‘छुवाछुतमुक्त वडा बनाउनेछु’

भुपेन्द्र खत्री वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हुन् । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भइ वडा अध्यक्षमा विजयी भएका खत्रीले आफ्नो कार्यकालमा वडालाई नमुना बनाउने घोषणा गरेका छन् । वडा अध्यक्ष भए लगत्तै सामाजिक कार्यहरूबाट आफ्नो कार्यकालको थालनी गरेका उनले चाहे जति काम गर्न भने बजेटको अभाव भएको बताएका छन् । हालै सम्पन्न वीरेन्द्रनगर नगरपालिकाको नगरसभाले बजेट पारितसमेत गरिसकेको छ । यसै सन्दर्भमा रहेर हाम्रा सहकर्मी गीता थापाले खत्रीसँग उक्त वडाभित्रका समस्या, समाधानका उपाय र आगामी योजना लगायतका विषयमा कुराकानी गरेकी छिन् । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंशः

हिजो आज के काम गरिरहनुभएको छ ?
निर्वाचन पछिको हाम्रो पहिलो काम भनेको वडा कार्यालय स्थापना हो । त्यसपछि हामीले वडामा जुवा तास खेल्ने, सावर्जनिक रूपमा जाँडरक्सी खाएर हो हल्ला गर्ने व्यक्तिहरूलाई प्रहरीको सहयोगमा कारबाही गर्ने गरेका छांै । टोल विकास संस्थामार्फत् वडामा जनचेतना फैलाउने काम गरिरहेका छौं । वडामा विकास गर्न र भ्रष्टाचारमुक्त वडा बनाउनका लागि हामीले प्रयास पनि गरिरहेका छांै । यो वडामा अन्य वडाभन्दा बढी जग्गा प्लटिङ गर्ने काम भइरहेको छ, हामीले अब यो वडामा जथाभावी जग्गा प्लटिङ गर्न नपाउने नियम पनि लागू गर्दैछौं । यिनै हुन् हामीले गर्दै आएका काम र आगामी दिनमा गर्ने कामहरू पनि ।
मत माग्न जाँदा तपाईंले जनतासँग गरेका प्रतिबद्धताहरू सम्झना छन् ?
एकदमै सम्झना छ । जनताले मलाई यति धेरै विश्वास गरेर जिताएर जनताको प्रतिनिधि बनाउनु भएको छ । मैले जनतासँग गरेको प्रतिबद्धता भनेको वडामा रहेका युवाहरूलाई कुलतबाट फस्न नदिन जनचेतनामूलक काम गर्ने, महिला, दलित र जनजातिहरूका लागि सीपमूलक कार्यक्रमहरू ल्याउने र वडाका दिदी बहिनीहरूलाई रोजगारमूलक बनाउने भनेर प्रतिबद्धता गरेको थिए । अझैसम्म याद छ र म त्यो काम पूरा गरेर पनि देखाउने छु । अर्काे कुरा जनतासँग मैले गरेको प्रतिबद्धता यो वडाको विकास हो । हामीले अबको पाँच वर्षमा यो वडालाई नमुना वडाको रूपमा विस्तार गर्नेछौं । जनताको विश्वासलाई खेर जान दिने छैनौं ।
यो वडाको प्रमुख समस्याहरू के–के देख्नु भएको छ ?
हाम्रो यो वडाको प्रमुख समस्या भनेको यहाँको बस्तीहरूमा जनचेतनाको कमी रहेको छ । यहाँका युवाहरू कुलतमा फसिरहेको अवस्था छ । यो वडामा खेलकुद मैदान छैन । सडकको अवस्था नाजुक छ, ढल अव्यवस्थित छन् । यहाँको मुख्य अर्काे समस्या भनेको त जग्गा प्लटिङ गरेर किनबेच नै हो । यसले गर्दा यो वडामा बस्ती धेरै भइरहेको र उत्पादन हुने जग्गाहरूमा अव्यवस्थित रूपमा घरहरू बनिरहेको छ ।
ती समस्यालाई कसरी समाधान गर्नुहुन्छ ?
यी समस्याहरूलाई समाधान गर्नका लागि म यो वडामा निवार्चित भए लगत्तै काम सुरु गरिरहेको छु । पाँच वर्षसम्म यो समस्यालाई पूर्णरूपमा निर्मूल नै पार्ने योजना रहेको छ । सबैभन्दा यो वडाबासीलाई जनचेतना जनाउन जरुरी छ । युवाहरूलाई कुलतबाट फस्न नदिन उनीहरूलाई रोजगारमूलक बनाउनेछु । महिला, दलित जनजातिहरूलाई सीपमूलक कार्यक्रम ल्याउने । अब त वडामा बजेट पनि आइसकेको हुँदा हामीले यी सबै क्षेत्रका लागि बजेट पनि छुट्याउँदैछौं र काम पनि अगाडि बढाउँछौं । समस्या समाधान हुन्छ ।
यो वडाको लागि नगरपरिषद्बाट कति बजेट पास भएको छ ?
नगरपरिषद्बाट ३ नम्बर वडाको लागि पूर्वाधारतर्फ ४५ लाख, सामाजिक विकासतर्फ २२ लाख, महिला विकासतर्फ पाँच लाख, सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ पाँच लाख र वातावरण तथा विपद् व्यवस्थापनतर्फ तीन लाख गरी जम्मा ८० लाख बजेट पास भएर आएको छ । त्यस्तै हामीले छुट्टै विकास योजनाको लागि भनेर बजेट माग पनि गरेका थियौं त्यसमा पनि ४५ लाख बजेट छुट्याइएको छ ।
त्यति बजेटले मात्र यो वडाको समस्या समाधान गर्न सकिन्छ त ?
खासमा भन्ने हो भने यो वडाको लागि यो बजेट एकदमै कम हो । यति बजेटमा यो वडाको हरेक समस्या समाधान गर्न गाह्रो छ । तर, पनि हामीले यति बजेटले पनि सबै क्षेत्रलाई पुग्ने तरिकाले काम गर्ने योजनाहरू बनाएका छौं । केन्द्रबाट आएको बजेटले यहाँको विकासको लागि नपुगे हामी वडाको बजेटबाट पनि ती समस्या समाधान गर्नेछौं ।
अबको तीन महिनाभित्रमा यो वडाबासीले नयाँ के अनुभूति गर्न पाउँछन् ?
नगरपरिषद्बाट बजेट पास भएर आइसकेकोले अबको तीन महिनाभित्रमा वडा नम्बर ३ का जनताले हिलो बाटोमा हिँड्नुपर्ने छैन । कच्ची सडकलाई पक्की बनाइ बालोपत्रे गर्ने काम अब छिट्टै सुरु गर्दैंछौं । लक्षित वर्गको लागि आएको बजेट हामी छिट्टै नै सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दैछौं । अबको तीन महिनाभित्रमा हामी यिनै काम सम्पन्न गरेर देखाउने छौं ।
अरु वडाको भन्दा फरक के काम गरेर देखाउनु हुन्छ ?
सबै वडाको समस्या भनेको लगभग उस्तै नै छन् । तर, अरु वडाभन्दा फरक वडा बनाउनको लागि हामीले हाम्रो वडामा अहिलेदेखि नै सुरु गरेको काम भनेको यो वडामा काम पारदर्शी रूपमा हुने छ र यो वडा भ्रष्टाचारमुक्त वडाको रूपमा चिनिनेछ । हाम्रो अरु वडाभन्दा फरक काम यो नै हुनेछ ।
तपाईंको पाँच वर्षे कार्यकालमा यो वडालाई कस्तो बनाउने परिकल्पना गर्नुभएको छ ?
अबको पाँच वर्षको मेरो कार्यकालमा यो वडामा रहेको जातीय छुवाछुतलाई अन्त्य गर्नेछु । यहाँको समस्याको रूपमा रहेको जग्गा प्लटिङ्गलाई पूर्ण रूपमा रोक लगाउने छु । युवालाई दुव्र्यसनी फस्न नदिन उनीहरूलाई रोजगारमूलक कार्यक्रमहरू ल्याउनेछु । महिलाहरूलाई सीपमूलक बनाइ आर्थिक रूपमा सक्षम बनाउने, यो वडालाई भ्रष्टाचारमुक्त वडा बनाउने, वडाको आफ्नै भवन बनाउने, खेलकुद मैदान बनाउने, राजमार्गसँग जोडिएका सडकहरू कालोपत्रे गर्ने र भित्री बाटोहरूको स्तरउन्नति गर्ने काम अबको पाँच वर्षभित्रैमा पूरा गर्नेछौं ।
अन्त्यमा केही भन्न चाहानुहुन्छ ?
अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर जिताउनु भएकोमा वडाबासीहरूलाई धन्यवाद दिन चाहान्छु । जुन वडाबासीले मलाई यति धेरै विश्वास गर्नुभएको छ त्यो विश्वासलाई म टुट्न दिनेछैन । जनताको लागि नै काम गर्नेछु । अन्त्यमा म वडाबासीहरूलाई के अनुरोध गर्छु भने यो वडामा महिला सहमतिमा खोलिएका भित्री बाटोहरू अहिले बन्द गर्दै जग्गा प्लटिङ्ग गरी किनबेच भइरहेको छ त्यो काम कसैलाई पनि नगर्न आग्रह गर्दछु । यदि त्यस्तो गरेको पाइएमा कडा कारबाही हुने पनि म यहीमार्फत् भन्न चाहान्छु ।

प्रकाशित मितिः   ५ श्रावण २०७४, बिहीबार १५:३८