‘तीन वर्षभित्र उज्यालो सिम्ता निर्माण गर्नेछौं’

नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका सचिवालय समितिका सदस्य कविन्द्रकुमार केसी गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट सिम्ता गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । उनले निर्वाचित भएपछि सपथ ग्रहणकै क्रममा ‘उज्यालो सिम्ता कार्यक्रम’, ‘पहुँचमार्ग निर्माण’, ‘जनतासँग सिम्ता गाउँपालिका’ लगायतका कार्यक्रमहरू सार्वजनिक गरे । तिनै योजनाहरूलाई प्राथमिकतामा राख्दै गत असार ३० गते सिम्ता गाउँसभाले बजेट विनियोजन गर्नुका साथै नयाँ नीति तथा कार्यक्रम पनि पारित गरिसकेको छ । यसै सन्दर्भमा रहेर हामीले सिम्ता गाउँपालिकाका अध्यक्ष केसीसँग सिम्ता गाउँपालिकाको बजेटका विशेषता, आगामी योजना लगायतका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंशः

सिम्ता गाउँपालिकाले अहिले के गरिरहेको छ ?
गत वैशाख ३१ गते सम्पन्न निर्वाचनबाट हामी निर्वाचित भइसकेपछि हामीले गाउँ कार्यपालिकालाई पूर्णता दिने काम ग¥यौं । गाउँपालिकाले पूर्णता पाइसकेपछि गाउँपालिकालाई सञ्चालन गर्नका लागि केही ऐनहरू बनाउनुपर्ने थियो । हामीले त्यसका लागि गृहकार्य ग¥यौं । तत्कालका लागि आवश्यक पर्ने आर्थिक ऐन, विनियोजन ऐन लगायतका ऐनहरू गाउँसभामार्फत् पारित गरिसकेका छौं । गाउँसभा सम्पन्न गर्नुपर्ने महŒवपूर्ण जिम्मेवारी थियो । त्यो पनि गत असार ३१ गते सम्पन्न गरी गाउँपालिकाको बजेटसहित योजना तथा कार्यक्रमहरू पारित गरेका छौं । र अहिले उक्त गाउँसभाले पारित गरेको बजेटसहितको कार्यक्रमहरू कार्यान्वयन गराउनेतर्फ हामी केन्द्रित भएका छौं र त्यही अनुसारका कामहरू गाउँपालिकाले गरिरहेको अवस्था छ ।
भर्खरै गाउँसभा सम्पन्न भएकोे छ । गाउँसभाबाट पारित योजनाहरू छनौट गर्दा जनसहभागिता कस्तो रह्यो ?
गाउँपालिकाका हरेक योजना निर्माण र त्यसको कार्यान्वयनमा सकेसम्म बढी जनसहभागिता गराउनेतर्फ हामी प्रतिबद्ध छौं । स्थानीय सरकार बनेपछिको पहिलो गाउँसभाका क्रममा पनि हामीले जनसहभागितामार्फत् जनभावनाहरूको सम्बोधन हुने गरी योजना निर्माण र बजेट विनियोजन गरेका छौं । हामीले गाउँकार्यपालिकाको बैठक बसेर विभिन्न विषयगत समितिहरू गठन ग¥यौं । आर्थिक समिति, पूर्वाधार विकास समिति, सामाजिक समिति, संस्थागत विकास समिति, वन तथा वातारण समिति लगायतका समितिहरूको छुट्टा छुट्टै र सामूहिक बैठक बसी बस्तीस्तरबाट त्यहाँको आवश्यकतामा आधारित योजनाहरूको पहिचान गर्ने र त्यसको प्राथमिकीकरण निर्धारण गर्ने काम भयो । प्रत्येक वडाका वडा अध्यक्ष र सदस्यहरूको एउटा समिति नै बनाएर प्रत्येक टोलमा पुगी त्यहाँका योजनाहरू छनौट गरिएको छ । बस्तीस्तरबाट आएका योजनाहरूलाई गाउँकार्यपालिकामा छलफल गरी विषयगत रूपमा छुट्याउने काम ग¥यौं र नीति तथा कार्यक्रममा समावेश गरियो । त्यसैले जनसहभागितामा नै गाउँपालिकाले नीति तथा कार्यक्रममा र योजना निर्माण गरेको हो ।
गाउँपालिकाले आफ्नो पहिलो नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेको छ र बजेट पनि विनियोजन गरिएको छ । यो बजेटले कस्तो सिम्ताको परिकल्पना गरेको छ ?
केन्द्रले दिएको बजेट र निर्देशनलाई आधार मान्दै सिम्ता गाउँपालिकाको नीति तथा कार्यक्रमले आफ्नै मौलिक परिकल्पना गरेको छ । यहाँको आर्थिक, सामाजिक, संस्थागत तथा पूर्वाधार विकास गर्दै सुशासनयुक्त समृद्ध गाउँपालिका निर्माण गर्ने हाम्रो परिकल्पना हो । यसका लागि गाउँसभाबाट नै ‘आर्थिक, सामाजिक, संस्थागत तथा पूर्वाधार विकास, सुशासनयुक्त समृद्ध सिम्ता गाउँपालिकाको आधार’ सिम्ता गाउँपालिकाको आधार’ भन्ने परिकल्पना पारित गरेका छौं । यसकै आधारमा हामीले यसका केही लक्ष्यहरू र उद्देश्यहरू निर्धारण गरेका छौं । त्यसकै आधारमा यो नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै लैजान्छौं ।
योजना छनौटका क्रममा स्थानीय सरकारप्रति जनताका अपेक्षा कस्तो पाउनुभयो, र नागरिकले कस्ता योजनाहरूलाई प्राथमिकता दिए ?
टोलबस्ती र वडाहरूबाट आएका योजनाहरूलाई हेर्दा विशेष गरी नागरिकले पूर्वाधार विकासलाई नै प्राथमिकतामा राखेको देखिन्छ । सडक निर्माण, सिँचाई आयोजना, पुल निर्माण, खानेपानी आयोजना लगायतका योजनालाई नै नागरिकले प्राथमिकतामा राखेर माग गरेको पाइन्छ । किनभने सिम्ता क्षेत्र भौगोलिक रूपमा पनि विकट छ । त्यहाँ पूर्वाधारहरूको निर्माण पर्याप्त छैन । त्यसैले पनि पूर्वाधार निर्माण नै जनताको प्राथमिकतमा पर्नु स्वभाविक भयो । तर योजनाहरूलाई प्राथमिकीकरण गर्ने आधारहरू फरक–फरक प्रकृतिका थिए । अहिलेको कार्याविधिले आर्थिक विकास र गरिबी निवारणलाई प्राथमिकता दिनुपर्ने र त्यही अनुसारका योजनाहरू छान्नु भन्ने निर्देशन दिएको थियो । त्यसपछि उत्पादनमूलक योजना, छिटो प्रतिफल आउने खालका आयोजनाहरूलाई प्राथमिकता दिनुपर्ने, तीन वर्षसम्म प्रभाव देखिने योजनाहरू, सेवा प्रवाह, संस्थागत विकास र सुशासनलाई प्राथमिकता दिनुपर्ने कार्यविधि थियो । लैंगिक समानता, दिगो विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन लगायतलाई पनि प्राथमिकतामा राख्नुपर्ने भन्ने थियो । त्यही अनुसारका योजनालाई प्राथमिकीकरण गरेर कार्यक्रम बनाएका छौं । यसका साथै स्थानीय तहको आवश्यकतामा आधारित योजनाहरूलाई हामीले पहिलो प्राथमिकतामा राखेर छनौट गरेका छौं ।
तपाईंहरूले पहिलो प्राथमिकतामा राखेका प्रमुख योजनाहरू के–के हुन् ?
सिम्ता गाउँपालिकाको समृद्धिका लागि यहाँका गौरवका योजनाहरूको रूपमा चार वटा योजनालाई निर्धारण गरेका थियौं । म निर्वाचित भए लगत्तै पनि मैले त्यसलाई सार्वजनिक गरिसकेको थिएँ । जसमा सिम्ता गाउँपालिकालाई विद्युतीकरण गर्ने योजना अन्तर्गत ‘उज्यालो सिम्ता कार्यक्रम’ तय गरेका छौं । त्यसैगरी स्वच्छ तथा सफा खानेपानीको उपलब्धता, पहुँचमार्ग विस्तार र जनतासँग सिम्ता गाउँपालिका कार्यक्रमलाई सिम्ताको महŒवपूर्ण योजनाको रूपमा हामीले प्राथमिकीकरण गरेका छौं ।
तपाईंहरूले निर्धारण गरेको सिम्ताका यी चार गौरवको आयोजना कार्यान्वयनका लागि कस्तो योजना बनाउनुभएको छ ?
यी चार वटै आयोजना समृद्ध सिम्ता निर्माण गर्ने महŒवपूर्ण पूर्वाधार पनि हुन् । सिम्ताका अधिकांश नागरिक अहिले पनि अँध्यारोमा बस्नुपरिरहेको छ । बिजुली पुगेको छैन । त्यसैले सिम्ता उज्यालो कार्यक्रम घोषणा गरेका हौं । यसलाई पूर्वाधार निर्माण अन्तर्गत राखेर तीन करोड रूपैयाँ बजेट छुट्याएका छौं । यो पाँच वर्षीय योजना हो । यद्यपि तीन वर्षभित्र नै यो काम सम्पन्न गर्ने गरी काम अघि बढाइनेछ । पहिलो वर्षमा २० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य लिएका छौं भने त्यसपछिका दुई वर्षमा बाँकी काम सम्पन्न गर्नेछौं । अर्थात् अबको तीन वर्षभित्र सिम्तालाई उज्यालो बनाउने हाम्रो लक्ष्य छ ।
यस्तै स्वच्छ र सफा खानेपानीको उपलब्ध गराउने योजना पनि प्राथमिकतामा परेको योजना हो । अहिले पनि कयौं नागरिकले खोला र भेरी नदीको पानी पिउनुपर्ने बाध्यता छ । त्यसैले सिम्ताका सबै नागरिकले सफा र स्वच्छ खानेपानी सहज रूपमा प्राप्त गर्ने अवस्थाको सिर्जना गर्नु यो कार्यक्रमको उद्देश्य हो । यसका लागि हामीले यस वर्ष एक करोड १९ लाख रूपैयाँ बजेट छुट्याएका छौं । विषयगत कार्यालयबाट पनि खानेपानीका क्षेत्रमा काम भइरहेको छ । पाँच वर्षभित्र एक घर एक धारा पु¥याउने हाम्रो लक्ष्य छ । त्यसैगरी शिक्षा, स्वास्थ्य र कृषि लगायतका योजनाहरूलाई समेटेर जनतासँग सिम्ता गाउँपालिका कार्यक्रम तयार पारेका छौं । शिक्षा र स्वास्थ्यमा सुधार तथा कृषिमा व्यवसायिकीकरण यस कार्यक्रमको लक्ष्य हो ।
स्थानीय सरकारलाई सक्षम बनाउन स्थानीय स्रोतको पहिचान र सदुपयोग गर्नु पनि उत्तिकै जरुरी छ । यसका लागि के योजना बनाउनुभएको छ ?
आन्तरिक आम्दानीका लागि आन्तरिक राजश्वको लेखाजोखा एवम् प्रक्षपण गर्नका लागि हामीले पहल गरिरहेका छौं । सिम्ता गाउँपालिकाका त्यस्ता के स्रोत हुन सक्छन् जसबाट आन्तरिक आम्दानी गर्न सकिन्छ त्यसको पहिचान यसबाट हुनेछ । यसका साथै नयाँ एैन नबन्दासम्म स्थानीय स्वायत्त साधन एैन र नियमावलीलाई आधार मानेर आन्तरिक स्रोतहरूको पहिचान र उपयोग गर्नेछौं । त्यहाँ सम्भाव्य कुराहरू सम्पत्ति कर, मालपोत दस्तुर, सवारी कर, घरबहाल कर, प्राकृतिक स्रोतहरूको सदुपयोग लगायतका योजना हामीले बनाएका छौं । अहिलेका लागि अनुमानित १२ लाख रूपैयाँ आन्तरिक आम्दानी हुने लक्ष्य लिएका छौं ।
सिम्तामा पर्यटन विकासको सम्भावना कत्तिको रहेको छ ?
सिम्ताको विकासका लागि त्यहाँको पर्यटन विकास अनिवार्य छ । पर्यटन र सिम्ताको विकास परिपूरक नै हुनजस्तो लाग्छ । सिम्तामा पर्यटन विकासको प्रचूर सम्भावना छ । गुफाहरू, धार्मिक महŒवका क्षेत्रहरू, कला संस्कृति लगायतको संरक्षण र प्रचार गर्न सकियो भने यहाँको पर्यटन विकास भइ सिम्तालाई समृद्धि बनाउन महŒवपूर्ण भूमिका निर्वाह गर्नेछ । त्यसैले पर्यटन विकास पनि सिम्ताको योजनामा समावेश भएको क्षेत्र हो ।
गरिबी निवारण र रोजगारी सिर्जनाका लागि पनि कुनै योजना बनाउनुभएको छ ?
यसका लागि आर्थिक विकास महŒवपूर्ण छ । आर्थिक विकास गर्न सकियो भने गरिबी निवारणका साथै रोजगारीको सिर्जना हुन्छ । गाउँपालिकाले बेरोजगारहरू सबैलाई रोजगारी दिन सक्दैन तर रोजगारीका अवसरहरू सिर्जना गर्न भने सक्छ । त्यसैले रोजगारीका अवसरहरू सिर्जना गर्ने योजना हामीले बनाएको छौं । लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने, सीपमूलक तालिमहरू दिने योजना छ । यसले रोजगारीका अवसर सिर्जना गर्दछ । बेरोजगारहरूलाई सीप सिकाउन सकियो भने उनीहरूले नै अरुलाई रोजगारीका अवसर सिर्जना गरिदिन सक्दछन् ।
अबको ६ महिना वा एक वर्षभित्र सिम्ताका नागरिकले स्थानीय सरकारको अनुभूत गर्नेगरी के काम गर्न सक्नुहुन्छ ?
पहिलो तीन महिनामा हामी नीतिगत कामहरू गर्छौं । सिम्ता गाउँपालिकाको प्रोफाइल बनाउने काम पनि यो अवधिमा गर्नेछौं । त्यसैगरी आन्तरिक राजश्वको लेखाजोखा र प्रक्षेपण पनि गरिनेछ । पाँच वर्षीय आवधिक योजना पनि निर्माण गर्छौं । यसका साथै सिम्ताको समग्र विकासका लागि दीर्घकालीन गुरुयोजना निर्माण गर्नेछौं भने बजेटमो तोकिए अनुसारका कामहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै लैजानेछौं । यसले जनतालाई स्थानीय सरकारको अनुभूति गराउन पर्याप्त सघाउ पु¥याउँछ भन्ने मलाई लाग्छ ।
अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?
सिम्ता गाउँपालिकालाई समृद्ध बनाउनका लागि गाउँकार्यपालिका सधैं प्रतिबद्ध छ । यहाँका नागरिक, राजनीतिक दल लगायत सबै पक्ष एकाकार भएर लाग्ने हो भने सिम्तालाई हामीले चाहेजस्तै समुन्नत बनाउन सक्दछौं । जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुनुपर्दछ भने नागरिकहरू पनि सचेत र सजग हुनुपर्दछ । जसको लागि बजेट आएको हो उनीहरू आफै सजग भएर चासो राख्नु जरुरी छ । यसले गर्दा बजेटको सदुपयोग हुन्छ । अन्त्यमा समृद्ध सिम्ता र सुखी सिम्ता निर्माणको यो अभियानमा सबै एकाकार भएर लाग्नका निम्ति म अनुरोध गर्दछु ।

प्रकाशित मितिः   १२ श्रावण २०७४, बिहीबार १६:१२