पीडितलाई न्याय पाउनै मुस्किल
सुर्खेत, १७ साउन ।
भान्सा छोएको आरोपमा २०७३ चैत १६ गते सुर्खेतको कुनाथरीमा एक दलित बालकमाथि निर्मम कुटपिट भयो । छिमेकीले कुटपिट गरेपछि नौ वर्षीय बालक भीमबहादुर विकका आफन्तले प्रहरीमा जाहेरी दिए । प्रहरीले कुटपिट गर्ने बाटु शाहीलाई पक्राउ ग¥यो । जातीय विभेद अन्तर्गत जिल्ला अदालतमा मुद्दा पनि दायर भयो । तर केहीदिनमा नै पीडक बाटुलाई जिल्ला अदालतले सात हजार धरौटीमा छोड्न आदेश दियो ।
लेकवेशी नगरपालिकास्थित साटाखानीमा धारामा पानी छोएको आरोपमा स्थानीय टीकाकुमारी मिजारमाथि निर्घात कुटपिट भयो । गत असार तेस्रो साताको यो घटनामा जातीय विभेद गरेको भन्दै प्रहरीले स्थानीय मनकुमारी राई र उनका छोरा मनबहादुर राईलाई पक्राउ ग¥यो । पक्राउ परेका उनीहरूविरुद्ध पनि जिल्ला अदालतमा मुद्दा दर्ता भयो । तर त्यसको केहीदिनमा नै साउन १२ गते पीडकलाई जनही १५ हजार धरौटीमा छोड्न अदालतले आदेश दियो । उनीहरू प्रहरी हिरासतबाट रिहा भए ।
जाहेरी नै दर्ता नहुने र अदालतमा मुद्दा दर्ता भए पनि पीडकहरू धरौटीमा छुट्न थालेपछि पीडितहरू थप त्रसित भएका छन् । जिल्लामा पछिल्लो समय भएका जातीय छुवाछुतका घटनामा पीडकहरू धरौटीमा छुटेका छन् । कानुनी न्याय पाउने आशमा रहेका पीडितहरू भने गाउँमै असुरक्षित र त्रसित हुनुपर्ने अवस्था आएको हो । कुनाथरी र साटाखानीका दुवै घटनाका पीडकहरूलाई धरौटीमा छोडिएको छ । यद्यपि अदालतले मुद्दाको अन्तिम फैसला हुन बाँकी नै रहेको र प्रमाणमाथि अनुसन्धानको काम जारी रहेको जनाएको छ । तर, पीडकहरू धरौटीमा छुटेर गाउँमा शिर ठाडो बनाउँदै हिँड्न थालेपछि पीडितले न्याय पाउने आश मारेका छन् । जाहेरी दिनेदेखि अदालतमा मुद्दा दर्ता गराउँदासम्म अनेकौं दबाब थेग्नुपर्ने अवस्था भोग्दै आएका पीडितका लागि भने न्याय पाउनै मुस्किल भएको हो ।
अदालतबाट समयमै मुद्दाको फैसला नहुँदा धरौटीमा छुटेका पीडकहरूले उल्टै पीडितलाई मुद्दा कमजोर बनाउनका लागि विभिन्न दबाब र प्रलोभन दिन थालेका छन् । दलित अधिकारकर्मीको चर्को दबाबपछि प्रहरीले साटाखानीकी टीकाकुमारीको जाहेरी लिएको थियो । धरौटीमा छुटेपछि यो घटनाका पीडकहरूले अहिले पीडितलाई विभिन्न प्रलोभन देखाएर मिलापत्रको प्रयास गरिरहेका छन् । आफूमाथि कुटपिट गर्नेहरू धरौटीमा छुटेर गाउँमा पुगेपछि पीडित टीकाकुमारी मिजारले भनिन्, ‘म कानुनी न्याय चाहन्छु, अदालतले जे फैसला गर्छ त्यो मलाई स्वीकार छ । तर पहिले मलाई कुट्नेहरू अहिले मिलौं भनेर आउन थालेका छन्, रकम पनि सहयोग गर्छौं भनिरहेका छन् ।’ स्थानीय वडा अध्यक्षलेसमेत मिल्नका लागि आग्रह गरेको भन्दै टीकाले आफूले कुनै पनि हालतमा मिलापत्र नगर्ने बताइन् ।
पछिल्ला घटनाले जातीय विभेदका मुद्दामा पीडितले न्याय पाउन मुस्किल भइरहेको प्रमाण देखाएको दलित सेवा संघका महासचिव सञ्जुसिं विश्वकर्माले बताए । ‘जातकै आधारमा विभेद हुनु अपराध हो, अपराधीले कानुनी सजाय पाउनुपर्छ’ उनले भने, ‘तर यहाँ पीडितले न्याय पाउने अवस्था छैन, जाहेरी दर्ता गराउनै हम्मे–हम्मे हुन्छ । अदालतमा मुद्दा पुग्नै कठिन छ, पीडकहरू धरौटीमा छुटेपछि पीडितले न्याय कहिले पाउने ?’ जातीय विभेदका मुद्दामा कानुनी सजायमार्फत् न्याय दिलाउने भन्दा पनि मिलापत्रका लागि पीडितलाई चौतर्फी दबाब आउने गरेको उनको भनाइ छ । समयमा नै मुद्दाको फैसला नहुँदा पनि पीडितले थप मानसिक तनाव भोग्नु परिरहेको छ । छिन्चुमा पनि केही वर्ष पहिला धारामा पानी छोएको आरोपमा एक दलित बालकमाथि निर्मम कुटपिट भएको थियो । तर उक्त घटनामा पनि हालसम्म पीडितले न्याय पाउन सकेका छैनन् ।
कानुनी सजाय नहुँदै मुद्दाहरूको मिलापत्र हुने र पीडितले न्याय नपाउने अवस्थाका कारण जातीय विभेदका घटनाहरू बढ्दै गएको दलित अधिकारकर्मी खगीसरा वलीको भनाइ छ । पीडकलाई कानुनी सजाय भएको नजिर स्थापित नहुँदासम्म यस्ता घटनामा कमी नआउने उनले बताइन् ।
यता जिल्ला अदालतले भने अभियुक्तहरू तत्कालका लागि धरौटीमा छुटे पनि मुद्दामा बहस जारी नै रहेको जनाएको छ । अदालतका श्रेस्तेदार वीरेन्द्र मल्लले भने, ‘मुद्दाको अन्तिम फैसला हुन बाँकी छ, साक्षी तारिखमा धरौटीमा छोड्न आदेश दिइएको हो । प्रमाणहरूमा अनुसन्धान जारी छ, प्रक्रिया पूरा भएपछि अन्तिम फैसला हुन्छ ।’ पीडितहरूले भने न्यायका लागि लामो समयसम्म कुर्नु परेको गुनासो गर्दै न्याय पाउनेमा आशंका व्यक्त गरेका छन् ।
साझा बिसौनी संवाददाता ।