बाढीपीडितको सात करोड फ्रिज

सुर्खेत, ४ साउन ।
सुर्खेतका बाढीपीडितहरूका लागि आएको १० करोड मध्येको सात करोड रूपैयाँ फ्रिज भएको छ । नेपाल सरकारले बाढीपीडितलाई पनि भूकम्पपीडित सरह राहत दिने निर्णय गरेपछि बाढीपीडितहरूका लागि १० करोड २३ लाख ५० हजार पहिलो किस्ता स्वरूप बजेट आएको थियो ।

बाढीपीडितलाई वितरणका लागि सरकारले पठाएको १० करोड २३ लाख ५० हजारमध्ये सात करोड २४ लाख ५० हजार रूपैयाँ फ्रिज भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतका लेखा अधिकृत परशुराम पराजुलीले बाढी प्रभावितलाई दुई करोड ९९ लाख रूपैयाँ मात्रै वितरण गरिएको जानकारी दिए । दुई सय ५४ घरपरिवारलाई घर निमार्णका लागि पहिलो किस्ता वापत ५० हजारका दरले एक करोड तीन लाख र जग्गा खरिदका लागि तीन सय ९२ घरपरिवारलाई एक करोड तीन लाख गरी जम्मा दुई करोड ९९ लाख रूपैयाँ मात्र वितरण गरिएको पराजुलीले बताए ।
राहतका लागि सहरी विकास तथा भवन निर्माण विभागमा जिल्ला प्रशासनमार्फत् सिफारिस गरी पठाइएका नौ सय ७० घरपरिवार मध्येबाट एक सय ९२ घरपरिवार सम्पर्कमा नै नआएको पराजुलीको भनाइ थियो । पराजुलीले कमाउनका लागि कोही विदेश कोही भारत गएका कारण पीडितहरू सम्पर्कमा नआएको बताए । उनले भने, ‘हामीले विभिन्न सञ्चार माध्यममार्फत् सूचना प्रकाशित गरेका पनि हौं, गाउँ–गाउँसम्म सूचना पुग्न नसकेर पनि धेरै पीडितहरू सम्पर्कमा नआएका हुन् ।’
तीन किस्तामा राहत रकम दिइने भएकाले सरकारले पूर्णकालीन र आवास क्षति भएकाहरूका लागि फरक–फरक व्यवस्था गरेको थियो । राहत रकम लिने प्रक्रिया झन्झटिलो भएको भन्दै पीडितहरू नै राहतका लागि सम्पर्कमा नआउँदा उनीहरूको नाममा आएको बजेट फ्रिज भएको लेखा अधिकृत पराजुलीले बताए । उनले भने, ‘रातो लालपूर्जा भएको पीडितहरू कम आउनुभयो धेरै त सम्पर्कमा नै आउनुभएन त्यसैले बजेट फ्रिज गएको हो ।’ उनले सरकारको मापदण्ड अनुसार जग्गा किन्ने र घर बनाउने प्रक्रिया झन्झटिलो भएका कारण पीडितहरूले मापदण्ड पु¥याउन नसक्दा बजेट फ्रिज भएको बताए ।
पीडितहरूले आफूहरूलाई तीन किस्तामा नभइ एकमुष्ठ रूपमा नै रकम दिए जग्गा किनेर रातो लालपूर्जा बनाउनसक्ने बताएका थिए । जग्गा भएका तर घर निर्माणका लागि निवेदन दिएका
पीडितहरूसँग जग्गाको रातो लालपूर्जा नहुँदा रकम पाउनबाट वञ्चित भएका हुन् । २०७१ साल साउनको अन्तिम साता आएको बाढी पहिरोबाट सुर्खेतका नौ सय ७० घरपरिवार विस्थापित भएका थिए । जसमध्ये दुई सय ५५ आवास क्षति र सात सय १५ घरपरिवार पूर्ण क्षति भएका थिए ।

प्रकाशित मितिः   ५ श्रावण २०७४, बिहीबार १५:४१