निर्मम बन्दै समुदाय, पशुसँगै सुताइन्छ महिलालाई

पञ्चपुरी (सुर्खेत), ११ साउन ।
छाउपडीमुक्त घोषणा गरिएका स्थानमा नै छाउ (महिनावारी) भएका महिलाप्रति समुदाय निर्मम बन्दै गएको छ । समुदायले देउता खुशी पार्ने नाममा महिनावारी हुँदा महिलालाई सार्वजनिक धारामा बन्देज लगाउनेदेखि पशुसँगै गोठमा सुताउने कठोर व्यवहार गरिरहेको छ । रजस्वलाको बेलामा समुदाय र परिवारबाट भइरहेको कठोर व्यवहारका कारण महिला तथा किशोरीहरू पीडित बनेका हुन् ।


कुनैबेला छाउपडीविरुद्ध खरो उत्रिएको समुदायमा नै अहिले महिलालाई न्यूनतम ६ दिनसम्म घरको नजिक पर्न नदिने र पशुसँगै गोठमा सुताउने गरिन्छ । छुइछाइ हुँदा देउता रिसाउने भन्दै महिनावारीको बेला महिलालाई सार्वजनिक धारामा रोक लगाउने गरिएको हो । धारामा प्रवेश गर्न प्रतिबन्ध लगाउने गरिएका कारण खोलाको पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको महिलाहरूले पीडा पोखेका छन् । छाउपडीको कु–प्रथा रहेको पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा अहिले पनि महिनावारीको बेलामा महिलाहरू सार्वजनिक धारामा प्रवेश गर्न पाउँदैनन् ।
स्थानीय अगुवाहरूले नै धाराको पानी प्रयोग गर्दा देउता रिसाउने भन्दै उनीहरूलाई नजिक पर्नै दिदैंनन् । दुई वर्ष पहिला छाउपडीमुक्त घोषणा भएको बावियाचौर निवासी रत्ना नेपालीले महिला र किशोरीका लागि समुदाय नै निर्मम बनेको बताइन् । ‘पाखा सरेको बेलामा धारामा जानै दिदैंनन्, खोला पनि नजिक छैन’ उनले आफ्नो पीडा सुनाउँदै भनिन्, ‘धारामा जाँदा देउता रिसाउँछन् भन्छन्, हामी त नजिक पनि पर्दैनौं । यस्तो बेलामा सरसफाइ बढी गर्नुपर्छ, तर धाराको नजिक जानै नपाएपछि कसरी सफा हुने ?’ आफूलाई यो प्रथा गलत लागे पनि समुदाय नै छाउपडीको पक्षमा एकजुट भएकाले धारामा पस्ने आँट नआएको उनको भनाइ छ । उनले थपिन्, ‘हामीले के पाप गरेका रहेछौं खै ? ६ दिनसम्म घरको नजिक पर्नै दिदैंनन् । धाराको पानी प्रगोग गर्न पनि पाइदैंन, अँध्यारो गोठमा सुत्नुपर्ने बाध्यता छ ।’
पञ्चपुरी नगरपालिकाकी ६५ वर्षीया नन्नकला विकले देउताकै कारण सबै पीडा सहन तयार भएको बताइन् । उनले आफ्नो घरमा पनि देउता भएकाले रजस्वला भएका महिलालाई घरको आँगनमा टेक्न नदिने गरेको सुनाइन् । उनले भनिन्, ‘छुइछाइ हुँदा मलाई पनि अशुभ हुन्छ, घरका सदस्य बिरामी हुन्छन् । हामीले पहिलेबाटै मान्दै आएको चलन हो, पाखा सरेको बेलामा घरभित्र र धाराको वरपर लसपस गर्नुहुँदैन ।’ आफूहरू पनि गोठमा सुत्दै आएको भन्दै उनले अबका छोरी बुहारीले पनि घरदेखि टाढाको छाउगोठमा सुत्नुपर्ने उल्लेख गरिन् । यसअघि छाउपडीविरुद्धको अभियानका क्रममा उनको घरमा रहेको छाउगोठ भत्काइएको थियो । तर देउता रिसाएको र अशुभ भएपछि फेरि छाउगोठ बनाएको उनले सुनाइन् ।
गाउँमा छाउगोठ बनाउन डर मानेका परिवारले भने अहिले महिनावारी हुँदा महिलालाई पशु बाँध्ने गोठमा सुताउने गरेको पाइएको छ । घरमा छाउगोठ छैन भन्ने देखाउन छाउगोठ पुनर्निमाण नगरेको भए पनि महिनावारी भएका परिवारका सदस्यलाई उनीहरूले पशु बाँध्ने गोठमा सुताउने गरेको भेटिएको छ । कतिपयले भने खुला आकाशमुनी नै सुताउने गरेका छन् । समुदाय र परिवारकै सदस्यहरू महिनावारीप्रति निर्मम भएर अहिले पनि ढुङ्गे युगको झल्को दिइरहेका छन् । गाउँका अगुवा र सबैले मान्दै आएका स्थानीय धामी र पूजारीहरूसमेत थप कठोर बन्दै गएका छन् । बावियाचौरका धामी दलबहादुर विकले भने, ‘देउतालाई रिसाउने काम गर्नु हुँदैन, छाउ भएकालाई अलग्गै गोठमा नै सुताउने हो । घरभित्र र भान्सामा त पस्नै दिदैंनौं, बरु हामीलाई हतकडी लगाए पनि राजी छौं ।’ जस्तोसुकै सजाय भोग्न तयार रहेको भन्दै उनले छाउगोठ भने हटाउन नसक्ने जिकिर गरे ।
सुर्खेतमा मात्र होइन, छिमेकी जिल्ला दैलेखमा पनि अवस्था दर्दनाक छ । जिल्लामा छाउपडीमुक्त घोषणा भएका स्थानमा हिजोआज महिलाहरू महिनावारी हुँदा गाइभैंसीसँगै गोठमा सुत्ने गरेका छन् । सरकारी तथा गैरसरकारी निकायले छाउगोठ भत्काएर महिलालाई घरभित्र लगेका थिए । तर अभियानको बेलामा घरभित्र पु¥याइएका महिलाहरूलाई पछिल्लो समय समुदायले पशुसँगै सुताउन थालेको हो । छाउगोठ बनाउन नपाएको र घरभित्र देउता रिसाउने भन्दै स्थानीयले छाउ भएकी महिलालाई पशुसँगै सुताउने गरेको बताए । दैलेख लैनचौरकी कोकिला विकले घरभित्र सुत्न नपाउने भएकाले आफूहरू महिनावारी हुँदा गाइभैंसीसँगै गोठमा सुत्ने गरेको बताइन् । देउताको नाममा समाज निर्दयी र कठोर बन्दै गएकाले आफूहरू गोठमै रहेको उनको भनाइ छ । छाउपडी उन्मूलन अभियानपछि समुदाय थप कठोर बन्दै गएको हो ।

प्रकाशित मितिः   १२ श्रावण २०७४, बिहीबार १६:१४