अझै खुलेन कर्णाली राजमार्ग

पहिरो हटाउने कार्य सुस्त, यात्रु बाटोमै अलपत्र

सुर्खेत, १० साउन ।
पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग खुल्न सकेको छैन । पहिरोका कारण आइतवार रातीबाट ठप्प भएको यो राजमार्गमा पहिरो हटाउने कार्य सुस्त छ । जसका कारण सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने यात्रु बाटोमै अलपत्र परेका छन् ।
कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको एसमोडदेखि दहीखोलामसम्म डेढ दर्जन बढी ठाउँमा पहिरो गएको छ । तर पहिरो पन्छाउने कार्य सुस्त गतिमा चलेको छ । कालिकोटको कालिका गाउँपालिका वडा नम्बर १ देखि दैलेखको दहीखोलासम्म करिब १८ ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । दैनिक दर्जनौं गाडीहरू आहोरदोहोर गर्दै यात्रुहरूले यात्रा गर्ने भए पनि पहिरो हटाउने कार्य सुस्त गतिमा चलेका कारण अझै दुई÷तीन दिनसम्म राजमार्ग खुल्न नसक्ने देखिएको छ ।
राजमार्गमा हाल सडक डिभिजन कार्यालय कालिकोटका दुईवटा स्काभेटरले पहिरो पन्छाउने कार्य गरिरहेका छन् । बीचमा नयाँ ट्रयाक नै खोल्नुपर्ने र ठूलो पहिरो गएका कारण अझै केही दिनसम्म पहिरो पन्छाउन नसक्ने देखिएको प्रहरीले जनाएको छ । पहिरो ठूलो भएका कारण जुम्लाबाट ठूलो स्काभेटर पठाउने भनिए पनि मंगलवार साँझसम्म पुग्न सकेको छैन । जिल्ला प्रशासन कार्यालय कालिकोटका अनुसार पाँच किलोमिटर सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । एसमोड र घट्टेखोलाबीचमा रहेको गोगने खोलामा १० मिटर बढी पूरै सडकखण्ड खसेका कारण नयाँ ट्रयाक नै खोल्नुपर्ने प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले बताए ।
उनका अनुसार साना दुईवटा स्काभेटरले मंगलवारसम्म केही ठाउँमा मोटरसाइलसम्म छिर्नसक्ने पहिरो पन्छाए पनि करिब ८० प्रतिशत भन्दा बढी पहिरो पन्छाउन बाँकी नै रहेको छ । निरन्तर वर्षात भइरहेकोले पहिरो पन्छाएको ठाउँमा पुनः ढुङ्गा माटो खस्ने क्रम जारी रहेका कारण समस्या देखिएको छ । ‘स्काभेटरले पहिरो पन्छाउँदै गएको छ, तर निरन्तर वर्षातले पुनः माटो खस्न थालेपछि समस्या उत्पन्न भएको छ’ उनले भने । घट्टेखोला र दहीखोलामा गएको पहिरो सानो स्काभेटरले पन्छाउन सम्भावना नभएको पहिरो पन्छाउने कार्यमा संलग्न प्रहरीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । सुर्खेत र जुम्लादेखि ठूला स्काभेटर अझैसम्म पुगेका छैनन् । जसका कारण राजमार्ग अवरुद्ध भएपछि सयौं यात्रुहरू बाटैमा अलपत्र परेका छन् ।
जुम्ला तथा कालिकोटबाट सुर्खेत हुँदै नेपालगन्ज जाने यात्रुहरू कालिकोटको हुल्मदेखि दहीखोलासम्म करिब १० किलोमिटर बढी हिँडेर पुग्ने र अर्को गाडी साटफेर गरी चढ्ने गरेका छन् । बाटो पन्छाउने काममा ढिलाइ गरेका कारण यात्रुहरूलाई समस्या परेको काठमाडौंदेखि जुम्ला जाँदै गरेका जुम्लाका मयलाल देवकोटाले बताए । पहिरो पन्छाउने कार्यमा यात्रुहरूले सहयोग गरिरहे पनि सरोकारवाला निकायबाट हालसम्म तीव्र गतिमा काम नभएको उनले गुनासो पोखे । बाटो अवरुद्ध हुँदा आफूहरूलाई खान र बस्नको लागि समस्या भएको सुर्खेतदेखि मगुका लागि हिँडेका यात्रु रणवीर कुँवरले बताए । उनले राजमार्गका लागि अर्बाैं रकम खर्च गरे पनि यात्रुहरू ढुक्कसँग हिँड्न नसक्ने नभएको भन्दै आक्रोश पोखेका छन् । सुर्खेतदेखि दुई दिनको यात्रा तय गरेर सवारी चढे पनि पहिरोका कारण एकहप्ता लाग्ने देखिएको उनको भनाइ छ ।
वि.सं. २०६३ सालमा ट्रयाक खुलेको कर्णाली राजमार्गको स्तरोन्नतिमा ध्यान पु¥याउन नसक्दा प्रत्येक वर्ष कर्णालीबासीले सास्ती भोग्नु परेको छ । राजमार्ग सञ्चालनमा आएदेखि हवाई यातायात सञ्चालनमा कमी आएको छ । तर वर्षातमा हवाई पनि नचल्ने र पहिरोका कारण सडक यात्रा जोखिमले कर्णालीबासीले दुःख खेप्नु परेको हो । एकतर्फको राजमार्गको ट्रयाक खुलेपछि त्यसको एक पटकको सामान्य कालोपत्रे बाहेक अन्य स्तरउन्नति हुन सकेको छैन । बाटोमा रहेका ढुङ्गाहरू पन्छाउन नसक्दा वर्षेनी पहिरोका कारण दर्जनौं यात्रुहरूले ज्यान समेत गुमाउनु परेको छ ।
कर्णालीबासीले राजधानी जाने बाटोमा सामान्य पहिरो आउँदा समेत सरकारको ध्यान पुग्ने तर कर्णाली राजमार्गमा पहिरो जाँदा यात्रुहरूको हालत समेत नबुझ्ने भन्दै आक्रोश पोखेका छन् । यस्तै बाटोमा अधिकांश पहिरो आउने खोलामा पुल निर्माण नहुँदा समान्य रूपमा बनाएको बाटो पहिरोका कारण बिग्रने र राजमार्ग अवरुद्ध हुने गरेको छ ।

प्रकाशित मितिः   ११ श्रावण २०७४, बुधबार १५:४४