माथिल्लो गाउँले दिनेभयो तल्लो गाउँलाई बाढीको पूर्व सूचना

सुर्खेत, ८ साउन ।
माथिल्लो तटमा लगातार वर्षा भयो । पानीको बहाव बढेसँगै खोलामा ठूलो बाढी आयो । खोलाको तल्लो तटमा रहेका बस्तीमा भने मानिसहरू मस्त निद्रामा थिए । एकाएक बाढी आएपछि धेरैको सम्पत्ति बगेर गयो । अधिकांशले भागेर बल्लतल्ल आफ्नो ज्यान जोगाए । बाढीको पूर्व जानकारी नपाउँदा शरीरमा रहेको एकजोर कपडा बाहेक उनीहरूले अन्य सामान जोगाउन पाएनन् ।


तीन वर्ष पहिला सुर्खेतको भेरीगंगा नगरपालिकास्थित छिन्चु खोलामा आएको बाढीले ठूलो नोक्सान पुर्‍यायो । वर्षातका कारण खोलामा बाढी आएको जानकारी माथिल्लो तटका बासिन्दालाई थियो । तर उनीहरूले तल्लो तटमा रहेको बस्तीलाई बाढीको पूर्व सूचना दिएनन् । त्यसकारण तल्लो तटमा रहेका बस्तीमा नोक्सान पुग्यो । यही घटनापछि सचेत बनेका स्थानीयले अबदेखि खोलामा बाढी आउँदा पूर्व सूचना आदान–प्रदान गर्ने भएका छन् । खोलाको माथिल्लो तट र तल्लो तटमा रहेका बस्तीका बासिन्दाबीच अब वर्षा हुँदा माथिल्लो गाउँले तल्लो गाउँलाई बाढीको पूर्व सूचना र चेतावनी दिने सहमति भएको हो ।
छिन्चु खोलाको माथिल्लो तटमा रहेको कालिदमारमा स्वचालित मौसमी केन्द्र स्थापना गरिएको छ । यो केन्द्रले वर्षाको मात्रा, तापक्रम र हावाको गतिबारे तत्काल जानकारी दिनेछ । यो प्रणालीको सूचना अनुसार वर्षातको बेलामा खोलामा बाढीको खतराबारे पूर्वानुमान गर्न सकिनेछ । यही सूचना र बाढीको खतराबारे कालिदमारका बासिन्दाले खोलाको तल्लो क्षेत्रमा रहेका बासिन्दालाई तत्काल खबर गर्नेछन् । बाढीको बारेमा पूर्व जानकारी आदान–प्रदान गर्नका लागि तल्लो तट र माथिल्लो तटका बासिन्दाबीच शनिवार सहमति भएको हो । यसका लागि उनीहरूले टेलिफोन नम्बरसमेत आदान–प्रदान गरेका छन् । सहमति अनुसार अब खोलामा पानीको बहाव बढेमा र बाढी आउनुभन्दा पहिले नै माथिल्लो गाउँले तल्लो गाउँलाई टेलिफोनमार्फत् तत्काल सूचना दिनेछ ।
खोलाको तल्लो तटमा सत्तरी, शनिमोर र लेखपराजुलमा बस्ती छन् । माथिल्लो गाउँले बाढीको सूचना दिने बित्तिकै तल्लो गाउँमा खतराको साइरन बजाइने छ । यसका लागि ती गाउँमा साइरन, माइक र टर्चको व्यवस्था गरिएको छ । तल्लो तटमा बस्दै आएकी अरुणा बुढाले भनिन्, ‘हाम्रो ज्यान अब माथिल्लो गाउँलेको हातमा छ, माथि त पहिला नै बाढी आउँछ । तत्काल तल्लो गाउँलाई पनि खबर गरिदिनुहोला, बाढी तल पुग्ने बेलासम्म हामी सुरक्षित स्थानमा जान सक्छौं ।’ अरुणाको यो आग्रहलाई माथिल्लो गाउँका बासिन्दाले स्वीकार गर्दै तल्लो गाउँको क्षति न्यूनीकरण गर्न तयार रहेको प्रतिबद्धता जनाए । साथै उनीहरूले पूर्व जानकारी नहुँदा पहिला तल्लो गाउँले क्षति बेहोरेकाले अब आफूहरूले पूर्व सूचना दिने बताए ।


विपद् न्यूनीकरणका लागि भन्दै सुन्दर नेपाल संस्थाले अनुकूलन परियोजना अन्तर्गत साढे पाँच लाखमा मौसमी केन्द्र स्थापना गरिदिएको हो । यस्तै खोलाको किनारमा रहेको तल्लो तटका बस्तीमा साइरन, माइक र टर्चसमेत वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र कँडेलले जानकारी दिए । तल्लो गाउँ र माथिल्लो गाउँबीच बाढीको सूचना आदान–प्रदान गराउनका लागि दुवै गाउँका बासिन्दालाई आवश्यक तालिमसमेत दिइएको संस्थाका नृपेश कुँवरले बताए । मध्य तथा सुदूरपश्चिम क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका हिमाल सिवाकोटीका अनुसार यो मौसमी केन्द्रको सहयोगमा बाढीको पूर्व चेतावनी दिन सकिन्छ । एक घण्टामा ६० मिलिमिटर वर्षात् भएमा सचेत हुनुपर्ने र त्यसपछि पनि लगातार वर्षात् भएमा तल्लो गाउँलाई तत्काल बाढीको खतराबारे सूचना दिनुपर्ने उनको भनाइ छ ।
सुर्खेतका विभिन्न स्थानमा गरी हाल आठ वटा मौसमी केन्द्रहरू रहेका छन् । कालिदमारमा मौसमको रेर्कड राख्दै आएका धनबहादुर वलीले विगतमा सूचना प्रवाह नहुँदा क्षति भएको भन्दै अब आफूहरूले तत्काल तल्लो क्षेत्रमा रहेका बस्तीलाई बाढीको पूर्व जानकारी दिने उल्लेख गरे । भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्य विपद् न्यूनीकरणका लागि स्थानीय बासिन्दाबीच भएको यो सहमति उदाहरणीय भएको बताउँछिन् । यसले पनि जोखिमलाई कम गर्ने उनको भनाइ छ । २०७१ मा पूर्व सूचना नपाउँदा जिल्लामा ठूलो क्षति भएको भन्दै नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति रामलाल आचार्यले बाढीको पूर्व जानकारी दिने सहमति हुनु सकारात्मक भएको बताए ।

प्रकाशित मितिः   ९ श्रावण २०७४, सोमबार १५:३७