अभियानको नेतृत्वकर्ता नै छाउगोठमा सुत्न थाले
पञ्चपुरी (सुर्खेत), ९ साउन ।
छाउपडीविरुद्धको अभियानमा डटेर लागेका अभियन्ताहरू नै आफै छाउगोठमा फर्किएका छन् । छाउप्रथालाई कु–संस्कार भन्दै गाउँमा छाउगोठ भत्काउने अभियानको नेतृत्व गरेका महिला र किशोरीहरू नै अहिले महिनावारीको बेलामा छाउगोठमा सुत्न थालेका छन् । छाउपडीको विरोध गर्दै आएका उनीहरू परिवार र समाजको दबाब थेग्न नसकेपछि छाउगोठमा फिर्ता भएका हुन् ।
छाउगोठमै महिलाको मृत्यु हुन थालेपछि गाउँका महिला सञ्जाल, आमा समूह, किशोर–किशोरी, युवा र बालक्लबहरू छाउपडीविरुद्ध खरो उत्रिए । दुई वर्ष अघिसम्म सुर्खेतमा सञ्चालन भएको छाउपडी उन्मूलन अभियानको नेतृत्व नै उनीहरूले गरे । छाउगोठमा सुत्दा पीडा भोगेका यहाँका महिला र किशोरीहरूले नै गाउँमा रहेका सयौं छाउगोठ भत्काए । छाउप्रथा गलत भएको र छाउगोठ ज्यानमारा भन्दै उनीहरूले टोल–टोलसम्म विभिन्न चेतनामूलक अभियान पनि सञ्चालन गरे । तर, अभियानको नेतृत्वकर्ता उनै महिला र किशोरीहरू हिजोआज आफै महिनावारी हुँदा घरदेखि टाढा रहेको छाउगोठमा सुत्ने गरेका छन् ।
छाउपडीविरोधी अभियानमा सक्रिय भएर लागेकी पञ्चपुरी नगरपालिकास्थित बावियाचौर निवासी उमकला विक हिजोआज आफै छाउगोठ फर्किएकी छन् । अभियानको बेलामा गाउँका दर्जनौं छाउगोठ भत्काउन नेतृत्व गरेकी उनी परिवार र समाजको दबाब थेग्न नसकेपछि छाउगोठमा सुत्न थालेकी हुन् । ‘अभियानको बेला सबै एकजुट थिए, प्रहरीले पनि साथ दिन्थे’ उनी भन्छिन्, ‘त्यसबेला गाउँका सबै चुप भए, हामीले घरघरमा पुगेर छाउगोठ भत्कायौं । अहिले अभियान हरायो, हामीले एक्लै प्रतिवाद गर्नसक्ने अवस्था छैन ।’ धार्मिक अन्धविश्वासका कारण गाउँलेले घरघरमा फेरि छाउगोठ बनाउन थालेको उनले बताइन् । छाउ नबार्दा अनर्थ भएको भन्दै दबाब दिएपछि अहिले आफू पनि महिनावारी हुँदा छाउगोठमा सुत्ने गरेको उनको भनाइ छ ।
उमकला मात्र होइन, जिल्लामा छाउपडी उन्मूलन अभियानको नेतृत्व गरेका अभियन्ताहरू अहिले आफै छाउगोठमा सुत्न बाध्य छन् । अभियान कमजोर भएको र छाउ बार्ने पक्षधर बलियो हुँदै गएपछि अभियन्ताहरू नै छाउगोठमा सुत्नुपर्ने अवस्था आएको हो । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने बावियाचौर, तातापानी, विद्यापुर, गुटु, घाटगाउँ र बेतानमा अभियान सञ्चालन हुँदा महिला र किशोरीहरू नै अभियानको मुख्य नेतृत्वकर्ता
थिए । हिजोआज उनीहरू आफै छाउगोठमा फर्किएपछि स्थानीय धामीझाँक्रीको मनोबल थप बढेको छ । अभियानको बेलामा छाउगोठ भत्काउन सहमति दिने धामी र पूजारीहरू यतिबेला देउताका लागि पनि छाउ बार्न दबाब दिइरहेका छन् । पञ्चपुरी नगरपालिका–६ निवासी किशोरी अमृता कँडेलले भनिन्, ‘छाउगोठमा
ज्यानको बाजी लगाएर सुत्नुपरेको छ, देउताको नाममा कहिलेसम्म हामीले पीडा भोग्ने ? यो गलत कुप्रथा हटाउनै पर्छ, त्यसका लागि ठूलो बल आवश्यक छ ।’
स्थानीय युवा सञ्जालका अध्यक्ष अमर कार्कीले धार्मिक अन्धविश्वासले जरा गाढेका कारण छाउपडीविरुद्धका अभियन्ता नै छाउगोठमा फिर्ता भएको बताए । उनका अनुसार अभियान सुस्ताएसँगै गाउँमा अभियन्ताहरू नै छाउगोठमा सुत्न थालेका छन् । उनले भने, ‘हिजो छाउगोठ भत्काउन नेतृत्व गरे, गाउँलेलाई पनि घरभित्रै सुत्नुपर्छ भन्दै सिकाए । अहिले उनै किशोरी र महिलाहरू आफू महिनावारी हुँदा छाउगोठमा सुत्छन्, अभियन्ता नै छाउगोठमा सुत्न थालेपछि गाउँमा भत्काइएका छाउगोठ पुनः धमाधम बन्नथाले ।’ अब सरकार कडा रूपमा प्रस्तुत नभएसम्म यो कु–प्रथा अन्त्य गर्न मुस्किल हुने उनको भनाइ छ । चेतनासँगै अब कानुनी कारबाहीको पनि व्यवस्था भए मात्र छाउपडी हटाउन सम्भव हुने उनले उल्लेख गरे । प्रदेश नम्बर ६ र ७ का अधिकांश जिल्लाहरूमा अहिले पनि रजस्वला भएका महिला तथा किशोरीहरूलाई छाउगोठमा सुताउने गरिन्छ । महिनावारीको समयको महिलालाई घरभित्र सुत्न नदिँदा महिलाहरू पीडित बनेका छन् । यो कु–प्रथा अन्त्यका लागि विभिन्न गैरसरकारी संस्थाहरूले बेला–बेलामा अभियानहरू पनि सञ्चालन गर्दै आएका छन् । तर दाताको भरमा सञ्चालन हुने ती अभियानहरू दीर्घकालीन नहुँदा अभियन्ता स्वयम् छाउगोठमा सुत्न थालेका छन् । दाताले रकम उपलब्ध गराउन छोडेको भन्दै गैरसरकारी संस्थाहरू अभियान छोडेर गाउँबाट फिर्ता भएका छन् । यो सँगै गाउँका अभियानको नेतृत्व गरेकाहरू पनि छाउगोठमा फर्किएका हुन् । अभियानको नेतृत्व गर्नेहरू नै छाउगोठमा सुत्न बाध्य भएपछि छाउप्रथा उन्मूलनमा थप चुनौती देखिएको छ । छाउपडीमुक्त घोषणा गर्नेक्रममा यस क्षेत्रमा पहिला भत्काइएका करिब २० प्रतिशत छाउगोठहरू हालसम्म निर्माण भइसकेका छन् ।
साझा बिसौनी संवाददाता ।