ओछ्यानमै तीन जनाको मृत्यु
कालिकोट, १६ साउन ।
बेलुकीको खाना खाएर परिवारका सदस्यहरू एउटै ओछ्यानमा सुते । भोलिपल्ट बिहानै उठेर घरधन्दामा जुट्ने उनीहरूको योजना थियो । सबैजना मस्त निदाएका थिए । मध्यरातमा घरदेखि माथिबाट ठूलो ढुङ्गा खस्यो । ढुङ्गाले घर नै च्यापेपछि उनीहरू भाग्नै पाएनन् । छिमेकीहरू पुग्दा तीन जनालाई मृत भेटाए । यस्तै दुई जनालाई भने बेहोस अवस्थामा उद्धार गरे ।
कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा आइतवार मध्यरातमा भएको यो घटनाले स्थानीय बासिन्दालाई स्तब्ध बनाएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित काव्रा गाउँमा घरमाथि भीरबाट खसेको ढुङ्गाले घरलाई च्याप्दा तीन जना बालबालिकाको ओछ्यानमै ज्यान गएको हो । घटनामा स्थानीय बुदे सार्कीका दुई छोरी र एक छोराको ढुङ्गाले च्यापिएर मृत्यु भएको छ । एउटै ओछ्यानमा सुतेका बुदे सार्की र उनकी श्रीमनी बेलु सार्कीलाई भने छिमेकीले घाइते अवस्थामा उद्धार गरेका छन् ।
घटनामा १० वर्षीया ललिता सार्की, आठ वर्षका लंकबहादुर सार्की र पाँच वर्षीया कल्पना सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । एउटै ओछ्यानमा सुतेका बालबालिकाको मृत्यु भए पनि अभिभावकलाई भने जीवितै उद्धार गरिएको छ । स्थानीयका अनुसार बुदे सार्की र उनकी श्रीमती बेलु सार्कीलाई जीवितै उद्धार गरिएको हो । सोही वडाका वडा अध्यक्ष रंगबहादुर सार्कीले भने, ‘परिवारका सबै जना एउटै ओछ्यानमा सुतेका रहेछन्, बच्चाहरूलाई बचाउन सकिएन । बाबुआमालाई मात्र घाइते अवस्थामा बाहिर तान्यौं, उनीहरूको पनि अवस्था गम्भीर छ ।’ बुदेको अवस्था गम्भीर भएकाले उनी बोल्न पनि सक्दैनन् ।
तर कम्मर मुनीको भाग नचल्ने अवस्थामा उद्धार गरिएकी बेलु सार्कीलाई आफ्नो शरीरको चोटले भन्दा सँगै सुतेका सबै सन्तान गुमाउँदाको पीडाले पोलेको छ । एउटै ओछ्यानमा सँगै सुतेका तीन सन्तान गुमाएपछि उनी भक्कानिएकी छन् । पीडाको घाउ थप बल्झिएको छ । बेलुले पाखेको पीडा उद्धृत गर्दै वडा अध्यक्ष रंगबहादुरले भने, ‘खाना खाएर एउटै ओछ्यानमा सुतेका थियौं, मेरो घरमा के यस्तो विपत्ति आइलाग्यो ? ओछ्यानबाटै मेरा मुटुका टुक्रा चुँडिए, निस्ठुरी दैवले हामीलाई पनि किन सँगै लगेन ?’ मृतक तीनै जना स्थानीय सरस्वती आधारभूत विद्यालयमा अध्ययरत थिए । बालबालिकाहरू घरको भित्तातिर र अभिभावक छेउतिर एउटै ओछ््यानमा सुतेका थिए । ढुङ्गाले घरको भित्तातिर बढी च्यापेका कारण बालबालिकाको मात्र ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गम्भीर घाइते भएका बुदे र बेलुलाई थप उपचारका लागि सोमवार जिल्ला अस्पतालमा भर्ना गरिएको छ । घटनामा स्थानीय अरु तीन जना पनि घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य भएकाले स्थानीय मेडिकलमा उपचार भइरहेको छ । यसैबीच उद्धारका लागि गएको नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेका छन् । भीरबाट खसेको उक्त ढुङ्गाका कारण गाउँका अरु आठ वटा घर पनि जोखिममा छन् । उक्त ढुङ्गा जुनसुकै बेलामा पनि तल खस्न सक्ने भन्दै जोखिममा रहेका परिवारलाई स्थानीय विद्यालयमा सारिएको छ । ढुङ्गाले च्यापेपछि घरमा रहेका पशु पनि मरेका छन् । यस्तै घरमा रहेको सबै अन्नपात नष्ट भएको प्रहरीले जनाएको छ ।
यता सेनाले उक्त ढुङ्गा हटाउन विष्फोट नै गर्नुपर्ने अवस्था रहेको जनाएको छ । विष्फोटका लागि माथिल्लो निकायबाट आदेश चाहिने भन्दै सेना घटनास्थलबाट सोमवार नै फिर्ता भएको छ । प्रमुख जिल्ला अधिकारी गिरीधार सुवेदीले उक्त ढुङ्गा हटाउन केही दिन लाग्ने बताए । विष्फोट नै गराउनुपर्ने अवस्था रहेकाले त्यसका लागि आफूहरूले आवश्यक प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ । ढुङ्गा नहटाउँदासम्म स्थानीयले घरमा नबस्ने अडान लिएका छन् । त्रासका कारण उनीहरू घरवार छोडेर विद्यालयको शरणमा पुगेको वडा अध्यक्ष सार्कीले जानकारी दिए । घटनापछि गाउँ नै शोकमा डुबेको छ । स्थानीयले उक्त ढुङ्गाको तत्काल व्यवस्थापन गर्न प्रशासनसँग माग गरेका छन् । भिरालो स्थानमा बस्ती भएका कारण कालिकोटका अधिकांश स्थानमा वर्षातको समयमा पहिरोले क्षति पु¥याउने गरेको छ ।
साझा बिसौनी संवाददाता ।