आमासँगै सजाय भोग्दै सीमा

सीमाको शिक्षाका लागि पहल गर्दैछौंः कारागार

कालिकोट, १८ साउन ।
बामे सर्दै गर्दा चार पर्खालभित्र पुगिन् । उनले बाहिरी संसार देख्न नपाएको दुई वर्ष भयो । उनको तोते बोली, हँसिलो अनुहार र जिज्ञासु स्वभाव केवल काँडेतारले बारेको अग्लो पर्खालभित्रै सीमित भएका छन् । जेलभित्र बस्नुपर्ने गल्ती उनले केही गरेकी थिइनन् । तर पनि उनले जेलभित्रै न्याय खोजिरहेकी छन् ।
कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ८ की चार वर्षीया बालिका सीमा विष्ट विगत दुई वर्षदेखि जिल्ला कारागारभित्रै छन् । आमाले गरेको गल्तीका कारण उनले पनि कारागारभित्र सजाय भोगिरहेकी हुन् । आमासँगै जलेभित्र पुगेकी उनले बाहिर निस्कन पाएकी छैनन् । उनीसँगै जन्मिएकाहरू नर्सरी र विद्यालयमा भर्ना भएका छन् । तर निर्दोष सीमा भने जेलभित्रै न्यायको पर्खाइमा छिन् । कारागारका चार पर्खालभित्रै उनको बाल स्वभाव र जिज्ञासाहरू खुम्चिरहेका छन् ।
घरायसी विवाद हुँदा मिमसरा विष्टले दुई वर्ष पहिला श्रीमान्को हत्या गरिन् । श्रीमान्को हत्यापछि जिल्ला अदालतले मिमसरालाई कैद सजाय सुनाएको थियो । अदालतको फैसलापछि उनी दुई वर्षदेखि कारागारमा सजाय काटिरहेकी छन् । घरमा रेखदेख गर्ने कोही नभएको, बाबुको हत्या भएको र आमालाई पनि जेल सजाय भएपछि नाबालिका सीमा आमासँगै कारागारभित्र बस्दै आएकी छन् । अरु दुई सन्तानलाई छिमेकीले संरक्षण गरिरहेको भए पनि सीमा भने आमासँगै कारागारमा छन् । कारागारभित्रै भएका कारण सीमाको पढाइ सुरु हुन सकेको छैन । न त उनले विद्यालयमा भर्ना हुने अवसर नै पाएकी छन् । जेलबाहिर आउँदा कोही पनि संरक्षण गर्ने अभिाभावक नभएका कारण उनको भविष्य थप अन्यौलमा परेको हो ।
कारागारभित्रको वातावरणका कारण उनको बाल मस्तिष्कमासमेत असर पुगेको छ । बालिकाको उमेर बढ्दै गएको र विद्यालय जाने उमेर हुन थालेको छ । आमाले गरेको अपराधमा नाबालिका छोरीले जेलमा सजाय भोग्नु परेका कारण उनमा मानसिक असर पर्नसक्ने चिन्ता गर्न थालिएको हो । बालिकालाई संरक्षण गरिदिने अभिभावक नहुँदा समस्या भएको कारागारका निमित्त जेलर मोहनप्रसाद शर्माले बताए । ‘बाहिर पठाउँदा संरक्षण गरिदिने कोही छैन, तत्कालका लागि आमासँगै राख्नुपर्ने बाध्यता भयो’ शर्माले भने, ‘कुनै संघ–संस्थाले उद्धार गरिदिए हुन्थ्यो, बालिकाले शिक्षा त पाउने थिइन् । आमाको सजाय भुक्तान हुने समय धेरै छ, अब कहिलेसम्म विना अपराध सीमाले जेलभित्र बस्ने ?’ सीमाको शिक्षाका लागि महिला तथा बालबालिका कार्यालय र जिल्ला बालकल्याण समितिमा समन्वय गरिने कारागारले जनाएको छ ।
नाबालिका विना कसुर जेलभित्र हुँदा उनको पढाइ लेखाइमा असर पुगेको भन्दै सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले आफूहरूले संघ–संस्थासँग पहल गरिरहेको जनाए । उनले भने, ‘आमाले गरेको अपराधमा नाबालिकाले कहिलेसम्म सजाय भोग्ने ? उनको उज्वल भविष्यका लागि सबैले पहल गरौं । सीमालाई कुनै पनि हालतमा न्याय दिनुपर्दछ ।’ बालिकाकी आमा मिमसराले केही महिना पहिला जेलभित्रै बिहे गरेकी छन् । श्रीमती हत्याको आरोपमा जेलमा सजाय भोगिरहेका डिल्लीप्रसाद कोइरालासँग उनको जेलभित्रै विवाह भएको हो । उनीहरूले सहमतिमा विवाह गरेको र सजाय भुक्तान हुन बाँकी रहेकाले उनीहरूलाई सँगै बस्न भने नदिइएको कारागार प्रशासनले जनाएको छ । बालिकाकी आमा पनि भरपर्दो संरक्षक पाए छोरी बाहिर पठाउन इच्छुक रहेको बताइएको छ ।
क्षमताभन्दा बढी कैदी
यसैबीच कालिकोट कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी रहेका छन् । १० जना महिला र २५ जना पुरुष क्षमता रहेको कारागारमा चार जना महिला र ५४ जना पुरुष कैदीबन्दी छन् । जसका कारण उनीहरूलाई सुत्नेदेखि खाने बस्नेसम्मको समस्या भएको छ । कैदीबन्दीले खाली चौरमा पाल टाँगेर सुत्ने गरेका हुन् ।
आफूहरूलाई खान, बस्न, सुत्न र शौचालयकोसमेत समस्या भएको कैदी भीमबहादुर सार्कीले बताए । उनले भने, ‘ठाउँ साघुरो छ, खान बस्न पनि समस्या छ’ उनले भने, ‘बस्ने घर कमी छ । क्षमताभन्दा बढी कैदी बन्दी रहेका छन् ।’ कारागार सुधार गृहका रूपमा भए पनि ठाउँ अभावका कारणले खेलकुद मनोरञ्जन लगायतका साम्रगीको अभाव रहेको कैदीबन्दी बताएका छन् । ठाउँ साँघुरो भएकाले आफूले कारागारमा कैदी बन्दीले कुनै पनि लेख्ने, पढ्ने, मनोरञ्जनका साधन नभएको त्यसको व्यवस्था मिलाउनुपर्ने कैदीबन्दी तिलक रानाले बताए ।
यस्तै कैदीले कारागारमा जीवनपछि भविष्यमा सुरक्षित जीवन जिउन कारागारमा सीपमूलक तालिमको आवश्यकता रहेको स्थानीय जनप्रतिनिधिहरूसँग माग गरेका छन् । कारागारमा कैदीबन्दीहरूलाई भेट्न पुगेका सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीसँग उनीहरूले यस्तो माग गरेका हुन् ।

प्रकाशित मितिः   १९ श्रावण २०७४, बिहीबार १५:४५