अर्थतन्त्र थेग्ने मुख्य आधार जडिबुटी
सुर्खेत, १५ साउन ।
गत असार पहिलो साता प्रदेश नम्बर ६ अन्तर्गतका जनप्रतिनिधिहरूले सुर्खेत घोषणापत्र जारी गरे । वीरेन्द्रनगरमा भेला भएका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले प्रदेश समृद्धिको बहस नै चलाए । यो प्रदेशमा रहेका नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखहरूको भेलाले प्रदेशको समग्र समृद्धिका लागि भन्दै उक्त घोषणापत्र जारी ग¥यो । घोषणा पत्रमा भनिएको छ, ‘प्रदेशको अर्थतन्त्र थेग्ने मेरुदण्ड नै जडिबुटी हो, प्रदेशको समग्र समृद्धिका लागि जडिबुटीलाई पहिलो प्राथमिकता दिन हामी प्रतिबद्ध छौं ।’
देशमा अहिले पनि केही प्रदेशमा सीमांकनको बहस जारी छ । सीमांकनमा सहमति नहुँदा विवाद कायमै छ । तर सीमांकनको बेलामा विवादित बनेको प्रदेश ६ मा भने यतिबेला समृद्धिको बहस उचाइमा पुगेको छ । यहाँका नवनिर्वाचित जनप्रतिनिधि मात्र होइन, राजनीतिक दल, निजी क्षेत्र र सरकारी निकायलेसमेत प्रदेशको आर्थिक समृद्धिको बारेमा आ–आफ्ना योजनाहरू सार्वजनिक गरिरहेका
छन् । वीरेन्द्रनगरमा दुई दिनसम्म बहस गरेपछि यो प्रदेशका स्थानीय तहका जनप्रतिनिधिहरूले साझा निश्कर्ष निकाले । जडिबुटीको उत्पादन र बजारीकरणमा लगानी गर्ने घोषणा पनि गरे । जडिबुटीको प्रशोधन र संकलनका लागि सामूहिक प्रयास गर्दै प्रदेशको अर्थतन्त्रलाई निर्भर बनाउन उनीहरू सहमत भए ।
यो प्रदेशमा हाल साढे सात सय प्रकारका जडिबुटी पाइन्छन् । विशेषगरी कर्णालीका जिल्लामा बहुमूल्य जडिबुटीको भण्डार नै छ । कर्णालीमा बहुमूल्य यार्सागुम्बा, जटामसी, चिराइतो, सतुवा र रातो च्याऊ उत्पादन हुने गर्दछ । प्रदेशका अन्य जिल्लाहरूमा करोडौंको टिमुर, तेजपात, काउलो, चिउरी र रिठ्ठा लगायतका जडिबुटी उत्पादन हुन्छ । तर आवश्यक प्रशोधन र संकलनको अभावमा अहिले केबल कच्चा पदार्थको रूपमा यहाँबाट सस्तो मूल्यमा विदेशतर्फ निर्यात भइरहेको छ । जडिबुटीको व्यवसायिक उत्पादन, प्रशोधन र बिक्री वितरण गर्नसकेको खण्डमा प्रदेशको समग्र अर्थतन्त्रलाई जडिबुटीले नै थेग्न सक्छ । यही सम्भावना देखेका यहाँका राजनीतिक दलले आफ्नो घोषणापत्रमा जडिबुटीलाई नै प्रदेश समृद्धिको मेरुदण्ड भनेका छन् । साथै उनीहरूले भोलिका दिनमा प्रदेश सरकारले पनि जडिबुटीलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउँदै आएका छन् ।
भौगोलिक रूपमा विकट, सामाजिक रूपमा पछौटेपन र आर्थिक रूपमा कमजोर भए पनि यो प्रदेश प्राकृतिक स्रोतमा उर्वर छ । नेपाल जडिबुटी व्यवसायी संघ सुर्खेतका महासचिव मोतिप्रसाद शर्मा भन्छन्, ‘सुर्खेतबाट मात्र वर्षेनी तीन अर्बको जडिबुटी निर्यात हुन्छ, यो केवल कच्चा पदार्थको रूपमा हो । यसलाई जिल्लामै प्रशोधन गर्नसके यसको मूल्य थप बढ्छ, उत्पादनको सम्भावना पनि उच्च छ ।’ कर्णालीका जिल्लाबाट बहुमूल्य जडिबुटी प्रशोधनको अभावमा सस्तो मूल्यमा विदेशतर्फ निर्यात भइरहेको भन्दै उनले राज्यले नै अब लगानी गर्नुपर्ने बताए । ‘आम्दानीको अरु उपाय छैन, हामीसँग भन्सार संकलन हुने नाका पनि छैन’ उनले भने, ‘यदि प्रदेशलाई समृद्ध बनाउने हो भने, जडिबुटीमै लगानी गरौं । उत्पादन र प्रशोधनमा ध्यान दिऔं, यो प्रदेशको समग्र अर्थतन्त्र जडिबुटीले नै थेग्नेछ ।’ जंगलमा अहिले खेर गइरहेको र सस्तो मूल्यमा निर्यात भइरहेको यही जडिबुटीले नै आर्थिक विकासमा टेवा पुग्ने उनको विश्वास छ ।
जडिबुटीको सम्भावनालाई मध्यनजर गर्दै सुर्खेतमा अहिले जडिबुटी संकलन केन्द्रको निर्माण कार्य चलिरहेको छ । सरकारी निजी साझेदारी अवधारणा अन्तर्गत निर्माणाधीन यो केन्द्रको लागत चार करोड रहेको छ । यस्तै वीरेन्द्रनगरमै जडिबुटी प्रशोधन केन्द्र स्थापनाको काम अगाडि बढेको छ । यसको शिलान्यास पनि भइसकेको छ । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी भन्छन्, ‘प्रदेशलाई कसरी आर्थिक रूपमा सवल बनाउने भन्ने चिन्ता होइन, अब त्यसका लागि गुरुयोजना बनाउन आवश्यक छ । हामीसँग भएका जडिबुटीबाटै अर्थतन्त्रलाई थेग्न सकिन्छ, त्यो सम्भावना हाम्रो प्रदेशमा छ ।’ जंगलमा खेर गइरहेका र सस्तो मूल्यमा निर्यात भइरहेको जडिबुटीलाई आवश्यक प्रशोधन र पुनः उत्पादनको योजना कार्यान्वयन गर्नसकेमा यो प्रदेश देशकै आर्थिक रूपमा सवल प्रदेश हुने उनको दाबी छ ।
जिल्ला वन कार्यालय सुर्खेतका अनुसार वार्षिक रूपमा सुर्खेतबाट मात्र चार करोडको टिमुर निर्यात हुने गरेको छ । यस्तै काउलो, चिउरी र तेजपात पनि निर्यात भइरहेको छ । यसलाई व्यवसायिक रूपमा अगाडि बढाउन सके रोजगारीका लागि कसैले पनि भौंतारिनुपर्ने अवस्था नआउने जिल्ला वन अधिकृत हेमराज विष्ट बताउँछन् । उनी भन्छन्, ‘हामीसँग योजना मात्र हुनुप¥यो, अभाव झेल्नुपर्ने अवस्था नै छैन । अरु प्रदेशको तुलनामा यो प्रदेशमा प्राकृतिक स्रोत बढी नै छ, यसको सदुपयोग गरे समृद्धि सम्भव हुनेछ ।’ पर्यटन र जडिबुटीबाटै भोलिका दिनमा प्रदेशले आर्थिक आय–आर्जन गर्नसक्ने पर्याप्त सम्भावना रहेको भन्दै उनले प्रदेशको अर्थतन्त्र नै जडिबुटीले थेग्नसक्ने बताए ।
साझा बिसौनी संवाददाता ।