पश्चिम सुर्खेतका समस्या र सम्भावना

सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा रहेका तीन स्थानीय तह विकासका आधारभूत पूर्वाधारहरूबाटै पछाडि छन् । चौकुने गाँउपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाँउपालिकामा सडक र बिजुलीको समस्या एक प्रमुख समस्याको रूपमा छ । यी क्षेत्रका धेरै ठाउँमा सडक पुग्नै सकेका छैनन्, पुगेका सडकमा पनि सवारी साधन चलाउन सकिने स्थिति छैन । बावियाचौरमा स्थानीय रूपमै जलविद्युत उत्पादन गरिएको भए पनि त्यो सम्पूर्ण पश्चिम सुर्खेतमा पर्याप्त छैन । प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रूपमा हेरिएको सुर्खेत जिल्लाको ठूलो भू–भाग नै विकासका मुख्य आधारहरूबाट पछाडि रहनु शोभनिय कुरा होइन । पूर्वाधारहरूको यथेष्ट प्रबन्ध गर्न नसक्नु र बनेका पूर्वाधारहरू पनि उचित रेखदेखको अभावमा सञ्चालनको लागि अयोग्य भइरहेको देखिन्छ ।


सडकः सुविधाभन्दा सास्ती
पश्चिम क्षेत्रमा प्रवेश गर्नको लागि बराहताल गाउँपालिकाको बड्डीचौरबाट भित्र प्रवेश गर्नासाथ कच्ची बाटो सुरु हुन्छ । वर्षाको समयमा ठूला साना सबै सवारीलाई सवारी सञ्चालनको लागि निकै कठिन हुने गरेको छ । सालकोटको पलैंटे थोरै मात्र बाटो कालोपत्रे गरिएको छ त्यसबाहेक सम्पूर्ण बाटो कच्ची छ । बीचमा रहेका खोलाहरूमा पुल छैनन् । वर्षाको समयमा खोलाहरूमा बाढी आयो भने कुनैबेला वर्षा रोकिएर बाढी घट्ला र खोला तर्ने होला भन्ने हुन्छ । पुल बनाउन नै तत्काल सम्भव नभए पनि अन्य विभिन्न उपाय लगाएर सडकलाई सहज बनाउन सकिन्थ्यो, त्यो पनि गरिएको छैन । गत शनिवार मात्रै स्वास्थ्य शिविरका लागि वीरेन्द्रनगरको एउटा टोली बावियाचौर पुग्दा जीप जान नसकेर वैकल्पिक उपायहरू खोज्नुप¥यो । त्यस्ता धेरै व्यक्तिहरू छन् जसले दिनहुँ जसो पश्चिम क्षेत्रमा बिजोग रहेको सडकले गर्दा सास्ती व्यहोर्नुपरेको छ । बावियाचौरमा अनौपचारिक कुराकानीको क्रममा एक स्थानीयले कुनै नेताको यो क्षेत्रका प्रतिनिधित्व नभएकै कारण विकासमा पछाडि परेको बताए । उनको भनाइलाई आधार मान्ने हो भने त्यस क्षेत्रका बासिन्दाहरू आफ्नो क्षेत्रका निर्वाचित जनप्रतिनिधिहरूले सोचेअनुरूप काम गर्न नसकेको बुझ्न सकिन्छ । त्यसक्षेत्रका स्थानीय तहमा भर्खर मात्र जनप्रतिनिधि निर्वाचित भएको हुनाले उनीहरूको काम हेर्ने बेला भइसकेको छैन । यद्यपि यस क्षेत्रका तीन मध्ये दुई स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले गरेका केही निर्णयहरू निकै विवादास्पद भएका भने छन् । तर सांसदको रूपमा यहाँका बासिन्दाहरूको मत पाएर गएका व्यक्तिले यस क्षेत्रको सडक समस्या समाधानको लागि के कति पहल गरेका थिए र छन्, त्यो पश्चिम सुर्खेतको यात्रा गरेपछि मात्र जानकारी हुन्छ ।
विद्युतः कहिले पुग्ला ?
विद्युतको लाइन विस्तार नहुनु पनि पश्चिम क्षेत्रको एउटा प्रमुख समस्याको रूपमा रहेको छ । पश्चिम क्षेत्रको बीच भागमा पर्ने बावियाचौरमा स्थानीयस्तरमै लघु जलविद्युत केन्द्रबाट जलविद्युत उत्पादन गरिने भएको भए पनि त्यो सम्पूर्ण क्षेत्रमा पर्याप्त हुँदैन । सदरमुकाम वीरेन्द्रनगरबाट पश्चिम लागेपछि भेटिने पहिलो व्यापारिक तथा शैक्षिक केन्द्र बड्डिचौरमै विद्युतको सुविधा छैन । व्यापार, कृषि र शिक्षाको रूपमा विशेष ख्याती कमाएको यस स्थानमा बिजुलीको समस्या हुँदा थप सम्भावनाहरू पूरा हुन सकिरहेका छैनन् । बावियाचौरमा रहेको लघु जलविद्युत आयोजना पनि समय–समयमा बिग्रिन्छ । त्यसभन्दा पश्चिमका भू–भागमा बिजुली पुग्ने नपुग्ने केही निश्चित छैन । विकासका आधारभूत पूर्वाधारहरूलाई आफ्नो चुनावी नारा बनाउने र चुनाव सकिसकेपछि त्यसतर्फ कसैको ध्यान नजाने गलत प्रवृत्तिकै कारण पश्चिम क्षेत्र पछाडी परेको छ । बाङ्गेसिमलदेखि बड्डिचौर जाने सडकबाट सडक छेउछाउ बिजुलीको खम्बा गाडिएको देखिन्छ । तर त्यो कहिल्यै पूरा हुने हो र यहाँका जनताले विद्युत सुविधा उपभोग गर्न पाउने हुन्, त्यो अनिश्चित छ ।
शिक्षामा नमुना, स्वास्थ्य सन्तोषजनक
शिक्षाको क्षेत्रमा भने पश्चिम सुर्खेत धेरै पछाडी छैन । बड्डिचौरमा रहेको जनज्योति माध्यमिक विद्यालय यस क्षेत्रकै नमुना विद्यालय हो । बड्डिचौरमा रहेको जनज्योतीले कृषि विषयमा उत्कृष्ट जनशक्तिहरू उत्पादन गर्दै आएको छ । यही स्थानमा कृषि क्याम्पस स्थापनाका लागि भनेर केही वर्ष अगाडि महायज्ञको आयोजना गरि रकम संकलन गरिएको थियो । त्यसैगरी विद्यापुर बहुमुखी क्याम्पसले उच्च शिक्षामा थप सहयोग गरेको छ । स्नातक तहसम्मको अध्ययन त्यही क्याम्पसमा क्षेत्रमा गर्न सकिन्छ । सुर्खेतको सबैभन्दा पश्चिममा र भौगोलिक रूपले पनि सबैभन्दा कठिन मानिएको चौकुने गाँउपालिका अन्य स्थानीय तहभन्दा पनि अझ पछाडि परेको छ । समाचारमा धेरै सुनिएको र हालसम्म काम सुरु नभएको चौकुने सिमेन्ट कारखाना, माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रभावित क्षेत्रसमेत रहेको यस स्थानमा सम्भावना धेरै भएको भए पनि सडक र बिजुलीको समस्याले अन्य पूर्वाधार र विकास निर्माणका कार्य हुन सकेका छैनन् । शिक्षा र स्वास्थ्यको दृष्टिकोणले पनि यो क्षेत्र पछाडि छ ।
त्यसैगरी बराहताल गाउँपालिकामा पर्ने साविकका तरंगा र हरिहरपुर गाविस शिक्षा र स्वास्थ्यको क्षेत्रमा निकै नै पछाडि छन् । स्वास्थ्यको दृष्टिकोणले पनि यस क्षेत्र सन्तोषजक छ । सालकोटमा ५० शैयाको अस्पताल स्थापनाको लागि केही समय अगाडि महायज्ञ लगाएरै रकम संकलन गरियो । बराहताल गाउँपालिकामा पनि स्वास्थ्य त्यति ठूलो समस्याको रूपमा छैन । यद्यपि वि.सं. २०७१ साउन ३१ गते आएको बाढीका कारण विस्थापित बनेका बराहताल गाँउपालिकाको पाग्मा, रानीघाट र पञ्चपुरी नगरपालिकाको बावियाचौरका स्थानीयहरूमा भने स्वास्थ्य सेवा प्रभावकारी रूपमा पुग्न सकेको छैन ।
अब जिम्मेवारी स्थानीय तहमा
विकासका नाममा जे जति बेथितिहरू निम्तिए, जे जति कमजोरीहरू भए, ती नमिठा विगत थिए । विकासको एजेण्डालाई चुनावी दाउपेचको विषय बनाउनेहरूले गर्दा जे जसरी पश्चिम पछाडि प¥यो, अब पर्नुहुँदैन । अब यस क्षेत्रलाई अगाडि लैजाने भूमिका यहाँका निर्वाचित जनप्रतिनिधिको हातमा छ । तीन वटा स्थानीय तहमा निर्वाचित भएका स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यले जिम्मेवार पूर्वक आफूले पाएको मतको सम्मान गर्दै विकास र समृद्धिको यात्रामा यस क्षेत्रलाई डो¥याउनु आवश्यक छ । चुनावको बेला जुन–जुन राजनैतिक एजेण्डा बोकेर आफूले चुनाव जितिएको थियो, त्यसलाई कार्यान्यवन गर्ने, यस क्षेत्रको सम्भावनाहरूलाई बुझि पश्चिम क्षेत्रलाई समृद्ध बनाउन महŒवपूर्ण भूमिका खेल्ने जिम्मेवारी स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको हातमा आइपुगेको छ ।

प्रकाशित मितिः   १६ श्रावण २०७४, सोमबार १५:४८