‘बालापन सम्झिदा आदिम युगमा जन्मिएझैं लाग्छ’

पीताम्बर ढकाल, सुर्खेतका प्रतिष्ठित व्यक्ति हुन् । यहाँको पत्रकारिता र शैक्षिक क्षेत्रमा उनको योगदान उल्लेखनीय छ । वि.सं. २०१० वैशाख २९ गते बुबा इन्दलाल ढकाल र आमा गौरी ढकालको जेठा छोराका रूपमा तत्कालीन बजेडीचौर गाविसमा जन्मिए । उनले साढे चौध वर्ष तत्कालीन वीरेन्द्रनगर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख भएर काम गरे । ६ वर्ष सुर्खेत क्याम्पस शिक्षामा प्रमुख भएर काम गरे । मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन समेत हुन् । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका पूर्व सभापतिसमेत रहेका ढकालले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेका छन् ।

म जन्मिने बेलामा अहिलेको जस्तो प्रविधिको विकास भएको थिएन् । अहिलेको जस्तो सबैका हात–हातमा मोबाइल फोन थिएनन् । क्यामेरा हुन्थेन । खाली खुट्टा हिँड्नुपथ्र्यो । नेपालगन्जबाट नुन बोकेर ल्याएर वर्षदिन भरीलाई पु¥याएर खानुपर्ने अवस्था थियो । बुबाले नेपालगन्ज नुन लिन जाँदा कपडा ल्याइदिनुहुन्थ्यो । एक÷दुई जोर कपडाले वर्षदिन जीउ ढाक्नुपथ्र्यो । कपडा फाटिहाल्यो भने सिलाएर लगाउथ्यौं ।
अहिले त प्रत्येकका हातमा मोबाइल फोन भएकोले रेडियो सुन्न सजिलो छ । त्यतिबेलामा एक दिन छिमेकीले एउटा रेडियो किनेर ल्याउँदा गाउँभरीका मान्छेहरूले एउटै आँगनभरी बसेर रेडियोमा गीत सुनेको सम्झना आउँछ । त्यसबेलामा धर्मराज थापा लगायतका कलाकारहरूले गाएको गीतहरू रेडियोमा खुब बज्थ्यो । ‘धानको बाला झुल्यो हजुर देशैं रमाइलो’ भन्ने गीत रेडियोमा सुनेको अझै पनि सम्झनामा छ ।
बुबाआमा म एक वर्षको नपुग्दै बजेडीचौरको पानीखोलाबाट लेखफर्सामा बसाइँसराइँ गरी आउनु भएकोरहेछ । मेरा मावली लेखफर्सामा भएकाले लेखफर्सा आउनुभएको रहेछ । मेरो बाल्यकाल लेखफर्सामा बित्यो । मेरो आमा म नौ वर्षको हुँदा बित्नुभयो । वि.सं. २०२० साल साउने सक्रान्तिको दिन हो दिदी यामकुमारी बाहेक हामी सबै बिरामी प¥यौं । म त झन् यति बिरामी परेछु कि केही पनि थाह नपाउने गरी बेहोस् । यसै बीचमा आमाले भाइ जन्माउनु भएको रहेछ । म बेहोस् भएको कारण केही पनि थाहा पाएन । भाइ जन्मेको दिनमै बितेछ । भोलिपल्ट कान्छी बहिनी पार्वती बितिछन् । बहिनी बितेको भोलि पल्ट आमा पनि बित्नुभएछ । आमाको अन्तिम दर्शन पनि गर्न पाइन् । त्यसबेलामा गाउँमा डाक्टर थिएन् । अस्पताल थिएन । बिरामी भयो भने धामीझाँक्री देखाउँथे । फोटो खिच्ने चलन थिएन । गाउँ घरमा क्यामेरा नै हुँदैनथ्यो । मेरी आमाको एउटा पनि फोटो हामीसँग अहिले छैन । केवल स्मृतिमात्र रहेको छ । म अहिले सम्झन्छु, हाम्रो आर्थिक अवस्था, हाम्रो ग्रामीण बस्ती, विपन्न मुलुकका हामी अति विपन्न जनता थियौं ।
आमा घरमा नहुँदा त हामी केटाकेटीलाई नराम्रो नै लाथ्यो । तर मामाको घर र हाम्रो घरको एउटै आँगन भएकाले कारण हामीलाई केही राहत भने हुन्थ्यो । मामा माइजु, मामा घरको बुढी हजुरआमाले धेरै माया गर्नुहुन्थ्यो । बुढी हजुरआमा आमा बितेको कुरा सम्झेर विलाप गर्दै रुनुहुन्थ्यो । हामी पनि खटाउन नसकेर रुन्थ्यौ । पछि बुढी हजुरआमाले बुबाको बिहे गर्ने निधो गर्नुभयो र आफ्नै छोरी पर्ने मेरी सानीआमासँग बुबाले हाम्रो लागि बिहे गर्नुभयो । उहाँले हामीलाई धेरै माया गर्नुहुन्थ्यो । सानी आमाबाट तीन वटी बहिनीहरू र एक भाइ छन् ।
त्यसबेलामा हाम्रो बसाइँ तीन ठाउँमा हुन्थ्यो । लेखफर्साको लेखगाउँ, खरक र नाङ्गे । कारण नाङ्गेमा औलो लाग्ने भएकाले बाह्रै महिना बसोबास गर्न नसकिने हुँदा त्यहाँ खेतीपाती लगाउने बेलामा मात्र एक दुई महिनाका लागि लेखगाउँबाट झर्ने अथवा नाङ्गे र लेखगाउबीचमा पर्ने खरकमा अन्न भण्डार गर्ने र कहिले काही वास बस्ने पनि गरिन्थ्यो । हामी तीन ठाउँमा बस्ने भएको कारण पढाई पनि विद्यालय सार्नुपथ्र्यो । जुन ठाउँमा हामी बस्ने समाजका मानिसहरू बसाइँ सरेर जाने गर्थे । स्कुल पनि समाज अनुकूल बसाइँ सर्न बाध्य थियो । यसरी विद्यालय सार्नुपर्दा स्कुलका बेञ्च टेबल, सेतोपाटी र पक्की घर छाडेर खेतका गह्रामा धान खेत गोड्दा उखेलेर फालेका सुकेका झारको चकटी बनाएर त्यसैमा बसेर पढ्थ्यौं । कहिले काहीं बसाइँ सरी सक्दा पनि विद्यालय नसर्दा दुःख पाइन्थ्यो । तीन घण्टा हिँडेर पढ्न जानुपथ्र्यो । तर पनि हामी धेरै मेहेनत गरेर पढ्थ्यौ । पढाइप्रतिको रुचि कहिले कम हुन्थेन ।
मैले कक्षा एकदेखि पाँचसम्मको शिक्षा लेखफर्साको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयबाट प्राप्त गरें । म ६ वर्षको बाल्य अवस्थामा नै स्कूल जान थालेको हुँ । सुरुमा त हामीले दुर्गाचण्डी लागयतका धार्मिक किताबहरू पढ्ने गथ्र्यौं । एक कक्षाका विद्यार्थीलाई कापी कलम स्कुल लैजान पाउने अनुमति हुन्नथ्यो । दुधे खरीमा प्वाल पारेर डोरीले पाटीको टाउको वा पाटीकै टाउकोमा पारिएको प्वालमा डोरी बाँधेर वा खरी झुण्ड्याएर पत्थरको कालोपाटी वा भलायोको रुखबाट वनाएको काठको श्यामपाटी बोकेर स्कुल लैजाने र घर फिर्ता गर्ने गर्नुपथ्र्यो । कलिलो उमेरमा काठको एक किसिमले मुढो नै भनौं बोकेर हिँड्नुपर्ने भएकाले त्यो आफूले पाएको सजाय जस्तै लाग्दथ्यो । बिहान उठ्ने बित्तिकै अंगार वा गोलभेडाको पातले पाटी रंग्याउनुपर्ने आफ्नो जिम्मेवारीभित्र पर्दथ्यो । तर कहिले काहीं पाटी बोकेर हिँड्दा लुगाभरी अंगारको कालो र गोलभेडाको हरियो झोल दलिन्थ्यो र लुगा फोहोर हुन्थे । गह्रौ पाटी बोकेर खाना खाने बित्तिकै स्कुल जाने र दिनभरी पढेर भोको पेटमा पाटी बोकेर घर फर्कनुपर्ने जुन अवस्था थियो त्यो सम्झेर अहिलेका सँग तुलना ग¥यो भने हामी त आदिम युगका जस्तै लाग्दछ । अहिलको जस्तो खाजा पाइने पसलहरू धेरै हुँदैनथे । कहिले चामलका खट्टे कहिले पोलेका मकै, कहिले भुटेका मकै वा गहुँ र कहिले काहीं गहुँका रोटी हुन्थे । दिनभरी झोलामा कापी किताबसँगै राखिएका खाजा दिउँसो खान पनि सकिदैंनथ्यो । किनकी सबै चाम्रा र कडा भइसक्थे ।
हाम्रो लेखफर्सामा विद्यालय श्रमदानबाट बनेको थियो । कक्षा सकिएपछि हिँड्ने बाटो हामी आफैं खन्ने गथ्र्यौं । झोला भिरेरै काम गथ्र्यौं । समूह विभाजन गरेर काम हुन्थ्यो । स्कुलका वरिपरि काफल, चुत्रो, ऐसेलु, कटुस, जस्ता जंगली फलफूल र घरमा लगाइएका किम्मु, नासपाती, अनार, आदि प्रशस्त पाइन्थ्यो । खेल्दैखाँदै गरेको सम्भना आउँछ । विशेष गरेर डण्डीबियो, गुच्छा खेल्ने गथ्र्यौं । साथीहरू मिलेर खेलेको सम्झना छ । साथीभाईहरूसँग विद्यालय समयबाहेक घर फर्किसकेपछि घुलमिल कम नै हुन्थ्यो । गाउँमा घरहरू टाढा–टाढा हुन्थे । त्यस कारण पनि साथीहरूको लहलहैमा लागेर नराम्रो काम भने गरिएन् । अहिलेका बालबालिका त भविष्यमा यो बन्छु, त्यो बन्छु भनेर भन्छन् । त्यसबेलामा हामीलाई उद्देश्य नै थाहा हुँदैन्थ्यो । मैले आईए पढ्ने बेलामा बल्ल मैले अब आइए पास गर्नुपर्छ भनेर सोच्न थालेको हुँ । पहिले हामी पढ्ने बेलामा कतिसम्म कक्षाहरू हुन्छन् भनेर पनि थाहा थिएन ।
मेरो पढाइप्रति रुचि थियो । पढ्नुपर्छ भन्ने लाग्थ्यो । शिक्षकहरूसँग अनुशासनमा हुनुपर्छ । आज्ञाकारी हुनुपर्छ भनेर भनेको सबै मान्थ्यौं । विद्यार्थी धेरै हुँदैनथे । एउटा कक्षामा बढीमा १५ जनासम्म हुन्थे । शिक्षकहरूले विद्यार्थीहरूलाई राम्रोसँग बुझाएर पढाउने गर्नुहुन्थ्यो । स्कुल जाँदा घरमा जे हुन्थ्यो त्यो लगाइन्थ्यो अहिलेको जस्तो ‘युनिफर्म’ थिएन । सर्ट र हाफ पाइन्ट, कहिले नांगा खुट्टा त कहिले कहिले भारतीय कम्पनी बाटाका चप्पल, जुत्ता पाउनै गाह्रो हुने, कापी किताब राख्ने एउटा भारतमै तयार भएको झोला भिरेर भारतमै छापिएका हिन्दी भाषाका पुस्तकहरूमा ‘आरएटी रेट, रेट माने चुहा’ भनेर पढ्थ्यौं । भारतको रूपैडिहा बजारबाट खरिद गरिएका हात्तीछाप कापीको कागज निकै राम्रो भएकाले अक्षर पनि राम्रो बन्ने । त्यतिबेला तीस पन्ने कापी त्यसमा पनि एक लाइने र चार लाइने दुईथरी हुन्थे । एकलाइनेमा नेपाली, विज्ञान, गणित आदि विषय र चारलाइने कापीमा अंग्रेजी भाषा लेख्ने गरिन्थ्यो । कहिले काहीं कापी पाइएन भने नेपाली कागतमा पनि लेख्ने गरिन्थ्यो । घरघरै नेपाली कागत बेच्न ल्याउँथे त्यति बेला । हामीलाई सावा अक्षर पढाउने हर्षबहादुर राना, लिलाधर गौतम र भुपेन्द्रबहादुर बस्नेतका अक्षर असाध्य नै राम्रा थिए । हामी पनि उनीहरूकै सिको गरेर अक्षर सपार्ने काम गथ्र्यौ । कहिले काहीं नेपाली कागतमा लेख्नैपर्ने भयो भने लाइन सोझो पार्न नसकेर धनुर्वाण जस्ता लाइन हुन्थे । निगालाको कलमले कागज मोडेर लेख्ने बानी नहुँदा निकै अप्ठ्यारो पनि हुने गथ्र्यो ।
हाम्रा शिक्षकहरूलाई गुरुजी भन्दथ्यौं । उहाँहरूले पनि हामीलाई निकै माया गर्नुहुन्थ्यो । म अझ सानो भएकोले मप्रति गुरुहरूले ध्यान दिनुहुन्थ्यो । अहिलेको जस्तो पढाइ त्यतिखेर थिएन । सीमित पाठ्यपुस्तक हुन्थे । तर यति कठिन र स्तरीय पुस्तक हुन्थे कि हामीलाई बुझ्न निकै कठिन हुने गर्दथ्यो । त्यसैले हामीलाई पढाउने गुरुहरूले कण्ठ गर्नमा नै जोड दिनुहुन्थ्यो । कहिले काहीं गुरुले सोध्दा आएन भने मुर्गा परिने वा पिटाइ खाइन्थ्यो । विद्यालयमा किताब मात्र होइन अतिरिक्त क्रियाकलाप पनि त्यत्तिकै हुने गर्दथे । लिलाधर गौतम गुरु भलिबल, हाइजम्प, लङ्ग जम्प, ज्याभलीन थ्रो मात्र होइन नाटक रचना गर्नसमेत पोख्त हुनुहुन्थ्यो । मैले ‘हरिश्चन्द्र’ र ‘मुनामदन’ नाटक अभिनय गरेको थिएँ । मुनामदन नाटकमा म मुनाको भूमिकामा खेलेको थिएँ । अझै पनि सम्झना आउँछ । म सबैभन्दा सानो थिएँ । अरु मभन्दा उमेर र हाइटमा पनि ठूला थिए । म सारी लगाएर मुनाको भूमिकामा खेलेको थिएँ ।
कक्षा ५ पास गरेपछि आनन्द निम्न माध्यमिक विद्यालय गुमीमा पढ्न गएँ । वि.सं.२०२५ सालमा प्रस्तावित माध्यमिक विद्यालयमा रूपान्तरित भएपछि कक्षा आठमा पढ्ने विद्यार्थी कोही पनि नभएकाले हामी कक्षा सातका विद्यार्थी सात कक्षामा भर्ना हुने बित्तिकै नौ कक्षामा पढ्न पायौं । पढ्न जाँदा कम्तीमा एक हप्ताका लागि दाल चामल पिठ्युमा बोकेर स्कुल जानु पर्दथ्यो । एक बाली मात्र लाग्ने हाम्रो फाँट रमाइलै थियो । त्यसबेला सक्नेले भारी बोक्ने घोडा पाल्ने चलन थियो । एक दिनको कुरा हो हामीले खेतमा चर्दै गरेको घोडा छोपेर दाल चामल बोकाएर गुमीको पण्डित काल्ना लग्यौ । कसको भन्ने थाहा भएन् । गुमी पुग्नेबित्तिकै घोडा धपाइदियो भने घोडा पनि पुग्ला भनेर तत्काल सामान झिक्यौ । घोडा फुर्लुंगै लड्यो । घोडा मर्छ कि भन्ने डरले हामी एकछिन मुखामुख ग¥यौ । केहीपछि घोडा उठ्यो हामीले घोडालाई जताबाट ल्याएको त्यतैतिर धपायौं ।
हामी त्यहाँ होस्टेलमा बस्थ्यौं । खाना भने सबै साथीहरूले आफै पकाएर खानुपथ्र्यो । दाउँराको दुःख हुन्थ्यो । कहिले काहीं स्कुलले उपलब्ध गराउँथ्यो । कक्षा ६ मा पढ्दाको कुरा हो । हामीमा कुलतले जरा गाडिसकेको थियो । होस्टेलमा बिडी असाध्य नै चल्थ्यो । हाम्रा हेडसर बाबुराम गौतम उपिया जस्तो हुनुहुन्थ्यो ! कुन बेला उनी कहाँ हुन्थे थाहै हुँदैनथ्यो । मेरो साथीहरूले कोठामा भित्तामा आड लागेर बिडी तानिरहेका रहेछन् । हेडसर आएर साथीको पिठ्युमा कसेर एक लात हिर्काएछन्, उनी अतालिएर हत्तरपत्त बिडी निभाउँछु भनेको त आफ्नै साथीको निधारमा ठोसिदिएछन् । मैले पनि एक पटक थाहा नपाएर चरेश खाएको छु । त्यस्तै आठ नौ वर्षको थिएँ होला । हिउँदको बेला हाम्रो स्कुल फर्सामा सञ्चालित थियो । हामी लेखफर्साको फाँट नाङ्गेबाट करिब एक घण्टाको उकालो चढेर फर्साको स्कुलमा जान्थ्यौं । गाउँघरमा खहरे खोला थिए । हाम्रो घरमा काम गर्ने मान्छेहरू हामीलाई पु¥याउन जान्थे । खोला तारेपछि उनीहरू फर्किन्थे । हामी स्कुल जान्थ्यौं । रातमा सल्लाहको दियालो बालेर पढ्थ्यौं ।
मैले त्यतिखेर कोट दौरा र सुरवाल लगाउने गर्दथें । जाडोको समय भएकाले अहिलेको जस्तो सबै ठाउँमा स्वीटर पाउन सकिदैनथ्यो । हामी स्कुल बिदा भएपछि बेलपोखरीको ओरालोनिर आइपुगेका थियौं । हाम्रा मामाका छोरा मेरा दाई पर्ने एक जनाले आफ्नो बुबाले खाने गरेको चरेश खल्तीमा राखेर स्कुल जानुभएको रहेछ । मलाई चरेश के हो र यो खायो भने के हुन्छ भन्ने कुनै कुराको थाह थिएन । हामी ८÷१० जना साथीहरूमध्ये चरेशले नशा दिन्छ भन्ने थाह भएकाहरूले कसैले उनीबाट पाएको चरेशको डल्लो खल्तीमा राखेछन् । कसैले खाए जस्तो गरेर आफ्नो पछाडि फालेछन् । मैले भने केही थाह नपाएकाले डल्लै निलिदिए । मेरा खुट्टा एकैछिनमा हल्लन लागे । चरेश लागेको भन्ने थाह भएन । म करिब अचेत जस्तै थिएँ । मलाई त्यो चरेशको नशाले तेस्रो दिनमा मात्र छोड्यो । धन्न ज्यान गएको । त्यसपछि चरेशसँग निकै डराउने भएँ ।
मैले २०२८ सालमा एसएलसी पास गरेको हुँ । बाल्यकाल कहिले सुःखमा बित्यो कहिले दुःखमा बित्यो । त्यो बेलाको जमाना हेर्ने हो भने ददर्नाक थियो अवस्था ।

प्रकाशित मितिः   ९ श्रावण २०७४, सोमबार १५:३३