ध्वनी युद्ध

वरपिपलको चौतारोमा त्यस दिन ठूलो जनसभा बोलाइएको थियो । त्यसै चौतारामा दुईजना यात्रु आएर सुस्ताए । उनीहरू हेर्दा भलादमी जस्ता देखिन्थे । तीमध्ये एक जना महिला र अर्को चाहीं पुरुष । महिलाको उमेर तीस पारको थियो । गोल अनुहारकी त्यो महिलामा खासै नारी सुलभ सौन्दर्य थिएन । उसले कपाल काटेर छोटो पारेकी थिइ । उसको आँखामा पावरदार चस्मा थियो । पुरुष चाहीं गोरो अनुहारको मझौला कदको २७÷२८ जतिको युवक थियो । उसका आँखा निला वर्णका देखिन्थे । ती दुवैको पोसाक भने एकै किसिमको शिरमा सेतो टोप, शरीरमा सेतै कमिज र निलो भुँइमा सेता धर्सा भएको पाइन्ट पहिरेका थिए । दुवैको काँधमा एक एक वटा बडेमाका झोला थिए । महिलाको नाम सरिता र पुरुषको नाम चाहीं विक्रम रहेछ । सरिता विक्रमभन्दा अलि फुर्तिली देखिन्थी ।
सरिता जनसभाको अघितिर आई । उसले माइकबाट सबैलाई छोटाछोटा लाइनमा बस्न अनुरोध गरी । सबै उसको आदेश अनुसार पंक्तिबद्ध भएर लाइन लागे । उसले केही मानिसलाई नजिक बोलाइ । उनीहरू अघि गए । उसले तिनीहरूसँग के के गोप्य कुरा गरी कुन्नी तर उनीहरूले त्यसको निर्देशन बुझेको संकेत गर्दै टाउको हल्लाए । सरिताले विक्रमलाई झोलामा भएका सामान झिक्न अह्राइ । एकैछिनमा उसले फटाफट झोलाबाट ससाना बट्टाहरू झिक्यो । सरिताले कार्यकर्ताका हातमा ती सामानहरू फटाफट थमाइ । उसले दिएको पूर्व निर्देशन अनुसार ती मानिसले एकैछिनमा लाइनमा लागेका सबै मानिसलाई एक–एक वटा वस्तु बाँडे । कसैले त्यो वस्तु घाँटीमा बाँधे कसैले पाखुरामा । विनोदले पनि त्यसलाई बायाँ पाखुरामा बाँध्यो । उसलाई व्यर्थको फसादमा पर्न आएछु भन्ने मनमा भुटो पनि लाग्न थाल्यो । कतै फुत्केर जाने पनि ऊसँग आँट आएन ।
सरिताले अर्को झोलाबाट कलम आकारका अनौठा वस्तु झिकी र तिनै कार्यकर्तालाई दिएर सबै मानिसलाई बाँड्न लगाइ । कार्यकर्ताले पनि क्षणभरमा ती सामान सबैलाई एक–एक वटा हात हातमा पारे । सरिता भन्दै थिइ, ‘यी नेपाली पेस्तोल हुन्, यिनको मार हान्ने क्षमता विश्वका कुनै पनि विकसित राष्ट्रका हतियारको भन्दा कम्ता छैन ।’ उनीहरूको यस भनाइले विनोद असिना–पसिना भयो । महिलाले अघिबाट सबैलाई निर्देशन दिँदै एक–एक जना आम्ने–साम्ने भएर उभिन निर्देशन गरी ।
सरिताको भनाइ अनुसार ‘विनोद पनि लाइनमा एक अर्कातिर फर्किर उभियो । लाइनमा आम्ने–साम्ने हुँदा मानिसको घचारोमा एकअर्काको नाकै ठोकिएला जस्तो भयो । सरिताले सबैलाई त्यो हतियार चलाउने सीप सिकाउन लागि । त्यो पेस्तोल सुई लगाउने सिरिन्ज जस्तो रहेछ । हातका चोर औंला र माझी औंलाका बीचमा अड्याउने र पछाडिको भागलाई बुढी औंलाले हल्का धकेल्ने बित्तिकै गोली प्रहार हुँदो रहेछ । सबै जनाको हातमा रहेको त्यो पेस्तोलले आफ्नो अघिल्तिरको साथीलाई प्रहार गर्नुपर्ने भयो ।’ सबै मानिसको अनुहार फुङ्ङ उडेको देखियो । विनोदको निधार र कञ्चटबाट चिटचिट पसिना आयो ।
सरिताले विक्रमलाई आफू सामुन्ने बोलाइ । ती दुई जना एक अर्कातिर आम्ने–साम्ने फर्किए । सरिताले तल्लो ओठ मुखभित्र लगेर माथिल्ला दाँतले टोकी । बुढी औंलाले पेस्तोको पछिल्लो भाग धकेली । गोलीले विक्रमको छाती छेडेर बत्तिदैं धेरै टाढा गयो । विनोदले विक्रम कति बेला ढल्छ भनेर एक टक हेरिरहेको थियो तर ऊ ढलेन बरु सबैतिर फर्किएर खिस्स हाँस्यो । फेरि सरिताले विक्रमलाई गोली हान्ने आदेश दिइ । विक्रमले प्रहार गरेको गोलीले सरिताको कञ्चट छेडेर निकै टाढा पुग्यो । ऊ पनि सबैतिर फर्किएर मुस्कुराइ । विनोद यो गतिविधिबाट अचम्मित भयो । उसलाई यो घटना कुनै जादु झैं लाग्यो ।
विक्रम सरासर अगाडिको माइकनेर पुग्यो । उसले सबैलाई सम्झाउँदै भन्यो, ‘हामीले विज्ञानमा विश्वास गर्छौं । हाम्रो पार्टीले मार्ने र मर्ने खेलबाट देशको विनाश हुने र मानव सभ्यता नै खतरामा पर्ने कुरा ठहर ग¥यो । त्यसपछि कुनै पनि हतियारबाट मानिसको ज्यानमा चोट नलाग्ने उपायको खोजी गर्न हामीले आवश्यक ठान्यौं । यसका लागि हाम्रो पार्टीका विश्वास पात्र वैज्ञानिक प्रकरणलाई विज्ञान र प्रविधि प्रभागको संयोजक बनायौं । उनका सहयोगीसहितको टोलीले यस विधिको खोज अनुसन्धान गर्न लाग्यो । उनीहरूले पौराणिक कालदेखि वर्तमानसम्मका ठूला युद्धहरूमा प्रयोग भएका हतियार, तिनको निर्माण र घाइतेहरूको उपचार पद्धति आदिबारे भेटे जति तथ्य संकलन र परीक्षण गरे । चोटपटकबाट बच्ने उपाय पनि उनीहरूले खोज अनुसन्धान गरे ।
सरिता बोली, ‘खोज गर्दै जाँदा हामीले यसको प्रभावकारी उपाय आविष्कार ग¥यौं । त्यसका लागि इलेक्ट्रोन र प्रोटोनका एक चौथाइ भाग साना तत्त्वहरूलाई निश्चित गतिमा घुम्ने गरी बीच–बीचमा खाली ठाउँ रहेका तीन लाइनका तामा, जस्ता र निकेल मिश्रित सूक्ष्म तीन वटा तारलाई आठ–आठ फन्का गोल घेरामा समरो मिलाउने । तिनलाई सानो तामाको बट्टामा राखी तयार पारेको यन्त्र शरीरमा छुनेगरी फिता वा डोरीले बाँध्ने हो भने मानिसलाई कुनै हतियारले पनि चोट वा क्षति पु¥याउन सक्दैन भन्ने तथ्य पत्ता लाग्यो । तपाईंको पाखुरामा बाँधेको पनि त्यही यन्त्र हो ।’ उसको लामो वृतान्तले विनोद अलमल प¥यो । उसले फेरि थपी, ‘पहिला हामीलाई देव दानव युद्धका कुरा सुन्दा हाँसो उठ्थ्यो, पत्याउँदैनथ्यौं । रुढीवादी कुरा भनेर छोडिदिन्थ्यौं । पुराणमा वर्णित ती घटना त तथ्यपूर्ण रहेछन् । हाम्रो प्रयोगशालाबाट प्रमाणित गरिएपछि हामीले तिनलाई स्वीकारेका हौं ।
देवीको अट्टाहसले कैयौं राक्षसहरू मुच्र्छा परेको घटना यथार्थ रहेछ । कारण शक्तिशाली अट्टाहसबाट आउने ठूलो ध्वनी तरङ्गले नजिक रहेका मानिसको कानका जाली च्यातिने, चुट्ने र श्रवण अङ्ग क्षतिग्रत बनाउँदोरहेछ । ती प्रयोग सिद्ध भएका छन् । अब कहीं युद्ध हुँदा मानवीय क्षति हुने छैन । हामीले शत्रु पक्षसम्म डेढ–दुई सय डेसिबलका ध्वनि तरङ्ग ठोस वस्तु झैं केन्द्रित गरी हुत्याउने छौं । शत्रुहरू बहिरा पर्ने छन् । ध्वनीको चाल नपाउने शत्रुलाई सजिलै पराजित गर्न सकिने छ । शत्रुले प्रहार गर्ने अस्त्रशस्त्रबाट कोही पनि हताहत हुने छैन ।’ सरिताका कुरा सुनेर विनोद अझ डरायो । उसको शरीरमा कम्पन छुट्यो, ओठमुख सुक्यो ।
सरिताले विनोदलाई साह्रै डराएको ठानिछ । उसले विनोदको बायाँ पाखुरो चपक्क समाती । झोलाबाट एउटा औजार झिकी । उसले विनोदको पाखुरामा एक इन्च लामो र गहिरो घाउ पारी । विनोदले पाखुरोमा घाउ परेर सञ्चिएको पत्तै पाएन । उसले अचम्म मान्दै चिरेको भाग हे¥यो । वरिपरिका मानिसलाई पनि नियाल्यो । त्यहाँ कोही मानिस देखेन । ऊ आत्तियो । उसले महिलाको हातबाट आफ्नो पाखुरो झट्का¥यो । जोरसँग तान्दा हात भुइँमा बजारिएछ । ऊ ब्यूँझियो । उसको शरीर पसिनाले लछप्पै भएको थियो ।

प्रकाशित मितिः   ७ श्रावण २०७४, शनिबार १५:२४