समृद्ध नगर बनाउने योजना

दैलेख, १ साउन ।
नारायण नगरपालिका दैलेखले समृद्ध नगर बनाउने योजना अघि सारेको छ । नारायण नगरपालिकाको पहिलो नगरसभाबाट पारित आगामी योजना तथा कार्यक्रममा नगरपालिकालाई समृद्ध बनाउने योजना अघि सारिएको छ ।


नगरसभाबाट आर्थिक वर्ष २०७४÷०७५ का लागि ४७ करोड ३३ लाख १६ हजार बराबरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । नारायण नगरपालिका दैलेखका उपप्रमुख सावित्री मल्लले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नगरपालिकको आर्थिक वर्ष २०७४÷०७५ को बजेटमा आर्थिक विकासतर्फ ६ करोड, ३३ लाख ९० हजार, सामाजिक विकासतर्फ ६ करोड, ३३ लाख ९० हजार, पूर्वाधार विकास कार्यक्रमतर्फ १० करोड १४ लाख २४ हजार बजेट तर्जुमा गरिएको छ ।
यस्तै वातावरण तथा विपद् व्यवस्थापनतर्फ एक करोड २६ लाख ७८ हजार, संस्थागत सुधारतर्फ एक करोड २६ लाख ७८ हजार, चालुतर्फ सात करोड ९८ लाख, ९५ हजार राखिएको छ । यसैगरी चालु आर्थिक वर्ष २०७३/०७४ का क्रमागत आयोजनाहरूको रकम ६० लाख रूपैयाँ रहेको छ । यस्तै विषयगत कार्यालयहरूको प्राप्त सिगिंङ्ग अनुसारको रकम १२ करोड ७८ लाख ६० हजार गरी ४७ करोड, ३३ लाख १६ हजारको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो ।
कार्यक्रम तथा बजेटमा नगर समृद्धिका लागि महŒवपूर्ण कार्यक्रमहरू समावेश गरिएको छ । आगामी आर्थिक वर्षका लागि तयार गरिएको नीति तथा कार्यक्रममा आधारभूत शिक्षालाई अंग्रेजी माध्यमबाट पठन–पाठन गर्नको लागि बजेट विनियोजन गरिएको छ । यस्तै कम विद्यार्थी भएका र विद्यालयका पहँुचबाट टाढा रहेका बालबालिकाहरूको लागि विद्यालय मर्ज गरी विद्यार्थीहरूका लागि सहजता खोजिने भएको छ । नारायण नगरपालिकाभित्र विगतको आर्थिक वर्षमा सौर्य बत्ती जडान गरिएको थियो । सौर्यबत्ती जडान कार्यक्रमलाई आगामी आर्थिक वर्षका लागि पनि निरन्तरता दिइएको छ । यस्तै नगरभित्र औद्योगिक ग्राम स्थापना, युवा स्वरोजगारका कार्यक्रम, कोटेश्वर मन्दिर निर्माण, दैलेख सदरमुकामदेखि श्रीस्थान जोड्ने सडक लगायत नगरभित्रका सडक स्तरोन्नत्तिसँगै कालोपत्रे गर्नको लागि बजेट नीति तथा कार्यक्रममा समावेश गरिएको छ । यस्तै सबै वडाहरूमा वडा कार्यालय स्थापनाका नीति, कार्यक्रम तथा बजेटमा समावेश गरिएको छ । यस्तै नारायण नगरपालिका र वडा कार्यालयहरूबाट विद्युतीय माध्यमबाट सेवा प्रवाहका लागि बजेटको व्यवस्था गरिएको छ । साथै आगामी आर्थिक वर्ष २०७४÷०७५ लाई सडक सुधार वर्षको रूपमा लिइने भएको छ । शून्य फोहोरको नीतिलाई अवलम्बन गरी व्यवस्थित सहरीकरणमा जोड दिने, फोहोर व्यवस्थापनलाई आधुनिक र वैज्ञानिक ढङ्गबाट अगाडि बढाइ निकट भविष्यमा फोहारबाट ऊर्जा उत्पादन थालिने भएको छ । नगरपालिकाले सडक गुरुयोजना निर्माण गरिसकेकोले व्यवस्थित ढङ्गबाट सञ्चालन गरिनुका साथै पर्यटन गुरुयोजना निर्माणका लागि बजेटको व्यवस्थान गरिएको छ ।
लक्षित वर्गको सामाजिक, आर्थिक र सांस्कृतिक विकासका लागि विशेष पहल थालनी गर्नको लागि व्यवस्थान गरिएको छ । नारायण नगरभित्र हरियाली बालउद्यान निर्माणका लागि पहल थालिनेछ । यस्तै सार्वजनिक स्थलमा फोहोर फाल्न नपाउने नीति अवलम्बन गरिने भएको छ । नगरक्षेत्र भित्र भवन निर्माण गर्दा भवन निर्माण आचारसंहिता पालन गरी भवन निर्माण गर्ने नीतीलाई कार्यान्वयनमा ल्याउन नीति तथा कार्यक्रम तय गरिएको छ । नीति तथा कार्यक्रममा नगर क्षेत्रभित्र सहरी स्वास्थ्य केन्द्र स्थापना, पर्यटन विकासमा जोड, टुँडिखेलमा कबर्डहल निर्माणका लागि पहल गर्ने जस्ता महŒवपूर्ण कार्यक्रमहरू समावेश गरिएको छ ।

प्रकाशित मितिः   २ श्रावण २०७४, सोमबार १५:२२