‘घरघरमै पुगेर जनताका समस्या बुझ्नेछौं’

लोकप्रसाद चालिसे वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १२ का अध्यक्ष हुन् । गत वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट नेकपा एमालेकोतर्फबाट उम्मेदवार बनेका उनी वडा अध्यक्षमा विजयी भएका हुन् । वडा अध्यक्ष भइसकेपछि गरिरहेको काम र आगामी योजना लगायतका विषयमा हाम्रा सहकर्मी गीता थापाले चालिसेसँग गरेको कुराकानीः


वडा अध्यक्षमा निर्वाचित भइसकेपछि अहिलेसम्म के—के काम गर्नुभयो ?
स्थानीय तहको निर्वाचनपछि जनताका समस्याहरू समाधानका लागि परेका छौं । हाम्रो वडामा विशेष गरी घरेलु हिंसा, पारिवारिक झै–झगडा लगायतका समस्या लिएर नागरिकहरू वडा कार्यालयमा आउने गरेका छन् । त्यस्ता समस्या समाधान गर्ने गरेका छौं । सुरुवाती चरणमै भएकाले अहिले हामी टोल टोलमा गएर जनताका समस्या के छन् त्यो बुझिरहेका छौं । जनप्रतिनिधि नहुँदा पहिला हुन नसकेका र रोकिएका कामहरू अहिले वडा कार्यालयबाट भइरहेको छ । हामी यिनै कामहरूमा व्यस्त छौं ।
मत माग्न जाँदा तपाईंले जनतासँग गरेका प्रतिबद्धताहरू सम्झना छन् ?
म यसअघिको जनप्रतिनिधि भएर काम गरिसकेको हुँदा पनि मेरो काम देखेर जनताले मलाई भोट हालेर जिताउनु भएको हो । हामीले पार्टीको घोषणापत्र बाहेक अरु केही प्रतिबद्धता र आशाहरू लिएर जनताको माझमा गएका थिएनौं । जनताका समस्या जे छन् तीनै समस्यालाई समाधान गर्ने प्रतिबद्धता गरेका हौं । जुन प्रतिबद्धता अहिले पनि सम्झिरहेको छु जुन प्रतिबद्धता म पूरा पनि गरेर देखाउने छु । जनताले मलाई गर्नु भएको त्यो विश्वासलाई टुट्न दिने छैन । मैले काम गर्दा मेरो पार्टी र तेरो पार्टी भनेर काम गर्दिन । सबै जनताको जनप्रतिनिधि हो त्यसैले सबैको समस्या समाधानका लागि म काम गर्ने प्रतिबद्धता पनि गर्छु ।
यो वडाको प्रमुख समस्याहरू के देख्नु भएको छ ?
यो वडाको प्रमुख समस्या भनेको सुकुम्बासीहरूको बस्ती धेरै हुनु र त्यसलाई व्यवस्थापन गर्नुरहेको छ । अर्काे यो वडामा दुई वटा खोला पर्छन् । एउटा नेवारे खोला र अर्काे ईत्राम खोला । यी दुई खोलाको बीचमा रहेको वडा नम्बर १२ प्राकृतिक हिसाबले पनि जोखिममा रहेको वडा हो । त्यसैमा वडा नम्बर १२ भनेर खोरिया पनि जोडिएको छ । त्यहाँको अवस्था सुधार र त्यहाँको विकासको लागि पनि काम गर्नु चुनौती छ । यो वडामा एउटा वथ्रिङ सेन्टरको स्थापना हुन नसक्नु पनि समस्या नै छ । वडा ठूलो छ सेवा सुविधा कम भएका कारण यो वडाको भौतिक पूर्वधार विकासमा पनि अलि समस्या नै छ । यो वडाको अरु समस्या भनेको स्वास्थ्य र शिक्षाको सुधार गर्नु हो ।
ती समस्यालाई कसरी समाधान गर्नु हुन्छ ?
यी समस्याहरूलाई समाधानका लागि पहिलो त दुई तहको चुनाव हुन जरुरी छ । किनकी नेपालको संविधान २०७२ मा सुकुम्बासीहरूको समस्या समाधानको लागि पहल प्रदेश सरकारले गर्न पाउने भनि उल्लेख गरेको हुँदा स्थानीय तहबाट केही गर्ने अधिकार छैन । हामीले पाएको अधिकार प्रयोग गरेर सुकुम्बासी बस्तीलाई व्यवस्थापन गर्ने कोशिस गर्नेछौं । दुई खोलाको तटबन्दका लागि गुरुयोजना बनाएर काम गर्दैछौं । सुर्खेत प्रदेश नम्बर ६ को प्रस्तावित राजधानी भएकाले यो वडालाई विकासमा अगाडि बढाउनको लागि खोरियामा पनि सडक बाटो पुगिसकेको छ । अब एक वर्षभित्रमा खोरियाको सडकलाई जर्बुटासम्म जोड्ने योजना रहेको छ । यसले पनि वडा नम्बर १२ लाई विकासमा अलि अगाडि पु¥याउँछ । स्वास्थ्य सेवा सहज बनाउनको लागि बथ्रिङ सेन्टरको स्थापना गर्ने योजना बनाएका छौं ।
यो वडाको लागि नगरपरिषद्बाट कति बजेट पास भएको छ ?
अहिले नगरपरिषद्बाट सबै वडाका लागि ८० लाख नै बजेट पास भएको छ । हाम्रो वडाको लागि पनि ८० लाख नै पास भएको छ । विशेष योजना भनेर हामीले पूर्वाधारको विकासका लागि माग गरेको बजेट भने ५० लाख पास भएको छ । सबै जोडेर यो वडाको लागि एक करोड ३० लाख बजेट नगरपरिषद्बाट पास भएको छ ।
त्यति बजेटले यो वडाको समस्या समाधान गर्न सकिन्छ त ?
यति बजेट यो वडाको विकासदेखि हरेक समस्या समाधान गर्न त पुग्दैन । तर, यही बजेटलाई कहीं कतै चुहावट हुन नदिएर इमान्दारिताका साथ काम गर्न सक्यौं भने पक्कै पनि एक वर्षमा गर्नुपर्ने जति विकास छन् ती सबै सफल बनाउन सकिन्छ । त्यसका लागि मैले मात्र आँटेर हुँदैन सबै जनताको साथ र सहयोग चाहिन्छ । संविधानले जनताको पक्षमा धेरै अधिकार दिएको त छ तर, राज्य संरचना भने पुरानै भएका कारण हरेक ठाउँमा काम राम्रो हुन सकिरहेको छैन । जनप्रतिनिधि आएपछि वृद्धाभत्ता वडा कार्यालयबाट बाँडिनुपर्ने हो तर, राज्य संरचनाका कारण बंैकबाट वितरण गरियो । त्यसले गर्दा वृद्धावृद्धहरूले धेरै दुःख पनि पाउनुभयो ।
अबको तीन महिनाभित्रमा यो वडा बासीले नयाँ के अनुभूति गर्न पाउँछन् ?
अबको तीन महिनामा वडा बासीले नयाँ काम देख्न पाउने भनेको विकासको काम देख्न पाउनु हुनेछ । अहिले पनि जनतालाई अनुभूति भइरहेको काम पहिला कर्मचारीबाट हुन नसकेर रोकिएको काम जनप्रतिनिधि आउनसाथ काम भइरहेको छ । अब बजेट निकासा हुने वित्तिकै भदौबाट नै विकास कामहरू सुरु हुँदैछन् ।
अरु वडाभन्दा फरक के काम गरेर देखाउनु हुन्छ ?
अरु वडा भन्दा फरक काम भनेको हाम्रो वडामा बढी मगर समुदायको बस्ती रहेको हुँदा यस वडामा मगर जातिको होमस्टे सञ्चालन गर्ने र मगर जातिको कला संस्कृतिलाई जगेर्ना गर्ने योजना बनाएको छु । मारुनी नाचको संरक्षणका लागि पनि योजना बनाएर काम गर्नेछु । अर्काे कुरा लक्षित वर्गको लागि आएको बजेट हरेक वर्ष तालिम र गोष्ठीमा सकिन्छ तर, यो वडामा अब लक्षित वर्गको बजेट अब तालिम र गोष्ठी नभइ आर्य–आर्जनमूलक कार्यक्रममा खर्च गर्नेछौं । लक्षित वर्गका महिला, युवाहरूलाई रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छौं ।
तपाईंको पाँच वर्ष कार्यकालमा यो वडालाई कस्तो बनाउनुहुन्छ ?
पाँच वर्षे मेरो कार्यकालमा वडा नम्बर १२ लाई विकास उन्मूखतिर लगेर छोड्ने छु । मेरो कार्यकालमा नै म मेरो वडालाई पूर्ण रूपमा विकास सम्पन्न गर्छु त भन्दिनँ तर, वडालाई विकास उन्मूख बनाउने छु । वडा प्रोफाइल बनाएर पाँच वर्षे रणनीतिक योजनाहरू बनाएर काम सुरु गर्नेछौं । वडाको समस्या के छन् ती समस्यालाई बुझ्नको लागि जनतासँग प्रतिनिधि घरदैलो कार्यक्रम गर्ने योजना बनाएका छौं । घरघरमै पुगेर जनताका समस्या बुझ्नेछौं र समाधान गर्नेछौं ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा मलाई विश्वास गरेर जिताउनु हुनु सबै वडाबासीहरूलाई धन्यवाद दिन्छु । वडाबासीहरूको समस्यालाई समाधानका लागि हामी जनताको घरदैलो अभियान कार्यक्रम सञ्चालन गरेर समस्या समाधान गर्नेछौं । जनताले गरेको विश्वासमा घात गर्नेछैन । म जनताको जनप्रतिनिधि हो त्यसैले जनताकै निम्ति काम गर्नेछु ।

प्रकाशित मितिः   १९ श्रावण २०७४, बिहीबार १५:३८