‘पढाइ बाहेक अन्यत्र ध्यान गएन’
उपेन्द्र थापा पञ्चपुरी नगरपालिका सुर्खेतका प्रमुख हुन् । विद्यार्थीकालदेखि नै राजनीतिमा प्रवेश गरेका थापा नेपाली कांग्रेस सुर्खेतका पूर्व जिल्ला कार्यबाहक सभापति समेत हुन् । बुबा मोतिसिंह थापा र आमा तुल्सी थापाको कोखबाट उनी २०२० पुस १४ गते पञ्चदेवल नगरपालिका वडा नम्बर ३ पाण्ढारमा जन्मिए । उनले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेका छन्ः
मेरो जन्म अछामको पञ्चदेवल नगरपालिका वडा नम्बर ३ पाण्ढारमा भएको हो । हामी सात भाई र दुई बहिनी छौं । म सबै भन्दा जेठो छोरा हुँ । मेरो बुबाको तीन भाई हुनुहुन्थ्यो । मेरो हजुरबुबा पञ्चायतको समयमा अध्यक्ष हुनुहुन्थ्यो । त्यतिबेला अहिले जस्तो सबैले पढ्नुपर्छ भन्ने भावाना सबैमा थिएन् । गाउँघरमा सीमित मात्रामा पढ्थे । मेरो गाउँबाट एक दुई जना मात्र पढ्थे । विद्यालय जाने धेरै साथीहरू हुन्थेनन् । विद्यालय जानका लागि साथीहरू नै पाइदैन्थ्यो । मेरो बाजे समाजसेवी भएकोले उहाँले पढाइमा ध्यान दिनु भन्नुहुन्थ्यो । मेरो दुवै अंकल शिक्षक हुनुहुन्थ्यो । बुबा खेती किसानी गर्नुहुन्थ्यो । त्यसकारण मेरो बाल्यकाल पढाइमा नै बित्यो । मैले कक्षा १ देखि ७ सम्म शारादा निमाविमा पढे । विद्यालय जान एक घण्टा हिँडेर जानुथ्र्यो । म पाँच वर्षको उमेरमा पढ्न जान थालेको हुँ । बाजेले कटुक्सको पातको मसी गराइदिनुहुन्थ्यो । राजापुरबाट कपी ल्याइदिनुहुथ्यो । वर्ष भरी कपी पु¥याउनुपथ्र्यो । हामीले त्यसबेला नेपाली कागजमा लेख्ने पढ्ने गथ्र्यौ । मैले सानोमा केही गलत काम गरिनँ । गलत काम गरेकै कारण बुबाआमाबाट सजाय भोग्नु परेन । पढाइ राम्रो थियो । कक्षामा पहिलो वा दोस्रो भइरहन्थें ।
कक्षा ७ पास गरेपछि म महेन्द्र व्यवसायिक मावि बयलपाटा अछाममा पढें । मैले त्यसै विद्यालयबाट २०३६ सालमा एसएलसी गरेको हुँ । मावि पढ्ने बेलामा विद्यालय टाढा हुने भयो । अछामको बयलपाटा पुग्न दुई दिन लाग्थ्यो । त्यसैले म मित बुबाको घरमा बसेर पढ्न थालें । बयलपाटा पढ्न जाने बेलामा घरदेखिने डाँडासम्म पुग्दा रोएर नै जान्थें । डाँडामा पुगेपछि घरतिर फर्किएर रुन्थें । तर बाजेले पढ्नुपर्छ भनेर प्रेरणा दिनुहुन्थ्यो । म मावि पढ्दै गर्दा बुबाहरू सुर्खेत बसाइँ सरेर आउनुभएको हो । म भने मित बुबाकै घरमा बसेर पढाइ पूरा गरें ।
म सानोमा सामाजिक कार्यक्रमहरूमा सहभागी हुन्थें । बाजेसँग गाउँ–गाउँमा जान्थें । गाउँघरमा हुने विभिन्न कार्यक्रमहरू, झै–झगडाहरू बाजेले मिलाउनुहुन्थ्यो । मेरो बाजे त्यहाँको प्रतिष्ठित व्यक्ति हुनुन्थ्यो । म महेन्द्र व्यवसायिक माविमा पढ्ने बेलामा धेरै कपी कलम किन्नु भने परेन् । मेरो बाजेलाई चिनेको कारणले पनि मलाई सबैले माया गर्थे । त्यहाँका व्यपारीहरूले कपी कलम खानेकुराहरू सित्तैमा दिन्थे । म सबै भाइबहिनीको जेठो सन्तान भएकोले अझ धेरै माया पाउँथे । कहिले काहीं भाइबहिनी हेर्नु पनि पथ्र्यो । घरायसी कामहरू भने धेरै गर्नुपरेन । विद्यालय बिदाको समयमा गाइभैंसीको गाइगोठालो जान्थें । बाल्यकालमा माछा त धेरै मारियो । बाल्यकालमा धेरैजसो म माछा मार्ने र चराहरू खोज्न जान्थें । चैत वैशाखमा चराहरूको गुड खोज्न जाने र वर्खामा माछा मार्न जाने गर्थें । साथीहरू जम्मा भएर घर नजिकका साना खोलाहरूमा माछा मार्न जान्थ्यौं । गाईभैंसीको गोठालो जाँदा खोलामा माछा मारेको सम्झना अझै पनि आउँछ । सानोमा खेल्न धेरै मन लाग्ने । कपर्दी र डण्डीबियो सबैभन्दा बढी खेल्न मनपथ्र्यो । विद्यालयबाट घर फर्किदा, गाईगोठालो जाँदा कपर्दी र डण्डीबियो खेल्थ्यौं ।
अछाममा मालिके चतुदर्शी जात्रा लाग्थ्यो । जात्रामा जाने धेरै मन लाग्ने । जात्रा जान र सहर जान पाएपछि म धेरै खुशी हुन्थें । चाडपर्वको बेलामा मामाको घर जान धेरै रहर लाग्थ्यो । चाडपर्व कहिले आउँला जस्तो लाग्थ्यो । पहिलेको जमान अहिलेको जस्तो थिएन् । बाटो थिएन् । सञ्चारको त्यति विकास भइसकेको थिएन् । सबैको घरघरको टेलिभिजन हुनु त कल्पनाकै कुरा हुन्थे । रेडियो भने कसै–कसैको घरमा हुन्थे । हाम्रो घरमा बाजेले रेडियो ल्याउनु भएको थियो । हाम्रो घरमा अरु मान्छेहरू रेडियो सुन्न आउने गर्थे ।
म तेह्र÷चौध वर्षको उमेरमा नेपाल विद्यार्थी संघमा आवद्ध भएको थिएँ । खुल्ला रूपमा कार्यक्रमहरू हुँदैनथे । पार्टीहरूको कार्यक्रमहरूमा जाने गथ्यौं । बाल्यकालमा यो बन्छु कहिले पनि सोचिएन । अहिलेका बालबालिकाहरू सानैमा यो बन्छु भनेर भन्छन् । पहिले त्यस्तो केही लाग्दैन्थ्यो । उमेर पढ्दै गएपछि माविमा पढ्ने बेलामा शिक्षक बन्छु भन्ने लाथ्यो । शिक्षक बनेर आफ्नै जन्मेको ठाउँमा पढाएर बस्छु भन्ने सोच्थें । अरुलाई सिकाउन बुझाउन मनपथ्र्यो । म पढ्ने बेलामा मेरो टोलबाट एक दुई जना मात्र पढ्न जान्थे । म अरु साथीहरूलाई पनि पढ्न जाउँ भनेर भन्थें । मैले एसएलसी गरेपछि बहुदल नआउने बेलासम्म शिक्षण पेशा गरें । बाल्यकालमा दुःखको अनुभव भने गर्न परेन । बाल्यकाल धेरै समय पढाइमा नै बित्यो ।
साझा बिसौनी संवाददाता ।