अधिकारकर्मी महिला असुरक्षित

जुम्ला, ६ साउन ।
हिंसापीडित महिलाहरूको संरक्षणका लागि खटिएका अधिकारकर्मी महिलाहरू नै असुरक्षित रहेको पाइएको छ । हिंसामा परेका महिलाहरूको उद्दार गरी सेवा केन्द्रमा राखेर संरक्षण दिने महिला अभियानताहरू नै असुरक्षित रहेको महिलाहरूले गुनासो गरेका छन् ।
हिंसामा परेका महिलाहरूलाई संरक्षण दिए वापत सेवा केन्द्रका संरक्षणकर्मीलाई नै पीडकले विभिन्न खालका धम्की दिने र पीडितलाई न्याय नदिलाउन दबाब दिने गरेको सेवा केन्द्रका सञ्चालकहरूको गुनासो छ । ‘हामीले पीडामा परेमा महिलाहरूलाई उद्दार गरी सेवा केन्द्रमा संरक्षण दिने गरेका छौं,’ जिल्ला सेवा केन्द्रका सञ्चालक भगवती श्रेष्ठले भनिन्, ‘पीडकहरूले नै हामीलाई आएर धम्की दिने, गाली बेइज्जती गर्ने कार्यहरू गर्दछन् । हामीले पीडित महिलाहरूको संरक्षण गरिरहँदा हाम्रो सुरक्षाको खतरा बढेको छ ।’
अहिले जिल्लामा हिंसापीडित महिलाहरू न्यायको खोजीमा भौंतारिरहेका छन् । पीडामा परेपछि संरक्षण लिने ठाउँका सञ्चालकहरूलाई नै पीडकबाट विभिन्न धम्की र दबाब आउने भएका कारण पीडित महिलाहरू आफूहरूले न्याय पाउनेमा शंका गर्न थालेका छन् । घरेलुहिंसा, बहुविवाह, बालविवाह, गाली बेइज्जती तथा कुटपिटबाट पीडित स्थानीय महिलाहरू महिला अधिकारवादीहरूसँग आफू र सेवा केन्द्र सञ्चालकहरूको न्यायका लागि भौंतारिएका हुन् ।
हिंसाबाट पीडित भए पनि कानुनी पहँुचसम्म आवश्यक मार्ग नपाएपछि पीडा सहेरै बस्नुपर्ने बाध्यता रहेको पीडित महिलाहरूको गुनासो छ । प्रायजसो ग्रामीण क्षेत्रमा महिलाहरूले बहुविवाह तथा कुटपिटका घटनाबाट पीडा सहेर बस्नुपरेको छ । न्यायका लागि विभिन्न निकाय धाउँदासमेत आफूहरूको पहुँच नहुँदा घरभित्रको पीडा सहन बाध्य भएको चन्दननाथ नगरपालिका १० की एक महिलाले बताइन् । ‘हरेक साँझ रक्सी खाएर घरमा छिर्ने बित्तिकै कुट्छन्, कहिलेकाहीं त छोराछोरीसहित मलाई पनि घरबाट निकालिदिन्छ,’ नाम गोप्य राखिदिन आग्रह गर्दै पीडित महिलाले भनिन्, ‘धेरैपटक न्यायका लागि प्रहरी कहाँ पनि धाएँ, तर छोराछोरीका भविष्य र समाजिक रूपमा लाज हुने भन्दै चुप लाग्नुप¥यो ।’
महिला तथा बालबालिकाको आर्थिक सहयोगमा सञ्चालित सेवा केन्द्रको समिक्षा कार्यक्रममा सहभागी हिंसापीडित महिलाहरू र सेवा केन्द्र सञ्चालकहले आफूहरूले न्याय पाउन मुस्किल रहेको भन्दै संरक्षणका लागि पहल थाल्न सरोकारवाला निकायसँग मागसमेत गरेका छन् । चन्दननाथ नगरपालिका–५ की माया शेरचनले आफू पतिको पीडा सहेर बसिरहनुपरेको दुःखेसो गरिन् । सम्बन्ध विच्छेद तथा जग्गा भागवण्डा गरी पाउँ भन्ने मुद्दामा अदालतबाट फैसला भए पनि आफू हालसम्म न्याय पाउन नसकेको बताइन् । त्यस्तै तातोपानी गाउँपालिका–५ की माया चौलागाईंले ७ औं पत्नीको रूपमा विवाह गरेर आएपछि घरपरिवारबाट नै निकै पीडा सहनुपरेको बताइन् । सेवा केन्द्र स्थापना भए पनि संरक्षणका लागि केन्द्रमा आए पनि श्रीमान् र परिवारबाट विभिन्न दबाब सहनुपरेको उल्लेख गरिन् ।
यता जिल्ला अदालत जुम्लाका श्रेस्तेदार ईन्द्रकुमार खड्काले हिंसापीडित महिलाहरूलाई बैतनिक वकिलमार्फत् न्यायिक पहुँचमा ल्याइने बताए । जिल्लामा स्थापना भएका सेवा केन्द्रलहरूले २०६६ सालबाट हालसम्म झण्डै चार सय ५५ जना पीडित महिलालाई विभिन्न खाले सहयोग गरिएको जिल्ला सेवा केन्द्रका अध्यक्ष भगवती श्रेष्ठले बताइन् । महिला विकास कार्यालयका अनुसार सेवा केन्द्रमा कर्णालीका कालिकोट, मुगु लगायतका जिल्लाका हिंसा पीडित महिलाहरूको उद्दार गर्नुका साथै उपचारका लागि सहयोग गर्ने गरेको जनाएको छ ।

प्रकाशित मितिः   ७ श्रावण २०७४, शनिबार १५:२९