जिल्ला समन्वय समितिको नेतृत्वका लागि कांग्रेस र एमालेको उम्मेदवारी

सुर्खेत, १९ साउन ।
जिल्ला समन्वय समिति सुर्खेतको नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता भएको छ । समन्वय समितिमा पदाधिकारी चयनका लागि बिहीवार मनोनयन दर्ता भएको हो । नेतृत्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेले मनोनयन दर्ता गरेका हुन् ।


आउँदो सोमवार नेतृत्वका लागि मतदान हुनेछ । जम्मा नौ सदस्यीय कार्यसमितिको लागि कांग्रेस र एमाले दुवै तर्फबाट नौ–नौ जनाले उम्मेदवारी दिएका छन् । संयोजकका लागि कांग्रेसको तर्फबाट छविलाल सिग्देल र नेकपा एमालेको तर्फबाट टोपबहादुर रास्कोटीबीच प्रतिस्पर्धा हुनेछ । यस्तै उपप्रमुखमा कांग्रेसका देवी भट्टराई र एमालेका दीपा चन्द मल्लबीच प्रतिस्पर्धा हुने भएको हो ।
सदस्यहरूमा नेपाली कांग्रेसको तर्फबाट बालकुमारी पुनमगर, रम्नाकुमारी बिसी, पूर्णकुमारी चालिसे, तीर्थबहादुर रावल, वासुदेव शर्मा, वीरसिंह घर्ती र दलित वा अल्पसंख्यक सदस्यमा पुसे कामीको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत वीरेन्द्र मल्लले बताए । यस्तै नेकपा एमालेबाट सदस्यहरूमा उमाकुमारी शर्मा, सुनिताकुमारी चौधरी, चन्द्राकुमारी धामी, काशीराम जैसी, मोहनकुमार चन्द, गम्भीरसिंह सोमै र दलित वा अल्पसंख्यक सदस्यमा डम्बरबहादुर नेपालीले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन कार्यालयका अनुसार शुक्रवार मतदातामाथि दावी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । साँझ पाँच बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै चुनाव चिन्हसमेत प्रदान गरिने कार्यतालिका रहेको छ । जिल्लामा रहेका पाँच नगरपालिका र चार गाउँपालिकाका प्रमुख तथा उपप्रमुख गरी १८ जनाले मतदान गर्नेछन् । नेकपा माओवादी केन्द्रले सुर्खेतमा कुनै पनि स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा जीत हासिल गर्न नसकेका कारण जिल्ला समन्वय समितिको नेतृत्वका लागि दावी नगरेको हो । कांग्रेसले ६ वटा स्थानीय तहमा विजयी हासिल गरेको छ । कांग्रेससँग जिससका लागि ११ मतसहित बहुमत रहेको छ । तीन तह जितेको एमालेसँग जिससका लागि सात मत रहेको छ । एमालेले वीरेन्द्रनगरमा उपप्रमुख जितेका कारण उसको मत सात भएको हो । गत वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनमा स्थानीय तहले जनप्रतिनिधि पाएको थिए ।

‘म जित्नेमा ढुक्क छु’


पञ्चपुरी नगरपालिका निवासी छविलाल सिग्देलको राजनीतिक यात्रा २०३४ सालदेखि सुरु भयो । विद्यार्थीकालमा राजनीतिमा लागेका हुन् । २०४७ सालदेखि उनी नेपाली कांग्रेसमा आवद्ध भए । उनी २०४९ तत्कालीन विद्यापुर गाविसको वडा नम्बर ७ को वडा अध्यक्ष भए । २०५२ सालमा विद्यापुर गाउँ समितिको पार्टी सभापतिको रूपमा पनि काम गरे । यस्तै २०५४ सालमा क्षेत्रीय कार्यसमिति सदस्य र २०५७ सालमा जिल्ला कार्यसमिति सदस्य भए । २०६२÷०६३ सालको जनआन्दोलनमा उनी पाँच पटक गरेर एक महिना जेलमा बसे । सिग्देल अहिले जिल्ला समन्वय समितिको संयोजकमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिँदै गर्दा उनलाई हामीले साधेका दुई प्रश्नमा यस्तो भने ।
विजयी हुनेमा ढुक्क हुनुहुन्छ ?
म ढुक्क नै छु । मलाई पार्टीले टिकट दिएर संयोजकमा उम्मेदवारी दिएको हुँ । जिल्लाका स्थानीय तहमा हाम्रो पार्टीको स्पष्ट बहुमत छ । विपक्षीको भन्दा गणितीय हिसाबले पनि हामी बढी नै छौं । पार्टीका साथीहरूले घात गर्ने छैनन् । मेरो विजयको औपचारिक घोषणा गर्न मात्र बाँकी हो । जिससका लागि कांग्रेसले जित्ने हाम्रो स्पष्ट बहुमत छ । हामी ढुक्क छौं ।
विजयी भएपछि यहाँको प्राथमिकता के हुनेछ ?
संविधान अनुसार संयोजकले गर्न पाउने काम गर्नेछु । अधिकार र जिम्मेवारीलाई पूर्णरूपमा पालना गर्नेछु । संयोजकले गर्ने काममा विभिन्न योजनाहरूको अनुगमन र छानविन गर्ने हो । कर्मचारीहरू बीचमा समन्वयको वातावरण बनाउने भएकाले आफूले पाएको जिम्मेवारी पूर्णरूपमा पारदर्शीताका साथ पूरा गर्नेछु । जिल्लामा सञ्चालन भएका विकास योजनाहरूको अनुमगन गर्ने र त्यसको पारदर्शीतामा जोड दिनेछु । जिल्ला, नगर र गाउँपालिकाको बीचमा समन्वयको वातावरण सिर्जना गर्नु मेरो प्राथमिकता हुनेछन् ।

‘इमान्दारिता जित्ने आधार’


टोपबहादुर रास्कोटीको राजनीतिक यात्रा २०३६ सालदेखि सुरु भयो । विद्यार्थीकालमा नबुझेरै राजनीतिमा लागेका रास्कोटीले क्याम्पसमा पढ्दा राजनीतिको बारेमा बुझ्ने मौका पाए । २०३९ सालमा उनी कृषि क्याम्पस लमजुङमा पढ्दै गर्दा स्ववियु सदस्य भए । वीरेन्द्रनगर–१ मा जन्मिएका रास्कोटी २०४६ सालको आन्दोलनपछि नेकपा एमालेमा आवद्ध भए । २०४९ सालमा साविकको उत्तरगंगा गाउँ विकास समितिको उपाध्यक्ष र २०५४ सालमा अध्यक्ष भएर काम गरेका छन् । उनले २०७०÷०७१ सालमा जिल्ला समन्वय समिति अन्तर्गत आदिवासी जनजातिको उपाध्यक्ष भएर काम गरे । रास्कोटी अहिले एमाले सुर्खेतको उपसचिवको जिम्मेवारीमा छन् । उम्मेदवारी दिँदै गर्दा उनलाई हामीले सोधेका दुई प्रश्नमा यस्तो भने ।
तपाईंको जित्ने आधार के छ ?
यसअघि पनि १० वर्ष जनप्रतिनिधि भएर काम गरिसकेको अनुभव छ । राजनीतिमा क्रियाशीलता, इमान्दारिता र मेहेनत नै मैले जित्ने आधार हुन् । हाम्रो पार्टी भन्दा विपक्ष पार्टीको मत धेरै छ । त्यो हुँदाहुँदै पनि हामी मैदानमा उत्रिएका छौं । किनकी हामीमा राजनीतिक इमान्दारिता छ । चुनावी मैदानमा उत्रिएपछि हार र जीत भन्ने स्वभाविक हुन्छ । हाम्रो पार्टीको मत कम भए पनि लोकतान्त्रिक अभ्यासमा हामी अगाडि सरेका हौं ।
यदि विजयी हुनुभयो भने के गर्ने योजना छ ?
यदि हाम्रो पार्टीले जित्यो भने संविधानले व्यवस्था गरे अनुरूपका काम गर्नेछु । आफूले पाएको कामको जिम्मेवारी पारदर्शी रूपमा पूरा गर्नेछु । जनतासँग प्रत्यक्ष रूपमा समन्वय गरेर काम गर्नेछु । जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयहरूबीचको सम्बन्ध प्रगाढ बनाउँदै जिल्लाको समृद्धिका लागि प्रतिबद्ध रहनेछु । जिल्लामा आवधिक योजना, पारदर्शीता र सुशासन कायम गर्ने मेरा योजना छन् ।

प्रकाशित मितिः   २० श्रावण २०७४, शुक्रबार ०९:५०