वर्षायामः विपद् र संवेदनशीलता
मिति २०७३/०४/०९ गते अविरल वर्षासँगै हात्तीखौवा सोतामा आएको बाढीले बगाउँदा तुलसीपुर–४ नयाँबस्ती निवासी ६५ वर्षीया कमला नेपालीको मृत्यु भएको छ । परिवारजनका अनुसार शौच गर्न निस्किएको समयमा घर नजिकको हात्तीखौवा सोतामा उनी चिप्लिएर खस्न पुगेको र निजको शव झण्डै डेढ किलोमिटर दक्षिण तुलसीपुर–६ गाईडहरमा फेला परिएको ।
मिति २०७४/०३/२८ गते अन्दाजी १४ः०० बजेको समयमा जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ३ बस्ने कालुसिंह महाराको छोरा वर्ष १२ को राजेश महारा र सोही स्थान बस्ने रामसिंह महाराको छोरा अन्दाजी वर्ष १० को पवन महाराको चपला नाला तर्दा डुबेर मृत्यु भएको ।
यी प्रतिनिधि घटनाहरूबाट हामी सोझै अनुमान लगाउन सक्छौं कि हाम्रो समुदायमा वृद्ध–वृद्धा, महिला तथा बालबालिका प्राकृतिक विपदको संवेदनशीलताबाट कसरी गुज्रिएका छन् भनेर । शौच गर्न गएकी एक वृद्ध महिलाको मृत्यु भयो । आखिर शौच गर्ने स्थान घरबाट कति टाढा थियो ? हामी सोझै अनुमान लगाउन सक्छौं कि शौच गर्ने स्थान या त खोला किनारमा थियो अथवा खोला नै तरेर जानुपर्ने स्थानमा थियो । ठूला–ठूला विपद्ले सबैको ध्यान आकृष्ट गरेकै हुन्छन् तर यस्ता साना तर संवेदनशील विपद्हरूमा धेरैको ध्यान पुगे जस्तो लाग्दैन । त्यसै गरी दुई बालकहरूको खोला तर्ने क्रममा डुबेर मृत्यु भएको घटना संवेदनशील घटना हो । विद्यालय जाँदा होस् अथवा पर्कदा, खोला तर्दा होस् वा तुइनबाट खसेर नै किन नहोस् धेरै बालवबालिकाहरूले ज्यान गुमाएका घटनाहरू हामीहरूसँग ताजै छन् ।
वृद्ध–वृद्धा, महिला (सुत्केरी, गर्भवती) तथा बालबालिका प्राकृतिक विपद्को उच्च संवेदनशीलमा पर्ने समूह हुन् । खोज तथा उद्धारमा यो समूहलाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने निर्देशिका व्यवस्था भएता पनि सो अनुसार संवेदनशीलता पहिचान गरी कार्य गरिएको
पाइदैंन । शारीरिक रूपमा अन्य मानिसहरू भन्दा कमजोर मानिएको हुनाले पनि विपद्को सयममा वृद्ध–वृद्धा, महिला (सुत्केरी गर्भवती) तथा बालबालिकाहरूलाई उच्च प्राथमिकता दिनुपर्ने हुन्छ । हाम्रा घर तथा बस्ती नजेकै भएर बग्ने खोला–नाला वा नहरमा डुबेर वर्षेनी धेरै बालकालिकाले ज्यान गुमाउनुपरेको छ । यो हुनमा कसको के कमजोरी ? पक्कै पनि जनचेतनाको कमी तथा मानवीय अशावधान्नीका कारण यी र यस्ता प्रकृतिका घटना दोहोरिरहेका छन् । हामीले हाम्रा बालबालिकालाई यस्ता धमिलो पानी बग्ने नहर तथा खोलामा जान निधेष गर्नुपर्छ । विशेषतः वर्षातको मौसममा अलि गर्मी हुने हुँदा बालबालिका अभिभावकको स्वीकृति विना खोला तथा नहरमा पौडी खेल्न जाने गरेको देखिन्छ । यसरी पौडी खेल्न गएका बालबालिकाहरूले नहरको गहिराही ठम्याउन नसक्दा डुब्ने गरेका घटना प्रकाशमा आउने गरेका छन् । अभिभावक तथा परिवारको अलि कडाइ भयो भने यस्ता घटना पक्कै पनि दोहोरिने थिएनन् होला । वर्षामा खोलामा पानीको बाहव तीव्र हुने तथा धमिलो पानीको गहिराइ यकिन गर्न नसक्ने भएकाले सानो देखिने खोला तथा नहरले पनि बगाउने र डुबाउने गर्दछ । त्यसैले खोला सानो छ भनेर तरिहाल्न खोज्नु प्रतिउत्पादक हुनसक्छ । खोलामा अस्थायी रूपमा निर्माण गरिएका काठे पुल तथा फट्केबाट खोला तर्न खोज्दा पनि धेरै बालबालिका, महिला तथा वृद्ध–वृद्धाहरुले अकालमा ज्यान गुमाउनुपरेको छ । यसरी जोखिमपूर्ण यात्रा र कष्टकर जीवनशैलीले गर्दा खोलाले बगाएर तथा खोलामा खसेर धेरैले ज्यान गुमाउनुका साथ–साथै बेपत्ता हुने क्रम बढ्दो छ ।
आधारभूत मानवीय आवश्यकताका चिजहरूमा सहजै पहुँच नहुन र ती चिजहरूको प्राप्तीको लागि अपनाउनुपर्ने जोखिमपूर्ण क्रियाकलापले गर्दा पनि धेरै जनताहरू विपद्सँग अभ्यस्त हुनुपर्ने वाध्यता छ । घरदेखि शौचालय टाढा हुँदा रातीको समयमा शौच गर्न जाने महिला, बालबालिका तथा वृद्ध–वृद्धालाई ठूलो समस्या तथा जोखिम उत्पन्न हुने गरेको छ साथै रातीको समयमा हिँड्दा सर्पले डस्ने, पानीले भरिएका खाल्डाखुल्डीमा पर्नसक्ने तथा बाटोमा चिप्लने सम्भावना हुने हँदा सावधानी अपनाउनुपर्ने हुन्छ । शौचालय घरदेखि नजिकै निर्माण गर्ने र बालबालिका तथा वृद्ध–वृद्धा शौचालय जाँदा घरका अन्य सदस्यहरू पनि साथमा जानु राम्रो हुन्छ । वर्षाको समयमा खानेपानीका धारा तथा कुवाहरूमा धमिलो पानी आउने र पानीमा गड्यौला तथा अन्य हानिकारक जिवाणु मिसिने हुँदा सफा र स्वच्छ खानेपानीको लागि घण्टौंको यात्रा गर्नुपर्ने वाध्यता अझैपनि हाम्रो समुदायमा देखिन्छ र सो काम महिला तथा बालबालिकाले बढी मात्रामा गर्नुपरेको देखिन्छ । यसरी धेरै टाढा पानी ल्यान जाँदा खोलाले बगाएर, भिरबाट खसेर र सर्पले डसेर महिला तथा बालकालिका मृत्यु हुने गरेका घटनाहरू हाम्रो समुदायमा घटेका छन् ।
वर्षायामसँगै तराई तथा समथर भू–भागमा बाढी तथा पहाडी भू–भागमा पहिरोको ठूलो जोखिम हुन्छ । पहिरोले बगाएर धेरैले ज्यान गुमाउनुपरेका घटनाहरू हामी समक्ष ताजै छन् । विशेषत रातीको समयमा अलि बढी वर्षा हुन् र सोही समयमा पहिरो जाँदा धेरैले अकालमा मृत्युवरण गर्नु परेको अवस्था हामीले देख्दै तथा सुन्दै आएका छौं । रातीको समयमा सुतिरहेको क्षणमा आउने पहिरोले धेरै ठूलो मानवीय क्षति पु¥याएको तथा घरै बगाएको, गाउँनै बागाएको घटनाहरू हामीले विगतदेखि आजसम्म सुन्दै र देख्दै आएका छौं । यस्ता घटनाहरूमा पनि महिला तथा बालवालिकाहरूले नै बढी मात्रामा ज्यान गुमाउनुपरेको तथ्यांकले देखाउँछ । अविरल वर्षाका कारण घरभित्र पानी पस्दा घरको जग कमजोर हुन गइ घर नै भत्कने गरेका घटनाहरू पनि आउने गरेका छन् । यस्ता घटनाहरूमा पनि बालबालिका तथा महिलाहरू बढी मात्रामा घाइते तथा अङ्ग–भङ्ग हुने गरेको पाइन्छ । वर्षा सुरु हुन अगावै घरको छानो छाउने र पानी नपस्ने बनाइयो र घर वरिपरिको कुलेसी सफा गरियो भने बलेनीको पानी घर बाहिर जाने हुन्छ र घरभित्र पानी पस्ने सम्भावना न्यून हुँदा वर्षातमा घरलाई सुरक्षित राख्न सकिन्छ ।
विपद् पश्चात् विस्थापित महिला (सुत्केरी, गर्भवती) , वृद्ध–वृद्धा तथा बालबालिकाहरूलाई खानामा पर्याप्त पोषण, सामाजिक सुरक्षा, सफा र स्वच्छ खानेपानी, सरसफाइ, सुरक्षित आवास आदिको उचित प्रबन्ध गरिनुपर्ने हुन्छ । यद्यपि यी सबै कुरामा समयमै ध्यान नजाँदा र स्रोत तथा साधनमा पहुँचको अभावले विस्थापित महिला (सुत्केरी, गर्भवती), वृद्ध–वृद्धा तथा बालबालिकाहरूमा तत्काल थप मानवीय क्षति हुने तथा दीर्घकालीन रोग तथा अशक्तता देखापर्ने गरेको देखिन्छ । विपद्ले संरचनामा क्षति पु¥याइ विस्थापन हुनुपर्दा जिविकोपार्जनमा समस्या उत्पन्न भइ बालबालिकाको शिक्षा–दिक्षामा नकारात्मक प्रभाव पारेको हुन्छ । यसर्थ तत्काल वैकल्पिक जिविकोपार्जनका उपायको खोजी गर्नमा ध्यान केन्द्रित गरिनुपर्ने हुन्छ ।
नेपाली समाजमा चलन–चल्तीमा रहेको एउटा भनाइ नै छ, ‘विपद् बाजा बजाएर आउँदैन !’ धेरै पहिलेदेखि चल्तीमा आएको यो भनाइमा कति सान्दर्भिकता र वास्तविकता छ भन्ने कुरा हामीले विगत र हालैका दिनमा भोग्नु परेका प्राकृतिक विपद्हरूबाट यसको आशय तथा मर्म बुझ्ने कोशिस पक्कै पनि गरेका छौं । विपद् ‘बाजा’ बजाइकन नआएता पनि, सानो पूर्व संकेत भने दिएर आउने गरेको हुन्छ । त्यही पूर्व संकेतलाई आधार मानेर पर्याप्त तयारी गरियो भने निश्चय पनि क्षतिलाई न्यून गर्न सकिन्छ । हामीहरूसँग स्रोतको कमी छ साधन प्रयाप्त छैन तर पनि यस्ता विपद्हरूसँग खेलाँची गरेर होइन सावधानी अपनाएर मात्र हाम्रो परिवार तथा समुदायलाई जोगाउन सक्दछौं ।
साझा बिसौनी संवाददाता ।