भागवण्डामा बैंकका शाखा विस्तार

सुर्खेत, ६ साउन ।
वाणिज्य बैंकले दुई सय ४४ वटा स्थानीय तहमा जान आफू–आफूबीच भागवण्डा गरेको छ । एक बैंक गएको स्थानमा अर्को बैंकको शाखा नजाने सहमतिसहित बैंकहरूले यो सूची तयार पारेका हुन् । हाल सात सय ४४ स्थानीय तहमध्ये तीन सय ३२ मा वाणिज्य बैंकको पहुँच पुगेको छैन् । बाँकी चार सय १२ मध्ये तत्काल दुई सय ५० स्थानमा जाने तयारी बैंकहरूले गरेका हुन् ।
यो क्रममा दुई सय ४४ स्थानमा जाने सूची बैंकहरूले नै तयार गरेर राष्ट्र बैंकलाई बुझाएको हो । राष्ट्र बैंकले बैंकहरूको यो प्रस्तावलाई स्वीकार गरेको छ । स्थानीय तहमा जाने बजेट पहिले सरकारी बैंक (कृषि बिकास बैंक र राष्ट्रिय वाणिज्य बैंक) मा जम्मा हुने र त्यहाँबाट वाणिज्य बैंकमा जम्मा गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।
सञ्चित कोष खाता अनिवार्य रूपमा यिनै बैंकमा रहनुपर्ने व्यवस्था गरिएको भए पनि स्थानीयले खर्च र सञ्चालन खाता अन्य बैंक तथा वित्तीय संस्थामा समेत राख्नसक्ने व्यवस्था रहेको छ । सञ्चित कोष खातामा केन्द्र र प्रदेशबाट जाने अनुदान र स्थानीय तहले संकलन गर्ने राजस्व जम्मा गर्नुपर्ने हुन्छ ।
सुर्खेत जिल्लाका नौ वटै स्थापित तहमा जाने बैंकहरूको पनि टुङ्गो लागेको छ । सुर्खेतको चौकुने गाउँपालिका र सिम्ता गाउँपालिकामा लक्ष्मी विकास बैंकको शाखा स्थापना हुने भएको छ । बराहताल गाउँपालिकामा नविल बैंक, लेकवेशी नगरपालिकामा प्राइम कमर्शीयल बैंक, गुर्भाकोट नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार हुने भएको छ ।

प्रकाशित मितिः   ७ श्रावण २०७४, शनिबार १५:२८