ओली, एमाले र आलोचना
नेपाली राजनीतिको रणमैदानमा समयक्रमसँगै राजनैतिक शक्ति र राजनेताहरू प्रमुख भूमिकामा आएका छन् । राणाकाल विशेषत जंगबहादुरका वरिपरि घुम्यो । पञ्चयात राजा महेन्द्रको मुख्य ईसारामा चल्यो । बहुदलीय प्रजातन्त्र मुलतः गिरीजा र कोइराला परिवारमा केन्द्रित थियो । पछिल्लो संकटकाल र जनयुद्ध शेरबहादुर र प्रचण्डको सेरोफेरोमा चल्यो । मदन भण्डारीले देश हाक्ने मौका पाएनन् । गणतन्त्र पश्चात् पनि गिरीजा र प्रचण्डकै वरिपरि मुलुकको मूल राजनीति घुम्यो ।
तीन वर्ष यता एमालेको नेतृत्व केपी ओलीले समालेपछि चर्चा र आलोचना ओलीतर्फ केद्रित भए । ओलीलाई मियो बनाएर मुलुकको राजनीति घुमे जस्तो देखिन्छ । समाचार , सामाजिक सञ्जाल, कार्टुन र गीतको बजारमा समेत ओलीको अत्यधिक प्रयोग भएको छ । ओलीको प्रशंसा र आलोचनाको ओइरो लागेको छ । ओलीमा देखिएको विलक्षण प्रतिभा, धर्म संस्कार र विभिन्न उदारहणलाई राजनैतिक भाषणमा जोड्ने कला अन्य नेतामा देखिदैंन । एमाले भित्रभित्रै दुई पार्टी जस्ता दरारमा विभक्त भए पनि नीति, अडान र नारामा एक ढिक्का भइ उभियो । ओलीका उखानहरू बलिया दस्ताबेज बन्दै गए तर पनि ओलीप्रति हावादारी नेता र हाँस्य कलाकारको रूपमा तिखो आलोलना आरम्भ भयो । ओली र एमालेका त्रुटीहरू शुक्ष्म दर्शक यन्त्रले खोज्न थालियो । ओलीका वाणरूपी कटाक्षको जवाफ दिन कसैले सकेनन् । नेपालको राजनीति आफ्नो रैति ठान्ने भारत र बखेडा झिक्दै नेता बनेका भारतीय मूलका मधेशी समेतको सातो ओलीले खाए । नगन्य भुलचुकहरूलाई हतियार बनाएर एमालेको शिर छेदनका प्रयासहरू गरिए ।
तर्क र वैचारिक राजनीतिमा हारेर अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीचको सम्बन्धलाई अपवित्र सम्बन्धको संज्ञा दिदैं दुष्प्रचार गरिए । मदन भण्डारीको हत्यामा समेत एमालेको संग्लनता भएको संगीन आरोप लगाइए । माधव नेपालले तत्कालीन शासन व्यवस्था बमोजिम राजा भेटेको र कानुन बमोजिम प्रधानमन्त्री बनाउन गरेको आग्रहलाई अतिरंजित गर्दै एमालेलाई राजावादी बनाउने प्रयास गरियो । कोशी, गण्डकी र सुगौली सन्धी गरेर नेपाल बेचेको आरोप कांगेसलाई र महाकाली बेचेको आरोप एमालेलाई लाग्न थाल्यो ।
यी तमाम आचोचनाको वस्तुनिष्ठ विश्लेषण एमालेले पनि गरेन । एमालेको बहुदलीय जनवादलाई संशोधनवाद भन्दै कुर्लिनेहरू पनि यही मार्गका आए । २०४७ सालको संविधानको ‘कमा’ बदल्न नचाहनेहरूले पनि एमालेको २७ बुँदे आलोचनालाई अंगीकार गरे । एमालेलाई ‘न भाले न पोथी’ भन्नेहरूको मुखमा घाँसको बुजो लाग्यो । कसैले ल्याउन नसकेको नीति तथा कार्यक्रम एमालेले ल्यायो । भारतको नाकाबन्दी र चरम दमनका बीच ओली सरकारले राष्ट्रियताको पक्षमा अडान कायम राख्यो । ओलीको असाधारण प्रतिभा र भाषण कलाको विरोध गर्नेहरू नै ओलीको भाषण नसुनी नसुत्ने भए । ग्यास पाइप, हावाबाट बिजुली जस्ता ओलीले देखाएका सपनाहरूलाई हाँसोमा उडाइयो । चौतर्फी घेराबन्दीकाबीचबाट पनि ओली नेतृत्वको एमाले सफल बन्दै गयो । सामान्य झोकमा मैमत्त भएका देउवा प्रचण्डहरू प्रधानन्यायाधीशको शरीरमा जाइ लागे तर एमालेको अडानमा फर्केर आउन विवश भए । प्रदेशको पुनसीमांकन गरेका कांग्रेस माओवादीहरूले एमालेकै अडान बमोजिम निर्वाचनमा होमिनु प¥यो ।
यसरी हेर्दा ओली अजम्बरी, दूरदर्शी र चट्टानी अडान भएका नेताका रूपमा उदाए । एमाले वैचारिक रूपमा झन् सशक्त र प्रभावशाली पार्टी बन्दै गयो । ओलीका अकाट्य तर्क र योजना सामु सबैले घुँडा टेके । चीनसँगको पारवहन सम्झौता ऐतिहासिक मात्र होइन भावी पुस्ताको सफल मार्गसमेत बन्यो । तै पनि ओली र एमाले माथि आरोपका असिनाहरू वर्षी रहे । एमाले मुक्त नेपाल बनाउन उफ्रेका एक हुल कांग्रेस र माओवादी गठबन्धनका कार्यकर्ताहरू स्थानीय चुनावमा आफै कुहिरोका काग भए । सत्ताशक्तिको दुरूपयोग गरेर पनि देश भर निर्वाचनमा उत्तानो परेका पार्टीहरू एमालेको लोकप्रियता र राम्रो कामको प्रशंसा गर्न असक्षम छन् । एमालेले चालेका सबै कदमहरू सतप्रतिशत असल नहोलान् तर तुलनात्मक रूपमा राम्रा अवश्य छन् । एमाले फोविया भएका केही मान्छेहरू एमालेको राम्रो विचारलाईसमेत रतन्धो ग्रस्त आँखाले हेरेर अनौठो टिप्पणी गर्दछन् । ओलीको स्पष्ट विचार एमालेको तत्कालीन कार्यनीति, पार्टी निर्णय, सामूहिक नेतृत्वको अभ्यास र एकता एमालेका आधारभूत गहना हुन् । आज मुलुलले भोगेका तमाम समस्याको निकाकरण गर्नु एमालेको मुख्य उद्देश्य बन्नुपर्दछ ।
यति हुँदाहुँदै पनि एमाले अझै आम जनताको प्रिय बन्न सकिराखेको छैन । अवसरवादी, अराजक प्रवृत्ति भएका नेता कार्यकर्ता एमालेभित्र पनि छन् । गुटबन्दीको चरम पीडा एमालेमा पनि छ । अर्कालाई भुसुना र आफूलाई हात्ती सम्झिने कार्यकर्ताबाट पनि सावधान बन्नुछ । यो लोकप्रियताको उचित कदर नगरेपछि एमाले सधैं पहिलो शक्ति कदापि हँुदैन । जीतको उन्माद र हारको उत्पात एमालेबाट नहोस् । अन्यथा जनताले चाहे भने आगामी निर्वाचनमा एमालेलाई पनि जनताले सजाय दिनेछन् । ओलीले देखेका सपना पूरा गर्नु सबै कार्यकर्ताको दायित्व हो । एमालेलाई लागेका लाञ्छनाको स्पष्ट उत्तर दिन उदाहरणीय कामको आवश्यकता छ । यतिबेला युवाहरूले एमालेबाट धेरै आश गरेका छन् । ओली र एमालेको अडानमा विचलन आउनु हुँदैन । विकासको नयाँ खाकासहित एमाले प्रस्तुत हुन जरुरी छ । एमालेको जनमुखी शासन जनताले भुलेका छैनन् । एमाले स्पष्ट बहुमत नपाइ सत्तामा जानु उचित होइन । एमालेको पछिल्लो कार्यदिशा अडान र ओलीको अद्भूत नेतृत्व माथि सबैको आँखा लागेको छ । मूलत जनताको बीचमा अभूतपूर्व रूपमा लोकप्रिय बन्दै गएको एमालेले आफ्नो हैसियत गुम्ने अदूरदर्शी निर्णय नगरोस् ।
(लेखक प्रेस चौतारी नेपाल कालिकोटका पूर्व अध्यक्ष हुन् ।)
साझा बिसौनी ।