सार्थक सिकाइ

सिकाइ कोक्रोबाट सुरु भइ चिहानमा अन्त्य हुन्छ । सिकाइ अनवरत चलिरहन्छ यो कहिल्यै टुङ्गिदैन । शिक्षा क्षेत्रमा अहिले धेरै पढाइ कि सार्थक सिकाइ ? भन्नेमा बहस भइरहेको छ । विद्यार्थीको तह र सिक्ने क्षमताको पहिचान गरेर शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढेमा विद्यार्थीहरू आफै जान्न, सिक्न र बुझ्न तयार हुन्छन् ।

पिरियड व्यवस्थापन शिक्षक तालिम, शैक्षिक सामग्रीहरूको सुलभता तथा पूर्वाधार विकासमा जोड दिइ शिक्षकले सहज तरिकाले सार्थक र दिगो सिकाइ हासिल गर्न सक्छन् । आधुनिक शिक्षण प्राविधिलाई आत्मसात् गरी शैक्षिकस्तर सुदृढ र सम्मुनत पार्नका लागि विद्यार्थीहरूमा रहेको उत्साह, जाँगर र मेहनतशीलतामा सदैव हौसला बुलन्द गर्दै अघि बढ्ने जुनसुकै शैक्षिक संस्था भित्रका विद्यार्थीहरूमा सिकाइ राम्रो हुन्छ । भनिन्छ ‘राम्रो स्कुल, राम्रो शिक्षण र राम्रै सिकाइ ।’ विव्यस, शिक्षक, अभिभावक बीचको आपसी सम्बन्धले, समन्वयले राम्रो विद्यालय बनाउन सकिन्छ । कर्मचारीहरूबीच एकता सहयोग, सम्पर्क साथसाथै समन्वयको भावना र प्रवृति पैदा हुँदा कार्य सम्पादनमा प्रभावकारी बनाउन ‘फिल्ड भिजिड’, ‘प्रिजेन्टेसन’, कार्य सञ्चयिका अध्ययन, सिकाइ सम्बन्धी सिर्जनात्मक कार्यहरू, परियोजनात्मक कार्य, दैनिक पाठयोजना तथा शैक्षिक सामग्रीको निर्माण, श्रव्यदृश्य सामग्रीको उचित प्रयोग तथा नियमित रूपमा वैयक्तिक घटनाहरू अध्ययन गर्नुका साथै दैनिक कक्षा क्रियाकलापको अभिलेख राख्ने किसिमको शैलीहरूले विद्यालय राम्रो बन्दछ । अनुभवी तथा तालिम प्राप्त शिक्षकहरूले मात्रै बालबालिहरूको सर्वाङ्गिण विकासमा टेवा पु¥याउन सक्छन् ।
बालबालिकाहरूलाई विद्यालयको पर्खालभित्र कैदीका रूपमा राखी अध्ययन अध्यापन गरिने प्रथा कतै–कतै अझै कायमै छ । यसले गर्दा विद्यार्थीहरूमा मनोवैज्ञानिक असर पर्न जाने र शिक्षण सिकाइ प्रभावकारी नभएको कुरा सर्वविदितै छ । यही कुरालाई राम्ररी बुझेको शिक्षण संस्था मात्र परम्परागत बोझयुक्त शिक्षालाई बहिस्कार गरी बालबालिकाकोरुची तथा सामथ्र्यलाई सम्बोधान गर्दै बालमैत्री वातावरणमा नियमित रूपमा गुणस्तरीय शिक्षा दिनसक्छ । नियमित रूपमा बालबालिकाहरूको अनुगमन र मूल्यांकन गर्ने परिपाटीले बालबालिकाहरूले के सिके ? उनीहरूको क्षमता विकास भयो कि भएन ? भन्ने कुराको लेखाजोखा गर्न सकिन्छ । अझैंपनि विद्यालयमा विद्यार्थीको मूल्यांकन परीक्षाको समयमा मात्रै गर्ने विद्यालयहरूले निरन्तर विद्यार्थी मूल्यांकन प्रक्रियया प्रभावकारी बनाउन सकिरहेका छैनन् ।
विद्यार्थी आफै सिक्छ
विद्यार्थीलाई पिटेर, जबरजस्ती शिक्षित बनाउने परम्परा हामीमाझ अझैं छ । विद्यार्थीलाई पिटेर सिकाउनु अल्पकालीन समस्या समाधान हो । ऊ पिटाइखाने डरबाट ग्रसित भएर कण्ठ पार्ने बाटो रोज्छ र त्यही बाटोमा सिर्जना हुन्छन् । उसका जीवनका कठित सिकाइहरू । यहाँको शिक्षा प्रणाली पनि शिक्षकले सिकाउने र विद्यार्थीले सिक्ने रहेको छ । सिकेकालाई पुरस्कृत गर्ने र नसिकेकालाई दण्ड दिने प्रचलन विद्यमान छ । यसले कहिल्यै पनि सिक्ने बनाउन सकिदैन । विद्यार्थीलाई सिकाउने होइन सिक्ने बनाउने हो । यहाँ सिकाउन भन्दा सिक्ने बनाउने तर्फ कसैको ध्यान गएको छैन ।
शिक्षकको दबाबले भन्दा विद्यार्थीको रुची अनुसार स्वतन्त्र रूपमा सिक्ने वातावरणको सिर्जना हुनुपर्दछ । सिकाउँदा कण्ठस्थ गर्न र शिक्षकले भनेका कुरालाई जस्ताको तस्तै पढ्न लेख्न केही विद्यार्थी सफल होलान् तर त्यही शिक्षकले सिकाएका अन्य विद्यार्थीहरू सफल नहुन सक्छन् त्यसैले सिकाउने होइन कक्षाभित्रका सम्पूर्ण विद्यार्थीहरूलाई सिक्ने बनाउने हो । विद्यार्थीहरूलाई धम्की दिएर, प्रलोभन दिएर, चित्त दुखाएर खिसी गरेर कहिल्यै सिक्ने बनाउन सकिदैन यसो गर्ने शिक्षक जिन्दगीभर असफल हुन्छन् । आजको शिक्षकले अभिभावकसँग ‘तिम्रो बच्चा मलाई देउ म उसलाई तिमीले चाहेको जस्तै बनाइदिन्छु’ भन्ने होइन । आजको शिक्षकले त उसलाई ऊ स्वयम्ले चाहे जस्तो बन्न सहयोग पु¥याउँछु भन्ने हो । कुनै पनि सिकाइ अभ्यासबाट हुन्छ । अभ्यासभन्दा बाहिर गएर कुनै सिकाइ हुँदैन । विद्यातर्थीले सम्भावित गल्तीको डरले अभ्यासबाट भागिरहने चेष्ठा गरिरहेको छ किनकी उसलाई दिनहुँ शिक्षकको सजाय काटिरहनु छैन । कुनै–कुनै जेल जस्ता स्कुल, जेलर जस्ता शिक्षकहरूसँग पुगेका विद्यार्थीहरू ज्ञान प्राप्तीको दौडमा आफै सिक्ने बनेर कहिल्यै अगाडि बढ्न सक्दैनन् । पिटेर वा लोभ देखाएर विद्यार्थी कहिल्यै सुध्रिन सक्दैनन् बरु उल्टै बिग्रदै जान्छन् । उनीहरूलाई पिटेपछि झन् उग्र भावना पैदा हुन्छ । मारपिट पशु–वृत्ति पैदा हुन्छ, गाली गर्ने तर्साउने गर्नले उनीहरूलाई कहिल्यै प्रेम र सम्मान मिल्दैन र यसले गर्दा आफै सिक्ने बनेर अघि बढ्ने कोसिससम्म गर्दैनन् ।
स्वामी विवेकानन्दले भनेका छन् ‘एउटा शिक्षकको भूमिका भनेको विद्यार्थीरूपी बीउलाई उम्रिन सजिलो होस् भनि माटो खुकुलो पारिदिने, बोटबिरुवालाई बाहिरी तत्वले हानी नगरोस् भनेर बारबेर र हेरचाह गर्ने उसको स्वस्थ विकासका लागि आवश्यक माटो पानी बिरुवा आफै बढ्दछ जे–जस्तो आकार लिनुपर्ने बोटबिरुवाले आफै शिक्षकको काम सिक्नको लागि अनुकूल वातावरणको सिर्जना गरिदिने हो र आवश्य परेको ठाउँमा सघाइदिने हो ।’
दबाब होइन हौसला
विद्यार्थीलाई दबाब होइन हौसला दिनुपर्छ, दबाब दिएमा विद्यार्थीहरूमा जिद्धिपनको विकास हुनसक्छ र कुमार्गमा लाग्नसक्छन् । समस्याको सही पहिचान गरी भयमुक्त वातावरणमा सबै विद्यार्थीहरूलाई आफैं सिक्ने बनाउनु आजको आवश्यकता हो । यसको लागि विद्यार्थीलाई कुटपिट नगरी उनीहरूको मनोविज्ञान बुझेर सिक्ने बन्नतर्फ प्रेरित गर्नुपर्छ । उनीहरूलाई समय–समयमा हौसला दिँदै जानुपर्दछ । बालबालिकाहरूलाई सुधार्न र सहीमार्गमा ल्याउने एउटा अस्त्र हो हौसला । कतिपय विद्यार्थीहरू सिकाउँदा एकै पटक जान्ने, सिक्ने, गर्नसक्ने हुन्छन् र आफै सिक्ने बन्छन् तर कोही बारम्बार शिक्षकले सघाउँदा पनि हिचकिचाउने, सजिलै गर्न नसक्ने मन नलगाउने खालका हुन्छन् यस्तो अवस्थामा छलफल, प्रतिवेदन लेखन प्रस्तुतीकरण आदि जस्तो क्रियाकलापहरू भइरहेका छन् भने उनीहरूलाई हौसला दिइ जागरुक बनाउनुपर्दछ कक्षाकोठामा जान्ने विद्यार्थी र नजान्ने विद्यार्थीका बीचमा आत्मिय सम्बन्ध प्रगाढ बनाइदिने वातावरण सिर्जना गरेर नजान्ने विद्यार्थीहरूलाई सघाइदिन जान्ने विद्यार्थीहरूलाई सहयोगी भावनाका साथ अघि बढ्न हौसला दिनुपर्छ । हरेक शिक्षकले विद्यार्थीहरूलाई सक्रिय एवम् जिज्ञासु भइरहन प्रेरित गर्नुपर्छ । विद्यार्थीहरूमा उत्साह जगाउने काम गर्ने हो भने क्रमशः उनीहरूको उन्नति प्रगति हुँदै जान्छ ।
अभ्यासको निरन्तरता
हरेक व्यक्तिमा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन र विकास गराउने हाम्रो पाठ्यक्रमको पहिलो उद्देश्यको परिपूर्ति अतिरिक्त क्रियाकलाप विना सम्भव नभएकोले विद्यार्थीहरूको व्यक्तित्व विकासको यस अस्त्रलाई हरेक विद्यालयले वार्षिक कार्ययोजना अनुरूप सञ्चालन गर्नुपर्दछ । पछिल्लो चरणमा यसलाई निरन्तर मूल्यांकन पद्दतिसँग पनि जोड्दै आइरहेको छ । अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरेर विद्यार्थीहरूको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासमा टेवा पुग्छ । विद्यालयहरूमा जतिबढी क्रियाकलाप भयो उति नै बढी सिकाइ हुन्छ । हरेक विद्यार्थीहरूले अभ्यासबाट सिक्दछन् । कुनै विद्यार्थीले सोचे अनुसार गर्न सकेन आपूले आशा गरेको भन्दा कम प्रगति ग¥यो भने यसलाई सकारात्मक तरिकाले सिकाउनु पर्दछ । शिक्षकले उसलाई अभ्यास गर्दै जाउ अझै यो भन्दा राम्रो अर्को पटक गर्न सकिन्छ भनेर निरन्तर संघर्ष गर्न सिकाउनु पर्दछ । अध्ययनमा परिश्रम गर्ने विद्यार्थीहरू मात्रै जीवनमा सफल हुन्छन् । अभ्यासले उनीहरूलाई पूर्ण बनाउँछ । सम्भावित गल्तीको डरले अभ्यासबाट भागिरहेको विद्यार्थी कसरी सिक्न सक्छ ? त्यसैले उसलाई कुनै धम्की नदिइ, गाली गलौज नगरी, चित्त नदुखाइ कुनै प्रकारको खिसी नगरी अभ्यासमा तल्लिन भइरहने वातावरण बनाइ दिएमा उत्तम हुन्छ । अभ्यास भन्दा बाहिर कुनै सिकाइ भन्ने कुरा हुँदैन क्रियाकलापबाट नै विद्यार्थीले सिक्ने हो यसो भएमा सिकाइ जीवन्त र सार्थक हुन्छ ।