प्रदेश चुनावको पर्खाइ

नामावली दर्तामा उत्साहपूर्ण सहभागिता

सुर्खेत, १ साउन ।
वीरेन्द्रनगर–६ निवासी देवीसरा नेपालीलाई जतिसक्दो चाँडो प्रदेश र केन्द्रीय निर्वाचन भइदिए हुन्थ्यो जस्तो लागिरहेको छ । गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकी नेपाली अब हुने प्रदेश र केन्द्रीय निर्वाचनमा मतदान गरी आफ्ना लागि काम गर्ने प्रतिनिधि आफै छान्न उत्सुक छिन् । आइतवार जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा भेटिएकी नेपालीले भनिन्, ‘भोट हालेर हामीले हाम्रो लागि काम गरिदिने प्रतिनिधि छान्ने पो रहेछ । स्थानीय चुनावमा उक्त अवसर गुमाएँ अब हुने निर्वाचनमा भने त्यो अवसर गुम्न दिन्न, त्यसैले नाम दर्ता गर्न आएकी हुँ ।’


देवीसरा जस्तै मतदाता नामावलीमा नाम नभएकाले स्थानीय तहको निर्वाचनमा मतदान गर्नबाट वञ्चित भएकाहरू यतिबेला धमाधम मतदाता नामावली दर्ता गर्न व्यस्त छन् । निर्वाचन आयोगले अब हुने प्रदेश निर्वाचनका लागि यसअघि छुटेका मतदाताहरूलाई लक्षित गरेर आइतवारदेखि पुनः फोटोसहितको मतदाता नामावली संकलन कार्य सुरु गरेको छ । नामावली संकलनको पहिलो दिनदेखि नै जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा नाम दर्ता गर्नेहरूको भीड लागेको छ । उनीहरू आफ्नो मताधिकार प्रयोग गर्नका लागि प्रदेश निर्वाचनको पर्खाइमा छन् ।
वीरेन्द्रनगर–६ कै गंगा पुनलाई पनि स्थानीय तहको चुनावमा भोट हाल्न नपाउँदा पछुतो लागेको छ । उनले भनिन्, ‘आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित त भएँ राम्रो व्यक्तिले एक भोट भए पनि पाएनन् ।’ स्थानीय तहको चुनाव हुने हो या होइन भन्ने सोचेर आफ्नो नामावली दर्ता नगराएको बताउँदै उनले अब प्रदेशको चुनावमा आफ्नो मताधिकार प्रयोग गर्ने बताइन् । स्थानीय तहको चुनावले सचेत गराएको भन्दै पुनले अब प्रदेशको चुनावमा आफ्नो मताधिकार प्रयोग गर्न पाउने खुशी व्यक्त गरिन् ।
देवीसरा र गंगा जस्तै सीता परियारले पनि गत वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको चुनावमा भोट खसाल्न पाइनन् । उनलाई स्थानीय तहको चुनावमा भोट हाल्न नपाएकाले अहिले पछुतो लागेकोछ । उनले भनिन्, ‘पहिला नामावली संकलन गर्दा थाहा पाएर पनि नामावली किन दर्ता गर्ने हो र ? के पाइन्छ र ? भन्ने लागेर नामावली दर्ता गराइन अहिले स्थानीय तहको चुनावले सचेत गरायो ।’ उनले थपिन्, ‘स्थानीय तहको चुनावपछि स्थानीयको घर–घरमा सरकार आएकाले जानेरै आफ्नो मताधिकार खेर फालिएछ अब त प्रदेशको चुनावमा राम्रो व्यक्ति चुनेर भोट हाल्ने हो ।’
स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिहरूको सक्रियताले नागरिकमा उत्साह थपेको छ । यसले गर्दा अब प्रदेश निर्वाचनमार्फत् प्रदेश सरकार बनेमा विकास निर्माणको कामले पनि गति लिने नागरिकको बुझाइ छ । ‘सिंहदरबार गाउँमा आउँछ भन्थे, हो कि जस्तो लागिरहेको छ’ देवीसराले भनिन्, ‘प्रदेश सरकार बन्यो भने झन् धेरै विकास हुन्छ भन्छन्, चाँडै चुनाव भइदिए हुन्थ्यो ।’
प्रदेश निर्वाचनको मिति टुङ्गो नलागे पनि नागरिकमा भने उक्त निर्वाचनप्रति चासो बढेको पाइएको छ । ‘स्थानीय निर्वाचन नै हुन्छ कि हुँदैन भनेकै अवस्थामा भयो’ सीता परियारले भनिन्, ‘अब त प्रदेश निर्वाचन पनि हुन्छ जस्तो लागेको छ, त्यसैले पहिले छुटेको नामावली दर्ताको काम यसपटक गरें ।’ फोटोसहितको मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालय आएका अधिकांश नागरिकहरू प्रदेश निर्वाचनलाई लिएर उत्साही देखिन्थे ।
प्रदेशको चुनावका लागि जिल्ला निवार्चन कार्यालयले साउन १ गते देखि १५ गतेसम्म अध्यावधिक नामावली संकलन सुरु गरेको छ । स्थानीय तहको चुनावमा भोट हाल्न नपाएका, नामावली नभएका, नामावली त्रुटी भएका, सच्याउनुपर्ने, नामावली सार्नुपर्ने लगायतको काम १५ दिनका लागि सञ्चालन गरिएको निवार्चन अधिकृत सुनिता थापाले बताइन् । प्रदेशको चुनावलाई लक्षित गर्दै १५ दिनसम्म अध्यावधिक नामावली संकलन गरिएको उनको भनाइ छ । उनले नामावली दर्ता गर्न छुटेका, त्रुटी भएकाहरूको नामावली सच्याउने, नमावली सार्नको लागि बसाइँ–सराइँको काजगपत्र ल्याएर निवार्चन आयोगको कार्यालयमा नै आउनुपर्ने बताइन् । १५ दिनको अवधि मात्र भएकाले निवार्चन आयोगको कार्यालयमा नै आउनुपर्ने उनको भनाइ थियो । अध्याविधिक नामावली संकलनको पहिलो दिनमा नै ३८ जना पुरुष ३१ जना महिला गरी ७० जनाले आफ्नो नामावली दर्ता गराएका छन् ।

प्रकाशित मितिः   २ श्रावण २०७४, सोमबार १५:२४