धामीको उपचार मन्त्र ‘छाउ बार्नु’

चामुण्डा (दैलेख), ४ साउन ।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित लैनचौरमा शान्ता कठायत नाम चलेकी माता अर्थात् धामी हुन् । गाउँलेहरू बिरामी हुँदा होस् वा समस्यामा पर्दा उनै माताको शरणमा पुग्छन् । आफू कहाँ हेराउन आउनेलाई माताको एउटै सुझाव हुन्छ, ‘महिनावारी नबार्दा समस्या आइलाग्यो, अब घरमा छाउ बार्नु ।’


गाउँमा नजिकै अस्पताल छैन । भएका स्वास्थ्य संस्थामा पनि भरपर्दो उपचार हुँदैन । केही उपाय नलागेपछि गाउँलेहरू माताको शरणमा पुगेर उपचारका लागि हारगुहार गर्छन् । माताको उपचार गर्ने एउटै मन्त्र छ । उपचारका लागि आउनेलाई उनी ‘छाउ बार्न’ सुझाव दिन्छिन् । गाउँलेहरू पनि माताकै विश्वासमा छाउ बार्न तयार हुन्छन् । महिनावारी हुँदा छुइछाई नगर्न माताले दिएको सुझाव अनुसार नै स्थानीयले महिनावारीको बेलामा महिलालाई छाउगोठमा राख्छन् ।
गाउँकै धामीको विश्वास र देउता रिसाउने भ्रमका कारण यहाँ छाउ बार्ने संस्कारले जरा नै गाढेको छ । बेलुकी छाउगोठमा सुतेकी किशोरी बिहान मृत भेटिँदासमेत स्थानीय सचेत बनेका छैनन् । बरु गाउँका धामीझाँक्रीले भने बमोजिम नै छाउ बार्न तयार छन् । स्थानीय धामीझाँक्रीका लागि पनि छाउगोठ उपचारको गतिलो मन्त्र बनेको छ । सामान्य रुघाखोकी र ज्वरो आउँदा होस् वा पशु बिरामी हुँदा, धामीले छुइछाई नै मुख्य कारण देखाउँदै आएका छन् । अनि उपचारमन्त्रको रूपमा उनीहरूले छाउ बार्न सुझाव दिने गरेका छन् । धामीको यही गलत सुझाव र सल्लाहका कारण पनि छाउपडी उन्मूलनमा चुनौती थपिएको छ ।
गाउँलेले माताको रूपमा पुकार्ने शान्ताको घरमा पुग्दा केही मान्छेहरू पनि आइपुगे । बच्चा विरामी भएपछि उपचारको खोजीमा उनीहरू त्यहाँ पुगेका थिए । माताले अक्षेता र भेटी राख्न भनेपछि उनीहरूले सोही अनुसार गरे । माता केही बेरमै धामी कामिन् । सोही क्रममा उनले भनिन्, ‘अरु सबै राम्रो नै छ, तर घरमा छुइछाई भएको रहेछ । घरमा महिला पाखा सरेको बेलामा होस् पु¥याउनु, अबदेखि छाउ बार्नु ।’
धामीले भनेपछि उनीहरूले पनि सोही अनुसार गर्ने वाचा गरे । अभिभावहरूको भनाइ अनुसार बच्चालाई रुघाखोकीसँगै ज्वरोको समस्या थियो । तर माताले छाउ बार्नु भन्दै सुझाव दिएपछि उनीहरू त्यहाँबाट फिर्ता भए । स्थानीय बासिन्दाका अनुसार गाउँका धामीले जे समस्या पर्दा पनि छुइछाईको नै कारण देखाउने गरेका छन् । आफूलाई अप्ठ्यारो वा समस्या पर्दा गाउँलेहरू स्थानीय पादुकास्थान मन्दिरका महन्त (पुजारी) देवीनाथ योगीको शरणमा जान्छन् । महन्तले दिएको सुझाव अनुसार नै उनीहरूले समाधानको कसरत पनि गर्दै आएका छन् । छाउपडीको बारेमा धारणा बुझ्न खोज्दा उनले आफ्नो कहानी सुनाए । उनले भने, ‘केही वर्ष पहिला खाना खाने बेलामा मेरो हात थालसम्म पुगेन, हात नै रोकियो भने मुन्टो पनि पछाडि फर्कियो । त्यो खाना छाउ भएकी केटीले पकाएकी रहिछ, देउताले थाहा पाएर त्यो खाना खानै दिएनन् ।’ छाउ भएकी महिलाले छुइछाई गर्दा यस्तो भएको उनको दाबी थियो । तर क्यामेरो देखेपछि विस्तारै उनले छाउपडीप्रतिको आफ्नो धारणा भने बदले ।
स्थानीयका अनुसार उनले पनि उपचारका लागि पुग्दा छुइछाई भएकाले समस्या भएको बताउने गरेका छन् । गाउँमा सबैले मान्ने पुजारीले भनेका कुरामा पनि सबैले विश्वास गर्दछन् । मन्दिरमा लसपस हुँदा देउता रिसाउने बताएको उनले भने, ‘यो पहिलेदेखिको चलन हो, अब विस्तारै बदल्नुपर्छ । भान्सा र पूजा कोठामा त समस्या होला, अब घरकै अन्य कोठामा सुताउँदा हुन्छ ।’ स्थानीय शिक्षक भुवन शाहीका अनुसार गाउँका धामीझाँक्रीको सोच परिवर्तन नभएसम्म छाउगोठबाट महिलालाई घरभित्र ल्याउन मुश्किल छ । ‘सबैले धामीको विश्वास गर्छन्, सानो समस्या पर्दा पनि उनीहरूकै शरणमा पुग्छन्’ शाहीले भने, ‘भैंसीले दुध नदिँदा पनि धामी कहाँ हेराउने चलन छ, धामीले छाउ बार्नु भन्ने मन्त्र मात्र फुक्छन् ।’
गाउँका धामीको धारणा परिवर्तन नहुँदासम्म छाउपडीको कु–प्रथा अन्त्य गर्न सम्भव नहुने शिक्षक शाही बताउँछन् । सर्वसाधारणाको हालसम्म पनि धामीप्रति विश्वास रहेकाले अब धामीलाई नै छाउपडीविरुद्धको अभियानमा सामेल गराउनुपर्ने उनको सुझाव छ । ग्रामीण क्षेत्रमा धामीझाँक्रीका कारण पनि छाउपडीले जरा गाढ्दै गएको छ । महिला तथा बालबालिका कार्यालय दैलेखका प्रमुख अनिता ज्ञवालीले धामीलाई नै छाउपडी उन्मूलन अभियानको नेतृत्व दिनुपर्ने बताउँछिन् । उनले भनिन्, ‘गाउँलेले धामीलाई नै विश्वास गर्छन्, अब धामीलाई नै यसबारेमा बुझाउन जरुरी छ । धामी नै छाउपडीविरुद्ध लागे भने अभियान आधा सफल हुन्छ, आधा छाउगोठ नै भत्किनेछन् ।’

प्रकाशित मितिः   ५ श्रावण २०७४, बिहीबार १५:४४