भेरीगंगाद्वारा पूर्वाधार र कृषिमा जोड

सुर्खेत, ३१ असार ।
भेरीगंगा नगरपालिका सुर्खेतले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि ३९ करोड ५४ लाख ४४ हजार रूपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । नगरपालिकाको शनिवार सम्पन्न नगरसभाले आगामी वर्षको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको हो ।


पूँजीगततर्फ ६० लाख तथा चालुतर्फ पाँच करोड ७५ लाख ७८ हजार रूपैयाँ विनियोजन गरिएको छ । सभामा नगरपालिकाका उप–प्रमुख रेणु आचार्य (ढकाल)ले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । नगरपालिकाले आगामी वर्षका लागि भौतिक पूर्वाधार निर्माण र कृषिलाई प्राथमिकतामा राखेको छ । भेरीगंगा नगरपालिकाको यातायात सेवा सर्वसुलभ र सबैको पहुँच योग्य बनाउन सडक सञ्जाल निर्माण गरिने, कृषि सडक, ग्रामीण सडकमार्गलाई निर्माण गर्न पहल गर्नुका साथै सडकमा पर्ने खोलाहरूमा पुल निर्माण गर्ने, बसपार्क, ल्याण्डफिल साइट लगायतका पूर्वाधार निर्माण गरिने जनाइएको छ ।
नगरपालिकालाई सफा र स्वच्छ राख्न हरेक घरबाट फोहोर व्यवस्थापन गर्ने कार्य अगाडि बढाइने, नगर शिक्षा योजना बनाइ लागू गरिने, नगर स्वास्थ्य योजना बनाइ लागू गरिने, आयुर्वेद औषधालय, मैनतडा अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूको विकास र विस्तार गर्ने, पर्यटकीय नगरको रूपमा विकास गर्ने लगायतका योजना आगामी वर्षका लागि तय गरिएको छ । त्यसैगरी कृषिलाई आर्थिक विकासको मेरुदण्डको रूपमा विकास गर्ने, भेरीगंगा नगरपालिकालाई व्यवसायिक बनाइ आय–आर्जनको बाटोतर्फ अगाडि बढाउन एक घर दुई बिरुवा नीति अवलम्बन गरिनेछ ।
सामाजिक विकासतर्फ महिला, बालबालिका, अपाङ्गता भएका, दलित, आदिवासी, जनजाति, मुस्लिम, पिछडिएको वर्ग लगायतका समुदायको साथै सामाजिक र आर्थिक रूपले विपन्न समुदायका लागि जीवनस्तरमा सुधार ल्याउने कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम गरिएको छ ।
नगरपालिकाले सडकतर्फ चार करोड ६८ लाख ५० हजार, खानेपानीतर्फ २९ करोड ५० लाख, शिक्षामा ५४ लाख, स्वास्थ्यमा ५० लाख, झोलुङ्गे पुल निर्माणमा एक करोड ३० लाख, विद्युतीकरणका लागि ४० लाख, पर्यटन तथा संस्कृतितर्फ एक करोड, ढल निकासतर्फ २० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ ।
गुर्भाकोटको बजेट ४३ करोड
सुर्खेतको गुर्भाकोट नगरपालिकाको प्रथम नगरसभाले आर्थिक वर्ष २०७४÷०७५ का लागि नीति बजेट तथा कार्यक्रम पारित गरेको छ । सभामा नगरपालिकाका उप–प्रमुख मैना विकले आर्थिक वर्ष २०७४÷०७५ को नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि जम्मा प्रस्तावित बजेट ४३ करोड ५४ लाख ७३ हजार हुने अनुमान गरिएको छ । जसमध्ये चालूतर्फ १७ करोड सात लाख ४६ हजार र पूँजीगततर्फ २६ करोड ४७ लाख २७ हजार बजेट पेश गरिएको छ । आगामी आर्थिक वर्षको बजेट आन्तरिक स्रोतबाट ६५ लाख ८१ हजार र नेपाल सरकारको सशर्त अनुदान रकम १४ करोड २१ लाख ६ हजार, वित्तीय समानीकरण २८ करोड पाँच लाख ३६ हजारको बजेट वक्तव्य प्रस्तुत गरिएको छ ।

प्रकाशित मितिः   १ श्रावण २०७४, आईतवार १५:२७