार प्रकाशित भएपछि बिहीवार नै वीरेन्द्रनगरमा रहेको सुरक्षित घर नेपाल नामक बालगृहले सीमालाई संरक्षण दिने प्रतिबद्धता जनाएको छ । संस्थाका अध्यक्ष हरिराम भारतीले सीमाको पालनपोषण र शिक्षाका लागि आफूहरू सहयोग गर्न तयार भएको बताए । संस्थाको प्रतिबद्धतापछि सीमाको उद्धारका लागि आवश्यक कागजपत्र बनाउन सुरु भएको कारागारले जनाएको छ । कालिकोट कारागारका निमित्त जेलर मोहनप्रसाद आचार्यले बालिकाको जन्मदर्ता, गाउँपालिका र जिल्ला बालकल्याण समितिको अनुमति तथा सिफारिस बनाउने काम सुरु भएको जानकारी दिए ।
सबै प्रक्रिया पूरा भएपछि केही दिनमा नै सीमालाई वीरेन्द्रनगर पठाइने उनको भनाइ छ । सीमाको उद्धारका लागि आवाज संस्था सुर्खेत र महिला तथा बालबालिका कार्यालय सुर्खेतले पनि समन्वय गरिरहेका छन् । सुरक्षिर नेपालले प्रदेश ६ अन्तर्गतका कारागारमा रहेका बालबालिकालाई उद्धार गरेर संरक्षण दिदैं आएको छ । सीमालाई पनि उद्धार गरेर उनको शिक्षामा सहयोग गर्ने बालगृहले जनाएको हो ।

 

प्रकाशित मितिः   २० श्रावण २०७४, शुक्रबार ०९:४७