बुलबुलेलाई आकर्षक बनाउने उपाय

खाल्डोमा पानी जम्मा भएर बस्नु मात्र ताल बन्नु होइन, यसभित्रको पारिस्थितिक प्रणाली, खाद्यचक्र र पर्यावरण जिवित तथा सन्तुलनमा रहनु नै वास्तविक ताल हो । पहिलो पटक सुर्खेत आउने जो कोहीलाई पनि बुलबुले ताल कस्तो होला भन्ने कौतोहलता हुने गर्दछ । यो तालको नाम राखेर धेरै गीत संगीतहरू रचना भए र गाइए पनि त्यही भएर पनि होला यो तालको बारेमा अनविज्ञ सायद कोही पनि नहोलान् । म आफू स्वयम्ले पनि सुर्खेत आउनुभन्दा पहिलेबाट नै सुर्खेतको बुलबुले तालको बारेमा सुनेको थिएँ । मेरो मानसपटलमा रहेको बुलबेले ताल ठूलो, अझ तुलनात्मक रूपमा भन्नुपर्दा पोखराको फेवा तथा बेग्नास ताल जत्तिकै सुन्दर अनी रमाइलो होला भन्ने थियो । सुर्खेत आएपश्चात जब बुलबुले ताल हेर्न गएँ म आश्चर्यमा परें, यसको क्षेत्रफलर तालमा रहेको फोहोर पानी देखेर । अझ कहाली त त्यो बेला लाग्यो जब मैले तालको पानीको स्रोतमा नै मानिहरुले नुहाउने र कपडा धुने गरेको दृश्य देखें र एक पटक घोत्लिएर सोच्न बाध्य भएँ किः के यस्ता मानवजन्य कृयाकलापले (प्रदुषण) तालको स्वच्छता र गरीमा कायम गर्न मद्दत गरेको छ ? मानिसको आवश्यकता पूरा गर्ने बहानामा हामीले हाम्रा गौरव, प्राकृतिक सम्पदाहरूमा प्रतिकूल प्रभाव पार्ने गतिविधिहरू किन गरिरहेका छौं ? तालको संरक्षणमा किन यति धेरै उदसिनता ? तालको संरक्षण आज नगरेर कहिले गर्ने ? एक पटक अस्तित्व गुमाएका सम्पदाहरूलाई पुनर्जिवन गराउन कित गाह्रो हुन्छ भन्ने कुराकिन बुझेका छैनौं हामीले ?

स्रोतमा हावा मिसिएर पानीमा फोका परी (बुलबुल) गर्दै पानी बाहिर सतहमा आउने भएर बुलबुले तालनाम रहन गएको भन्ने सुन्नमा आएको यो तालमा आजभोलि अवलोकन गर्ने थोरैले मात्र त्यस्तो (बुलबुल) तरिकाबाट पानी बाहिर सतहमा आएको दृश्य देखेका होलान् । संसारमा विरलै पाइने यस्ता तालहरू पर्यटन आकर्षण तथा खोज अनुसन्धानका लागि प्रसिद्धि कमाउन सक्ने सम्भावना बोकेका सम्पदा हुन् । मानव विकास तथा सभ्यतामा योगदान पु¥याएका ताल तथा पोखरीहरू सभ्यताको चिनारी बोकी परापूर्वककालदेखि नै मानवको जीवनयापनसँग जोडिएका छन् । सहरी सुन्दरता तथा निधिको रूपमा रहेका यो ताललाई सहरीविकाससँग जोडेर योजनाबद्ध तरिकाले अगाडि बढाउन सकियो भने मात्र संरक्षण हुनेमा विश्वस्त हुन सकिन्छ । विकासको मूल धारबाट अलग राखी तथा स्पष्ट संरक्षणको खाका नबनाइ गरिने संरक्षणका पहल दिगो हुन सक्दैनन् । खोज, अनुसन्धान तथा गुरुयोजना नबनाइ गरिने संरक्षण र विकासका पहलहरू कालान्तरमा ताल तथा पोखरीलाई विकासतर्फ भन्दा पनि विनासतर्फ लग्ने कुरामा शंका नहोला । तालको सौन्धर्यतामा मन्त्रमुग्ध हुने भन्दा पनि नुहाइ–धुवाइ गर्नेको भिड लाग्ने यो बुलबुले तालको दयनीय अवस्था देखेर केही लेख्न मन लाग्यो ।
ताल संरक्षणमा सर्वप्रथम नुहाइ–धुवाइ गर्ने कार्यलाई प्रतिबन्ध लगाउनुपर्ने जरुरी छ । जब पानीको स्रोतमा नै हामीले यस्ता कार्य गरी प्रदुषित गर्छौ भने ताल कसरी सफा हुनसक्छ ? यस्ता क्रियाकलाप पश्चात् पानीमा नाइट्रोजन, पोटासियमर सोडियमको मात्रा बढ्ने हुनाले पानीमा रसायनिक मात्रा बढेर जाँदा (Eutrophication) जलचर प्राणीमा नकारात्मक असर पर्दछ । यसरी रसायनिक प्रदुषित पानीले ताल भित्र वा छेउ–छाउमा उम्रिएका झार तथा लेउलाई तीव्र गतिमा उमार्न मद्दत पु¥याइ (Algal Bloom) कालान्तरमा तालको क्षेत्रफल नै घटाइदिने र हरितगृह ग्यास उत्सर्जनमा योगदान पु¥याउने निकै ठूलो सम्भावना हुन्छ (उदाहरणको लागि राराताला र फेवाताललाई तुलनात्मक अध्ययन गर्न सकिन्छ) । जब तालमा प्रदुषित पानी मिसिन जान्छ तब तालको पारिस्थितिक पद्धतिमा ठूलो असन्तुलन देखापर्दछ । तालभित्र रहेका सुक्ष्म प्राणी (Zooplankton) र सुक्ष्म वनस्पति (Phytoplankton) हरूमा प्रतिकूल प्रभाव पर्न गइ खाद्यचक्र तथा पर्यावरणमा असन्तुलन देखापर्दछ र अन्ततः तालको जैविक विभितता नै नष्ट हुन्छ । तालमा उम्रिएका झार, लेउ तथा वरिपरिका रुख बिरुवाबाट खसेका पातपतिङ्गरहरू कुहिनको लागि पानीमा मिश्रित रूपमा रहेको थोरै अक्सिजनसमेत केही मात्रामा खपत हुने हुँदा सुक्ष्म प्राणीहरूको जीवन संकटमा परेको हुन्छ । रसायनिक प्रदुषणबाट पानी रहेको घुलित अक्सिजनमा (Dissolve oxygen) ह्रास आउने र जैविक अक्सिजन माग
(Biological oxygen demand) बढ्न जाने र तद अनुरूप अक्सिजन आपूर्ति नहुँदा तालमा रहेका सुक्ष्म जीवहरूमा प्रतिकूल प्रभाव पर्न गइ लोप हुनसक्ने सम्भावना हुन्छ र अन्ततः ताल निर्जिव पानीको कुण्डमा परिणत हन्छ । ताल बाहिरको वातावरण जति नै हराभरा बने पनि यदि तालभित्रको पर्यावरण जीवित छैन भने तालले आफ्नो अस्तित्व प्राप्त गर्न सक्दैन ।
यसको अर्थ ताललाई मानवीय हस्तक्षपबाट टाढै राख्नुपर्छ भन्ने पनि होइन । ताललाई मानिसको जिविकोपार्जन तथा दैनिक आवश्यक वस्तुको (पानी) स्रोतको रूपमा प्रयोग गर्न सक्दछौं । तालबाट पानी ल्याएर हामीले दैनिकी चलाउन सक्छौं । फोहोर पानीलाई जैविक प्रशोधन विधिद्वारा प्रशोधन गरी तालमा पठाउँदा मानिसको आवश्यकता पनि पूरा हुने तथा तालको सुन्दरता र गरिमा समेत कायम रहिरहन्छ । तालको संरक्षण तथा सम्वद्र्धनले सहरको प्राकृतिक सुन्दरता बढ्न गइ पर्यापर्यटन विकासमा महŒवपूर्ण भूमिका निर्वाह गर्दछ । सुर्खेत आउने जो कोहीलाई पनि यस तालको सुन्दरताले मोहित गराइ आन्तरिक पर्यटन प्रबद्र्धनका लागि ठूलो योगदान दिन सक्दछ । ताललाई अझ सुन्दर हराभरा बनाएर सहरका मानिसको मनोरञ्जनको गन्तव्य बनाउन सकेमा राजस्व संकलन भइ तालको सरंक्षण हुने कुरामा दुईमत नहोला । तालको केही भागमा माछापालन गर्न सकियो भने पनि जिविकोपार्जन तथा स्वरोजगारीमा मद्दत पुग्नेछ । तालको वरिपरि पर्खाल लगाइ भू–क्षय तथा भू–स्खलन रोक्न सकेमा तालको क्षेत्रफल यथास्थितिमा रहनेर वर्षायाममा खेतको पानी तालमा आउनमा नियन्त्रण गर्न सकियो भने तालको पानी सफा तथा सुन्दर देखिनुको साथै जैविक विविधता बढ्न जान्छ । ताल वरिपरि बगैंचा तथा उद्यान निर्माण गरी ताललाई हराभरा बनाइ उत्कृष्ट मनोरम तथा वनभोज स्थलको रूपमा विकास गर्दै जाने तथा तालमा जल सयर (Boating) गर्ने प्रबन्ध गरी थप मनोरञ्जन स्थलको रूपमा विकास गर्दै जान सकिन्छ । तालबाट निष्काशन हने पानीको सही सदुपयोगबाट सिँचाइ प्रणालीलाई अझ व्यवस्थित बनाउन सकिन्छ अनि मात्र कृषि व्यवसाय उच्चस्तरमा पुग्न सक्दछ । खाल्डोमा पानी जम्मा भएर बस्नु मात्र ताल बन्नु होइन, यसभित्रको पारिस्थितिक प्रणाली, खाद्य चक्र र पर्यावरण जिवित तथा सन्तुलनमा रहनु नै वास्तिवक ताल हो ।
ताल तलैयासँग पर्यावरण, चराचुरुङ्गि, कला, संस्कृति र परम्पराको अन्योन्यास्रित सम्बन्ध गासिएको छ । हामीले हाम्रा परम्परा तथा संस्कृतिलाई ताल, पोखरी तथा नदी बिना जीवन्त राख्न सक्दैनौं । हाम्रा परम्परागत रीतिरिवाज तथा संस्कृति मनाउन पनि यस्ता ताल तथा पोखरीको आवश्यकता पर्ने गरेको हामीलाई थाहा नै छ । यसरी मानवीय सभ्यता तथा मानवीय आवश्कतामा नभइ नहुने सम्पदाको संरक्षणमा सबै दत्तचित्त भएर लाग्नु नै आजको आवश्यकता हो । प्राकृतिक विपद्बाट हुने क्षतिलाई न्यून गर्न होस् वा कुनै मानवीय संकटको बेला ताल तथा पोखरीको अहम भूमिका हुन्छ । स्थानीय मौसम (जलचक्र) तथा वायुमण्डल सन्तुलनमा राख्न पनि यस्ता ताल तथा पोखरीको ठूलो योगदान हुन्छ । यस्ता ताल तथा पोखरीको दिगो संरक्षणले मात्र वातावरण सन्तुलन तथा भावी पुस्तालाई स्वच्छ वातावरणमा रमाउने अवसर प्राप्त हुन्छ । आजको हाम्रो लापरबाही तथा उदासिनताले गर्दा भविष्यका नयाँ पुस्तालाई हामीहरू प्रति गुनासो गर्ने मौका पाउनेछन् र त्यस्तो मौका नदिनुनै आजको आवश्यकता र हाम्रो भावि पुस्ता प्रतिको दायित्व र कर्तव्य हो ।