सांस्कृतिक रूपान्तरणको कसीमा छाउपडी

व्यक्ति, परिवारको संयोजनबाट समाज निर्माण हुने हो । समाज निरन्तर परिवर्तनशील हुन्छ । परिवर्तित समाजसँगै मानिसहरू पनि समायोजित हुँदै जानुपर्छ । विशेषगरी समाज परिवर्तन कुनै समूह अर्थात् वर्गले गर्दछ भने अन्य समूह वा वर्गहरू त्यसलाई स्वीकार गर्दै जानुपर्छ । समाज परिवर्तन भइरहँदा कतिपय मानिसहरूले पचाउन पनि सक्दैनन् र त शक्ति अनुकूल प्रतिवाद गर्न सक्छन् । त्यहीकारण समाज विभाजित पनि हुनसक्छ । समाज परिवर्तनका तह वा तŒवहरू हुन्छन्ः व्यक्ति, परिवार, समाज, राष्ट,« विश्व । समाज परिवर्तनका तह र आयामबीच कार्य–कारण सम्बन्ध गाँसिएका हुन्छन् । एक तहमा भएको परिवर्तन अर्काे तहको परिवर्तनको कारण बन्नसक्छ । समाजका आयामलाई विभिन्न आयाममा वर्गीकरण गरिन्छ । माक्र्सवादले समाजका तीन आयामहरूमा वर्गीकरण गरेको छः आर्थिक, राजनीतिक र सांस्कृतिक । सामाजिक आयामहरूलाई जतिसुकै प्रकारमा विभाजन गरेपनि ती आयामहरूबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । जस्तो कि अर्थतन्त्रमा भएको परिवर्तनले राजनीति र संस्कृतिको पुनर्गठन गर्छ, त्यस्तै राजनीति र संस्कृतिमा भएको परिवर्तनले अर्थतन्त्रलाई प्रभावित गर्दछ र यसलाई विशिष्ट बाटोतर्फ डो¥याउँछ । माक्र्सले अझै प्रष्ट पार्दै भनेका छन् कि अर्थतन्त्र र राजनीति समाजका आधार हुन भने सांस्कृति उक्त आधारको उपरिसंरचना हो ।
सांस्कृति के हो ?
समाजशास्त्रको आँखाबाट अध्ययन गर्दा संस्कृति समाज निर्मित र निर्देशित हुन्छ । संस्कृतिलाई परिभाषित गर्न कठिन छ । यसलाई संस्कृतिविदहरूले पनि ठोस् र मुर्त परिभाषा दिन सकिरहेका छैनन् तापनि यसभित्र धर्म, संस्कार, चाडवाड, रीतिरिवाज, मूल्यमान्यता, आचार विचार आदि समाविष्ट हुन्छन् । समाजका सबै तहमा संस्कृति निहित रहेको हुन्छ । समाजमा कुनै पनि व्यक्तिको क्रियाकलाप, संघर्ष, विचार, कल्पना, सपनामा समेत संस्कृतिनिहीत हुन्छ । संस्कृति इतिहास, परम्परा, पुराना आस्था, रीतिरिवाज, संस्कार, धर्म, मूल्यमान्यतासँग सम्बन्धित छ । समाज रूपान्तरणसँगै संस्कृतिहरू पनि रूपान्तरण हुन्छन् र हुनुपर्छ । केही यस्ता संस्कार र संस्कृतिहरू हुन्छन् तिनको रूपान्तरणमा आवश्यक कदमहरू उठाउनुपर्ने हुनसक्छ । खासरी सामन्तवादी र प्रतिक्रियावादी संस्कृतिहरू रूपान्तरणमा समाज परिवर्तनका अभिकर्ताहरूले ठोस कदम चाल्नुपर्ने हुनसक्छ । माक्र्सवादले त्यस्ता संँस्कृतिहरू परिवर्तनका लागि बल प्रयोगको सिद्धान्तसमेत लागू गर्नुपर्ने मान्यता राख्दछ । चिनियाँ राजनीतिक क्रान्ति पश्चात् माओले झण्डै १० वर्ष सांस्कृतिक क्रान्ति गरेका थिए । कुनै पनि राजनीतिक परिवर्तन पश्चात् त्यहाँको सांस्कृतिक रूपान्तरण भयो कि भएन मुख्य सार त्यहाँ हुन्छ । सांस्कृतिक परिवर्तन हुन सकेन भने राजनीतिक परिवर्तनले मात्रै अर्थ राख्दैन् ।
कसरी निर्माण हुन्छ ?
विशेषगरी सामाजिक चालचलनबाट संस्कृति निर्माण हुन्छ । कुनै पनि समाजको तत्कालीन व्यवहार, चाल–चलन, रीतिरिवाज लामो समयसम्म चल्दै परम्परा र मूल्य मान्यतामा परिणत हुन्छ । त्यस्ता चाल–चलनहरू विभिन्न मनसायका साथ समाजका माथिल्लो वर्गका मानिसहरूले चलाएका हुन्छन् । जस्तो कुनै व्यक्ति विशेष, समाज विशेष र वर्ग विशेषलाई दास बनाउन, नैतिकवान, अनुशासित बनाउन आदि । त्यस्ता रीतिरिवाजहरू लामो समय अभ्यासमा आइ अभ्यस्त भएर कालान्तरसम्म संस्कृतिका रूपमा विकास हुने गर्छन् । परम्परादेखि चलिआएका जुन रीतिरिवाजहरू छन् तिनीहरू समाजको मन मस्तिष्कमा अभ्यस्तरूपमा गाँजिएका हुन्छन् जसलाई सजिलै रूपान्तरण गर्न सकिदैन ।
परम्परादेखि चलि आएका सबै चालचलनहरू सबै रुढीवादी र अन्धविश्वासी हुँदैनन् । समाजमा चलिआएका त्यस्ता संस्कारहरू छन् जसले सामाजिक एकता, सामाजिक भावना, नैतिकवान, चरित्रवान र अनुशासित बनाउँछन् । विशेष समाजको पहिचानलाई उजागर गर्छन् । त्यस्ता संस्कृतिहरूलाई संरक्षण गर्ने, समय परिस्थिति अनुकूल बनाउँदै लैजानुपर्छ । केही यस्ता संस्कृति र संस्कारहरू हुन्छन् जुन रुढीवादी अन्धविश्वासमा जकडिएर हदैसम्मको सामाजिक विकृतिहरू भिœयाइरहेका हुन्छन् । समाजलाई परिस्थिति अनुकूल परिवर्तन हुन दिइरहेका हुँदैनन् । सामाजिक रूपान्तरणलाई नकार्ने गर्छन् त्यस्ता संस्ककारहरूलाई जरैदखि उखेल्न जरुरी हुन्छ ।
नेपाल सानो, गरीब, अल्पविकसित, बेरोजगारी, अशिक्षा, अज्ञानताका कारण लामोसमयदेखि पिल्सिरहेको छ । नेपाल परापूर्व कालदेखि कुनै पनि साम्राज्यहरूको अधिनस्थ भएर शासित भएन फलस्वरूप यहाँको मौलिक संस्कार एवम् संस्कृतिको विकास छुट्टै तरिकाले भएको हो । बाइसे–चौबीसे राज्य एकीकरण हुँदै, राणा शाह वशंको अन्त्य भइ यहाँसम्म आउँदा नेपालका थुप्रै रीतिथिति परम्मपरा र संस्कारहरूको विकास र लोप हुँदै आएको छ् । विशेषतः नेपालमा ठूल्ठूला राजनीतिक परिवर्तनहरू भए सो बमोजिम सांस्कृतिक परिवर्तहरू भएको पाइदैन । हामी सोचिरहेका छौं कि नेपाल एक धर्म निरपेक्ष, संघीय गणतन्त्रात्मक शासन भएको मुलुक हो तर साँच्चिकै सामाजिक–सांस्कृतिक रूपमा अध्ययन गर्दा हाम्रो समाज अशंवर्मा, मल्लहरूले निर्माण गरेको संस्कृतिको पछाडि–पछाडि दौडिरहेका छौं । राजनीतिक परिवर्तनका अभिकर्ताहरू आफै उक्त संस्कृतिको गोलमोटोल भित्र गाँजिएका छन् । यनेकी प्रत्यक्ष अप्रत्यक्षरूपमा रुढीवादी अन्धविश्वासी संस्कारबाट माथि उठ्न सकेका छैनन् । जसको ज्वलन्त उदाहरण हो पश्चिम नेपालका पहाडी जिल्लाहरूमा मौलाइरहेको छाउपडी प्रथा । हामीले धेरै राजनीतिक आन्दोलन त ग¥यौं तर सांस्कृतिक आन्दोलन, क्रान्ति गर्न सकेनौं । जनतामा राजनीतिक चेतनाको विकास त भयो तर
सांस्कृतिक चेतनाको विकास हुन सकेन । त्यसकारण धेरैजसो परम्परागत नेपाली संस्कारहरू रुढीग्रस्त र अन्धविश्वासबाट माथि उठन सकेनन् ।
के हो छाउपडी ?
महिलाहरू महिनावारी हुँदा छुन हुन्न भन्ने विश्वास छाउपडी प्रथा हो । रजस्वाला हुदाँ महिलाहरूलाई घर भन्दा अलग्गै सानो छाप्रो बनाएर राख्नु छाउपडी प्रथा हो । त्यस्ता छाप्रोहरू अस्थायी रूपमा घाँस, खर लगाएर निर्माण गरिएका हुन्छन् जसलाई छाउगोठ भनिन्छ । छाउगोठ नभएमा महिनावारी भएका महिलाहरूलाई पशु बाँध्ने गोठमा पनि राख्ने गरिन्छ । महिनावारी हुँदा भान्सा, पानी, मन्दिर आदि ठाउँहरूमा जानुहुँदैन, छुन हुँदैन यसो गरे देउता रिसाउँछन् भन्ने मान्यता छाउपडीमा हुन्छ । विशेषगरी पश्चिम नेपालका दैलेख, सुर्खेत, अछाम, बझाङ, बाजुरा, डोटी लगाएत पहाडी जिल्लाहरूमा यस प्रकारको कुसँस्कार विद्यमान रहेको छ र मध्य नेपालका गोरखा, धादिङ आदि जिल्लाहरूमा पनि छाउपडी प्रथा कायमै रहेको छ । छाउपडी परम्परादेखि चल्दै आएको एउटा कुरिती हो । समाजले महिला माथि गर्दै आएको कु–संस्कार एवम् असमानता हो । महिनावारी हुनु जैविक प्रक्रिया हो, एक नियम हो र यसलाई देउता रिसाउनुसँग जोडेर अछुत बनाउनु अन्धविश्वास हो ।
उन्मूलन गर्न के गर्ने ?
छाउपडी प्रथा एक रुढीवादी संस्कृति हो भने यसको उन्मूलन गर्न धेरै प्रयासहरू भए । विभिन्न सरकारी गैरसरकारी संस्थाहरूले जनचेतना जगाए, सामाजिक सचेतना अभियान चलाए, महिला अधिकारकर्मीहरूले आवाज उठाए, कयौं ठाउँहरूका छाउगोठहरू भत्काइए पनि । यस प्रथाको अन्त्यका लागि सरकारले छाउपडी प्रथा उन्मूलन निर्देशिका २०६४ ल्यायो । छाउपडी प्रथाको अन्त्यका लागि करौडौं रकम लगानी भयो तर यसको अन्त्य हुनसकेन । अझै दिन प्रतिदिन अप्रिय घटनाहरू घटिरहेका छन् । यसको मतलब कार्यान्वन संयन्त्र प्रभावकारी हुन सकेन । केही हप्ता अगाडि मात्रै चामुण्डा नगरपालिकास्थित लैनचौरकी तुल्सी शाहीको छाउगोठमा सर्पले टोक्दा ज्यान गएको थियो । यो त एक उदाहरण मात्र हो, यस्तै वर्षेनी दर्जनौं चेलीबेटीहरूको छाउगोठमै मृत्यु हुने गरेका कयौं समाचारहरू सुन्नपाइन्छ । सानो उमेरमै छाउगोठमा बसाउँदा उनीहरूमा मनोवैज्ञानिक समस्या उत्पन्न हुनुका साथै मानसिक असन्तुलनसम्म हुनसक्छ ।
मुख्यतः यस्तो कु–प्रथालाई उन्मूलन गर्न जनचेतनाको विकास गर्नु नै हो । प्रत्येक घरपरिवारका किशोर–किशोरीहरूबाट नै चेतनाको विकास गर्नु र उनीहरूमार्फत घरपरिवारमा अज्ञानता हटाउनुपर्छ । विभिन्न सरकारी गैरसरकारी संस्थाहरूले यसको उन्मूलनका लागि करोडौं खर्च गरे तर प्रभावकारी हुन भने सकेन् । यसका लागि यथास्थानमै गएर समानुभूतिक रूपमा अभियान चलाउनुपर्छ । यसैगरी सरकारी तहबाट निर्मित नियम कानुनहरू कडाइका साथ लागू गरिनुपर्छ । आधारभूत तहदेखि नै छाउपडी कु–प्रथाको बारेमा पाठ्यक्रममा समेटी बालबालिकादेखि नै यसको उन्मूलनका लागि शिक्षा दिन आवश्यक छ । जनचेतना र ज्ञानको विकास गर्नु रुढीवादी अन्धविश्वासको अन्त्य गर्ने पहिलो उपाय हो । यसैगरी समाजविज्ञानले स्वीकारेको अर्काे उपाय बल प्रयोगको सिद्धान्त पनि एक हो । लातको भूत बातले जाँदैन भन्ने नेपाली उखान झै यस्ता गलत कु–संस्कारलाई प्रश्रय
दिने व्यक्तिलाई ठाउँका ठाउँ कारबाही गर्नुपर्छ । चीनमा माओले १० वर्ष सांस्कृतिक आन्दोलन गरे झै नेपालमा पनि यसको खाँचो छ । यहाँ बल प्रयोग भन्नाले भौतिक कारबाही मात्रै जनाउँदैन की राज्यका दस्तावेजहरू प्रयोग गरी कडाभन्दा कडा कारबाही गर्नु हो । हामी कहाँ यस्ता कु–संस्कारीहरूलाई संरक्षण गर्न आफ्नो पराइ, यसको–उसको, मेरो–उसको भन्ने गलत संस्कृति छ । यसले यस्ता कु–प्रथाहरू झनै मौलाउन र विस्तार हुन टेवा मिल्दछ । कोही कसैले तेरो मेरो भनि संरक्षण गर्ने संस्कारबाट माथि उठ्दै जुन जहाँ जसको भए पनि कानुनी दायरामा ल्याए यस्ता कु–संस्कार र कु–संस्कृतिको अन्त्य हुने थियो कि ?

प्रकाशित मितिः   १९ श्रावण २०७४, बिहीबार १५:२६