लक्ष्यभन्दा बढी राजस्व संकलन

सुर्खेत, १८ साउन ।
करदाता सेवा कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०७३/०७४ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले तोकेको लक्ष्य ३४ करोड तीन लाख २४ हजारमा कार्यालयले ३६ करोड ७१ लाख राजस्व संकलन गरी लक्ष्यभन्दा ७.५ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको करदाता सेवा कार्यालय सुर्खेतले जनाएको छ । यो राजस्व संकलन अघिल्लो आर्थिक वर्ष २०७२÷०७३ को तुलनामा ३३ प्रतिशतले बढी हो ।
यस अघिको तथ्यांकलाई हेर्ने हो भने आर्थिक वर्ष २०७२÷०७३ मा कार्यालयको राजस्व वृद्धिदर २५ प्रतिशत मात्र थियो । वर्षेनी करदाताको संख्या वृद्धि हुँदै जानु र करदाताहरूमा कर शिक्षाको बारेमा जानकारी वृद्धि हुँदै जानुले पनि वर्षेनी कर संकलन वृद्धिदर भएको जनाइएको छ । कार्यालयले आयकर, बहालकर, ब्याजकर, मूल्य अभिवृद्धि कर ,अन्तः शुल्क, शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क जस्ता करका शीर्षकबाट राजस्व संकलन गरेको हो । कार्यालयले निर्धारित लक्ष्यमा सबैभन्दा बढी राजस्व संकलन आयकरमा र सबैभन्दा भन्दा कम शिक्षा सेवा शुल्कमा गरेको कार्यालयका प्रमुख कर अधिकृत यज्ञराज ढकालले जानकारी दिए । ।
सुर्खेत जिल्लाभर कार्यक्षेत्र रहेको कार्यालयमा कूल १२ हजार नौ सय ९५ करदाता रहेका छन् । गत आर्थिक वर्षमा लक्ष्य भन्दा राम्रो प्रगति गरेको कार्यालयले चालु आर्थिक वर्ष २०७४/०७५ को लागि गत आर्थिक वर्षको तुलनामा ४७ प्रतिशतसम्मको वृद्धि गरेर कूल ५० करोड ९१ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको कर अधिकृत ढकालले बताएका छन् । कार्यालयले लक्ष्यभन्दा बढी प्रगति गरेता पनि मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकको राजस्व संकलन निकै चुनौतीपूर्ण रहेको ढकालले बताएका छन् ।
स्थानीय व्यवसायीहरूले भ्याट बिल जारी नगरिदिने र उपभोक्ताले पनि बिल नमाग्ने प्रचलनले गर्दा भ्याट शीर्षकको राजस्व संकलनमा कार्यालयलाई कठिनाइ उत्पन्न भएको पाइएको छ । नियमानुसार भ्याटमा दर्ता हुनुपर्ने करदाताहरू भ्याटमा दर्ता हुन डराउने प्रचलनसमेत रहेको उनले बताए । सुर्खेत जिल्लामा ठूला करदाताहरूले भ्याट बिल जारी गर्दै नगर्ने गरिहाले भने पनि नियमानुसार कारोबार नदेखाउने प्रचलन विगतका वर्षहरूदेखि नै कायमै छ । करदाताहरूलाई करको दायरामा ल्याउनको लागि सेवा कार्यालयले विशेष योजना नै बनाएर लागेको छ । जस अन्तर्गत कर शिक्षा कार्यक्रम, कर शिविर सञ्चालन र नियमित रूपमा बजार अनुगमन जस्ता कार्य गरिरहेको कर अधिकृत ढकालले बताए ।

प्रकाशित मितिः   १९ श्रावण २०७४, बिहीबार १५:४२